भारतमा कोरोना संक्रमित बढ्दो, नेपालमा थप जोखिम

काठमाडौं :- भारतमा कोरोनाभाइरस (कोभिढ १९) संक्रमितको संख्या २ लाख नजिक पुगेको छ । बितेका २४ घण्टामा ७ हजार ७६१ नयाँ संक्रमित थपिएसँगै भारतमा कुल संक्रमित संख्या १ लाख ९८ हजार ३७० पुगेको हो ।

कोरोनाबाट भारतमा हालसम्म ५ हजार ६०८ जनाले ज्यान गुमाइसकेका छन् । हिजोमात्र भारतमा २०० जनाको कोरोनाका कारण ज्यान गएको छ ।

भारतमा संक्रमित संख्या तीव्र दरमा बढिरहँदा नेपालमा थप जोखिममा परेको छ । केही दिनयता नेपालमा ठूलो मात्रामा कोरोना संक्रमित भेटिनुको मुख्य कारण भारतबाट भित्रिएका नेपाली हुन् । भारतमा रहेका नेपालीलाई संक्रमण हुनसक्नेतर्फ भारतीय सरकार सजग नरहेका कारण क्वारेन्टाइनमै एकबाट अर्कोमा ठूलो मात्रामा कोरोना सरेको हो ।

अहिले नेपाल सरकारले दैनिक ठूलो संख्यामा भारतबाट आएर सीमा क्षेत्रमा अलपत्र नेपालीको उद्धार गरिरहेको छ । यसरी ल्याइएका नेपालीबाट अरुमा संक्रमण फैलिने जोखिम उच्च छ । भारतबाट यसरी ल्याइएकाहरूलाई व्यवस्थित क्वारेन्टाइनमा राख्न नसक्दा थप जोखिम बढेको हो ।

हिजो मात्र नेपालमा २३९ जना नयाँ संक्रमित फेला परेका छन् । यससँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ हजार ८११ पुगेको छ । हालसम्म नेपालमा २२१ जनाको सफल उपचार भइसकेको छ भने ८ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस