म १९ बर्षको भए

काठमाडौं :- २०५८ ज्येष्ठ १९ गते  शुक्रबार बिहान म जन्मिएको थिएँ । घरका सबै परिवार खुसी हुनुहुन्थ्यो । घरको माहौल रमाइलो थियो । म रुदै कराउदै आमाको दुध चुसिरहेको थिएँ। त्यसै दिन राती देशमा ठूलो घटना घटेछ म त अन्जान बालक मस्त निद्रामा थिएँ।
आज १९ औँ बर्षको मेरो जन्मदिनमा आमाबुवा लगायत सबै आफन्त, साथीहरुले सदाझैं आशीर्वाद दिनुभयो । मेरो आमाबुवाले मेरो जन्मदिन भने कहिल्यै मनाइदिनु भएको छैन । साथीहरुले जन्मदिन मनाएको देख्दा मलाई रहर नलागेको त हैन तर आमाबुवा राजीखुसी हुनुहुँदैन । म कति रोए कराए तर मलाइ घरमा जन्मदिन मनाउन निषेध छ । यो यथार्थलाई आत्मसात  गर्न मलाई सायद १९ बर्ष नै लागेको छ।
 राजा बिरेन्द्र ,रानी ऐश्वर्य  अनी राज परिवारका कयौं सदस्यहरुको हत्या भएको दिन थियो आज । कस्तो ठुलो घटना भएको दिन रहेछ आज । ईतिहासकै कालो दिन हो यो। मैले टेलिभिजन इन्टरनेटमा धेरै फिल्म, लेखहरुमा कति पुरानो र जटिल बास्तबिक केसहरू समाधान गरेको हेरेको छु , पढेको छु । हाम्रो देशमा यति ठूलो घटना हुदा पनि समाधान हुन सकेको नै रहेनछ।
आज १९ बर्ष भयो म जन्मिएको तर हाम्रो देशमा घटना जन्मिएको त परापुर्व काल देखिनै होला। अपराधीहरु खुलेआम घुमिरहने अनि पिडितहरु सधैँ न्यायको लागि ठक्कर खाएको घटनापनि कयौं सुनेको छु। कति आत्माहरु होलान् जो न्यायको आशमा भड्किदै  शान्तिको अपेक्षामा बसेका होलान। म कस्तो देशमा जन्मिएका रहेछु । मलाई कसैले कसैगरी मार्यो भने कति सजीलै अपराधी भाग्ने माहोल रहेछ यहाँ । राज परिवारकाे घटना निसन्देह चर्चापरिचर्चामा रहने भयो निर्मला पन्त बहिनीको बलात्कार अनि हत्या भएछ। हिजो अस्तिकै घटना रुकुममा निर्दोष हरु जातको कारणले ज्यान गुमाउन पुगेछन् ।
मेरो देशको हावामा नै हत्या घोलिएको रहेछ त्यसैले हामी प्रदुषित भएका रहेछौ । कयौं हत्याहरु छन् जुन दैनिक हुन्छन् अनि हामी मौन उभिएर हेर्छौं अनी छिमेकी संगको खासखुसमा सिमित राख्छौँ। विदेशी हस्तक्षेप लाई जवाफ दिन नसक्नु पनि मर्यादा को हत्या भएको हो ,बेसहारा बुवाआमालाई वृद्धाश्रम मा पुर्याउनु पनि ममता को हत्या भएको हो। गरिबहरुले अन्याय र दुःख सहनु पनि खुशी को हत्या भएको हो  । लाखौं बेरोजगार रोजगारीको निम्ति विदेश पलायन हुनु भनेको पनि स्वाभिमान को हत्या भएको हो। चुनाव मा भोट हालेर मूर्खहरुलाई  जिताउनु भनेको पनि आदर्शको हत्या भएको हो ।
शालिक फोड्ने र पार्टीगत झण्डा उठाउने निर्जलहहरु हुनु भनेको राष्ट्रवादको हत्या भएको हो । जात र धर्मको विभेद उत्पन्न गरी दङगा , फसाद गर्नु भनेको को पनि मानवताको हत्या गर्नु हो। भ्रष्ट्राचार गरेर आफ्नो भुडी बढाउनु पनि इमान्दारिता को हत्या गर्नु हो। कयौ घटनाहरु छन जहाँ हत्या भईरहेपनि हत्या हुन नदिनको लागि पहल गर्ने हरु कोही हुन सकेनन् । हामि सबैलाई बाध्यतामा ,शोषणमा अनि चलीरहेको यो दानवीय संसारमा ज्युन बानी परिसकेको छ त्यसैले धर्म र कर्मको हामीले पनि हत्या गरेकोछौ तर महशुसनै गर्न सक्दैनौ ।

बिरेन्द्र आमाले बोलाउनु  भयो म गए है ।

प्रशान्त पाण्डे, बुटवल ।

प्रतिक्रिया दिनुहोस