दैलेखमा मृत्यु भएका युवामा कोरोना संक्रमण पुष्टि

दैलेख :- नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको छ । शनिबार बिहान दैलेखमा क्वारेन्टाइनमा मृत्यु भएका दुल्लु नगरपालिका–११ का ३५ वर्षीय युवामा कोरोना पुष्टि भएको हो । दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले ती युवकको कोरोना भाइरसका कारण निधन भएको पुष्टि गरे ।

उनको तीन दिनअघि नै स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको थियो । स्वाव परीक्षण पश्चात कोरोना संक्रमणबाट उनको मृत्यु भएको पुष्टि भएको हो । कोरोना भाइरस संक्रमणको कुनै लक्षण नदेखिएका उनले बिहान चिया बिस्कुट खाएको बताउँदै नगर प्रमुख भण्डारीले एक्कासी मृत्यु भएको बताए ।

उनीसहित ७९ जना १० दिनअघि भारतको गुजरातबाट फर्किएका थिए । मृतकको स्वाब तीन दिनअघि नै संकलन गरिएको भए पनि सुर्खेतमा किट अभाव भएपछि संकलित स्वाब परिक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको थियो । क्वारेन्टाइनमा रहेका सबै भारतबाट फर्किएकाहरु हुन् ।

प्रतिक्रिया दिनुहोस