आरडिटी गरेर घर फर्काएको २ दिनपछि १९५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं :- दैलेखको नारायण नगरपालिकामा मात्रै एक सय ९५ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरूमध्ये ८७ जना घरमै छन् । समुदायमा संक्रमण फैलिने जोखिम रहेको भन्दै स्थानीय प्रशासनले शुक्रबारदेखि निषेधाज्ञा जारी गरेको छ ।

भारतबाट फर्किका स्थानीय बासिन्दालाई व्यवस्थित रूपमा क्वारेन्टाइनमा राखेर स्वास्थ्य जाँच नगर्दा कोरोना संक्रमण फैलिन थालेको हो । जिल्ला सुरक्षा समितिले क्वारेन्टाइनमा बसेकाहरूको आरडिटी परीक्षण गरेर घर पठाएपछि समुदायमा संक्रमण फैलिने जोखिम बढेको छ ।

क्वारेन्टाइनमा बसेकाहरूको एक साता कटेपछि पिसिआर विधिबाट परीक्षण गर्न स्वाब संकलन गरेर सुर्खेतस्थित प्रादेशिक अस्पताल पठाइएको थियो । तर, सुर्खेतमा परीक्षण गर्न ढिलाइ भएपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइयो । त्यहाँ पनि ढिलाइ भएपछि आरडिटी विधिबाट परीक्षण गरेर उनीहरूलाई घर पठाइएको थियो ।

तर, त्यसको दुई दिनपछि बिहीबार एक सय १३ जनामा कोरोना संक्रमण रहेको पुष्टि भयो । संक्रमितमध्ये २६ जना मात्रै स्वास्थ्य संस्थामा छन्, ८७ आ–आफ्नै घरमा छन् । यो बीचमा उनीहरू सयौँ मानिसको सम्पर्कमा आएका छन् । उनीहरूलाई स्वास्थ्य संस्थामा ल्याउन तथा आइसोलेसनमा राख्ने पहल गरिएको छैन ।

स्थानीय जनप्रतिनिधिले गाउँका ज्येष्ठ नागरिक र बालबालिकामा संक्रमण फैलिने र यसले थप भयावह अवस्था आउने भन्दै उनीहरूलाई आइसोलेसनमा राख्न आग्रह गरेका छन् । यसैबीच, स्थानीय प्रशासनले सदरमुकाम रहेको नारायण र दुल्लु नगरपालिकामा शुक्रबार साँझ ६ बजेदेखि निषेधाज्ञा जारी गरेको छ । संक्रमण फैलिन उच्च जोखिम देखिएकाले निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए ।

भारतबाट फर्किने दैलेखवासीको संख्या ४२ हजार हुने जिल्ला समन्वय समितिको आंकलन छ । अहिलेसम्म १२ हजार आइसकेका छन् ।

 

प्रतिक्रिया दिनुहोस