कोरोना कहर र गणतन्त्र दिवस

काठमाडौं :- अहिले कोरोना कहरले साम्राज्य जमाएको छ। विश्वका करीब सम्पूर्ण समाचारमूलक सञ्चारमाध्यममा कोरोनाको आधिपत्य छ। कोरोना सङ्क्रमण कति मानिसमा देखा प–यो, कति मानिस ठीक भए, कति मानिसको मृत्यु भयो, कति मानिसको स्वाब सङ्कलन भयो, कति मानिस क्वारेन्टाइनमा छन्, कति घर जान नपाएर छटपटिएका छन्, कतिको रोजगार गुम्योजस्ता विषयले सञ्चारमाध्यममा स्थान पाइरहेका छन्।

यसैगरी, कोरोना सङ्क्रमणबाट बच्न के गर्ने, सङ्क्रमण फैलिन नदिन के गर्ने, कोरोनाको प्रभावबाट कृषि तथा उद्योग र व्यवसाय वा आर्थिक गतिविधिमा के कति र कसरी असर परेको छ, पर्यटनको अवस्था के छ जस्ता विषयले पनि स्थान पाइरहेका छन्। अबको दिनमा कोरोना कहरबीच जीवन कसरी गतिशील बनाउने, जीवनलाई कसरी सुरक्षित पार्ने, अर्थतन्त्रलाई सुरक्षित पार्ने तरीका तथा आगामी दिनमा के कसरी जाने भनेर पनि विमर्श हुन थालेको छ। कोरोना कहर, कोरोनाको असर, कोरोना नियन्त्रणका लागि चालिएका कदम, कोरोना कहरबीच जीवन, कोरोनापछिको अवस्थाको कल्पना र योजनाको सेरोफेरोमा अधिकांश मानिसको चिन्तन केन्द्रित छ।

कोरोना कहरले सबै क्षेत्र प्रभावित भएको पाइएको छ। यसले प्रकृति, संस्कृति तथा आचारविचार र आहारविहारमा पनि परिवर्तन ल्याएको छ। कतिपयको आकलन छ, कैयौं वर्षसम्म सावधान रहनुपर्छ। विश्व स्वास्थ्य सङ्गठनले पनि कोरोना भाइरस लामो समयसम्म रहने विचार सार्वजनिक गरेको छ। यसले गर्दा विश्वमा प्रत्यक्ष वा परोक्ष कोरोनाको कहरबीच जीवन र यसका गतिविधि तथा सम्पूर्ण पद्धति सञ्चालन गर्नुपर्ने बाध्यात्मक परिवेश सिर्जना भएको सङ्केत प्राप्त भइरहेको छ।

बन्दाबन्दी गरेर सबै मानवीय गतिविधि ठप्प पारेर बस्नु पनि सम्भव छैन। यसले प्रारम्भमा अति विपन्न, दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने मानिस र बिरामीहरूका अगाडि चुनौती थपिन्छ भने बिस्तारै यसको प्रभाव समग्र क्षेत्रमा पर्दै जान्छ। सम्भवतः यसै सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन अझै बढ्न सक्ने तर स्वरूप केही परिवर्तन हुने सङ्केत गरेका हुन्। अबको दिनमा कोरोना कहरमा जीवनशैली परिवर्तन गर्नुपरेको यथार्थ सबैले बुझ्दै गएको हुनुपर्छ।

कुनै काम गर्नुअघि अहिले सबैले कोरोनालाई मध्यनजर राखेर विचार गरिरहेका छन्। वर्तमानमा मानिसको चिन्तनमा पनि कोरोनाले प्रभाव पारेको स्पष्ट छ। यसले व्यवहार त पूरै प्रभावित पारेको छ। कोरोना कहरबाट कहिले उम्किएला र त्यसपछिको जीवनशैली कस्तो होला भनेर कतिपयले अनुमान सार्वजनिक गर्न थालेका छन्। आधारहरू प्रस्तुत गर्न थालेका छन्।

अहिले नै कोरोनाबाट मुक्त पाउन सकियो भने कस्तो होला ? कोरोनाको कहर केही महीना जारी रह्यो भने स्थिति कस्तो होला ? यसको प्रभाव लामो समयसम्म रहिरहे स्थिति कस्तो होला ? समाजले सबै पक्षमाथि चर्चा र बहस गरिरहेको छ। गर्नु पनि स्वाभाविक हो। समाजले यसभन्दा बढी केही गर्न सक्छ भने राज्यले लिएको नीति निर्देशनलाई व्यवहारमा ल्याउन सहयोग पु–याउनु मात्र। राज्यलाई सहयोग गर्नु हरेक नागरिकको कर्तव्य हो। वर्तमान अवस्थामा कोरोना कहरले विश्वमा एक किसिमले मानव अस्तित्वमाथि नै सङ्कट आइपरेको सन्दर्भमा झन् हरेक नागरिकले दायित्व निर्वाह गर्नु उपयुक्त हुन्छ।

कोरोना कहरबीच हामीले पारिवारिक, सामाजिक, सांस्कृतिक पर्वहरू प्रभावित भएको पायौं। कतिपय राष्ट्रिय पर्व पनि अत्यन्त सीमित भएर मनायौं। कोरोनाले भीडभाड गर्न नहुने बनाएपछि धेरै क्षेत्रमा मानिस साँघुरिनु परेको छ। कोरोनाको कहरबीच हामीले गणतन्त्र दिवस मनाइरहेका छौं।

देशको वर्तमान पुस्तालाई उमेरको हिसाबले तीन भागमा विभाजन गर्ने हो भने तीनमध्ये दुई पुस्ताका मानिसको चाहना केही वर्ष पहिलेसम्म गणतन्त्र थियो। गणतन्त्रको आगमनपछि देशले कायापलट गर्ने कुरामा धेरैको विश्वास थियो। देशमा गणतन्त्र २०६५ जेठ १५ मा घोषणा भएको हो। गणतन्त्रको पूर्ण कार्यान्वयन भने तीनै तहका सरकारले कार्यभार सम्हालेपछि भएको मानिन्छ। यद्यपि कतिपय कानूनको निर्माण अझै हुन बाँकी छ। देशका अधिकांश प्रदेशले आवश्यक सबै कानून निर्माण गरिसकेका छैनन्। यस अवस्थामा कतिपयले देशको गणतन्त्र पूर्ण कार्यान्वयनमा आइनसकेको पनि बताइरहेका छन्। यस तर्कलाई पनि अस्वाभाविक मान्न सकिन्न, तर गणतन्त्र कार्यान्वयनमा छ भन्ने कुरा सबैले स्वीकार गर्नैपर्छ। देशमा गणतन्त्र आएको एक दशक नाघिसकेको छ। गणतन्त्र आइसकेको एक दशकपछि पनि देशले खासै प्रगति गर्न नसकेको भनी कतिपयले आलोचना गर्न थालेका छन्।

आलोचना गर्नेको नजर जहिले पनि आलोचना गर्ने विषयको खोजी गरिरहन्छ र समर्थन गर्नेले जेमा पनि सकारात्मक गुण पाउँछ। देशमा गणतन्त्र आएपछिको अवस्थालाई विगतमा देशको अन्य कुनै पनि यत्तिकै वर्षसित तुलना गर्ने हो भने गणतन्त्रको महत्व थाहा पाउन सकिन्छ तर कुनै एकाध क्षेत्रलाई मात्र तुलनाको आधार बनाइनुहुन्न। देशको जनजीवनका हरेक पक्षलाई आधार बनाएर तुलनात्मक अध्ययन गर्ने हो भने यस देशले, देशको नागरिकले निकै धेरै प्रगति गरेको छ र प्रगतिको आधारमा थप प्रगतिको विशाल आकाशको कल्पना गर्न थालेको छ। हो, प्रगतिमा असन्तोषको आधार पनि गणतन्त्रले नै दिएको छ। प्रगतिका एकपछि अर्का खुडकिलालाई गणतन्त्रले नै देखाउन थालेको हो।

नेपालको गणतन्त्र धेरै हदसम्म मौलिक गणतन्त्र हो। यस देशको आफ्नै विशिष्टता छ र यस देशको गणतन्त्रको पनि आफ्नै वैशिष्ट्य छ। संविधानमा केही असन्तुष्टि अवश्य छ तर गणतन्त्रप्रति श्रद्धा र विश्वास कम भएको छैन। देशका नागरिक गणतान्त्रिक परिपाटीको अभ्यस्त हुँदैछ। हुनत केही असन्तुष्टि पनि देखिएको छ। असन्तुष्टि पोख्ने र असन्तुष्टिको सम्बोधन हुने, असन्तुष्टिमाथि बहस गर्ने वातावरण पनि त गणतन्त्रले नै जुराइदिएको हो। गणतन्त्र आफैंमा लोकतान्त्रिक व्यवहार भएकोले कतिपयले गणतान्त्रिक लोकतन्त्रको विकल्प गणतान्त्रिक लोकतन्त्र नै भएको बताउने गरेका छन्।

नेपालमा अहिलेसम्म छोटो अवधिमा गणतन्त्रले नेपाली नागरिकलाई धेरै थोक दिएको छ। देशको भौतिक विकासको क्षेत्रमा तेस्रो पुस्ता, अर्थात् राज्यबाट सम्मानस्वरूप भत्ता पाउने ज्येष्ठ नागरिकले आफ्नो युवाकालमा देश विकासको लागि गरेको कल्पनाको आधार वर्तमानमा चलिरहेको भौतिक निर्माणसम्मको तहमा थियो कि थिएन ? केवल कल्पना मात्र गर्न सकिन्थ्यो कि त्यतिबेला ? वा यो पनि अहिले कल्पनाकै विषय बन्न पुगेको छ। कतिपयसित यस विषयमा कुरा गर्दा अहिलेको विकासको कल्पना त्यो जमानामा गर्नै नसकिने यथार्थ सुनाउँछन्।

कोरोनाले अहिले कठिन परिस्थिति सिर्जना गरिदिएको छ। यस कठिन परिस्थितिमा गणतन्त्र दिवस मनाइरहेका छौं। यसपटक तराई–मधेसमा मनाइने सांस्कृतिक पर्व, पहाडमा मनाइने विभिन्न मेला तथा जात्राहरू, विवाह तथा पूजा र व्रतहरू अत्यन्त सीमित परिवेशमा मनाएका छौं र पनि कसैमा असन्तुष्टि छैन। कोरोनाले दिएको एउटा सकारात्मक सन्देश पनि हो यो। हामीले कठिनतम दिनमा पनि चित्त सानो पार्नुहुँदैन भन्ने कुरा सिकेका छौं। अहिले गणतन्त्र मनाइरहँदा देशमा शान्ति छ। यो देशले शान्ति चाहेको छ। नागरिकले शान्ति चाहेको छ।

देशमा गणतन्त्र घोषणा भइसकेपछिको अवधिमा वर्तमान पुस्ताले विकास पनि पाएको छ। नेपाली गणतन्त्रले नेपाललाई र नेपाली नागरिकलाई दिएको सकारात्मक योगदानको चर्चा कमै भएको पाइन्छ। नेपाली नागरिकको जीवनस्तरमा आएको सकारात्मक परिवर्तनमाथि पनि प्रकाश पार्नु आवश्यक छ। हो, हामी विकसित भनिएका देशमा भइरहेका विकाससँग आफ्नो देशको विकासको तुलना गर्न थालेका छौं र मनमा असन्तोष हुल्ने गरेका छौं। यो केही अर्थमा सही पनि हो कि विदेशका भौतिक प्रगतिजस्तो हाम्रो देशले पनि गर्नुपर्छ। अब हामीले सोच्नुपरेको छ वा हामी विचार गर्ने अवस्थामा पुगिसकेका छौं।

यो सपना वा विचार पनि गणतन्त्रले नै दिएको हो। देशमा गणतन्त्र आउनुअघि एकाधजनाले यस प्रकारको अभिव्यक्ति दिंदा अतिरञ्जित कल्पना भनेर हावामा उडाइन्थ्यो तर आजभोलि यस प्रकारका सपना देख्नेहरू हजारौं छन्। यसले यो स्पष्ट त भएको छ कि हाम्रो भौतिक क्षमताको विस्तार भएको छ र मानसिक क्षमताको आधार पनि बलियो भएको छ।

प्रतिक्रिया दिनुहोस