हात बाँधिएको अवस्थामा भेटियो नदीमा हराएका युवकको शव

काठमाडौं :-  पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ मा भएको घटनापछि हराएका जाजरकोटका एक युवकको शव हातमा डोरी बाँधेको र टाउकोमा चोट लागेको अवस्थामा फेला परेको छ।

जाजरकोटको भेरी नगरपालिका–११ का लोकेन्द्र सुनारको शव भेरी नगरपालिका–१२ स्थित् नदीमा भेटिएको हो। शव नदीको रुकुमपट्टीको भूभागमा भेटिएको हो। नदीमा हराइरहेकालाई खोज्न पुगेको सशस्त्र प्रहरीको गोताखोर टोलीले उनको शव निकालेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक महेशकुमार आचार्यले बताए।

घटनास्थलमा रहेका पत्रकार भीम पौडेलले लोकेन्द्रको शव डोरीले हात बाँधेको र टाउकोमा चोट लागेको अवस्थामा फेला परेको बताए। तर, प्रहरी निरीक्षक आचार्यले मुचुल्काका लागि घटनास्थल पुगेको टोली नफर्केकाले शव कस्तो अवस्थामा भेटिएको थियो भन्ने आफूलाई जानकारी नभएको बताए। भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले पनि शव डोरीले हात बाँधेको र टाउकोमा चोट लागेको अवस्थामा भेटिएका बताए। मुचुल्कास्थलमै रहेका मेयर घर्तीले यसको पुष्टि गरेका हुन्। उनले माछा मार्न प्रयोग गरिने जाल बनाउने डोरीले हात बाँधिएको अवस्थामा शव भेटिएको बताए।

१० जेठ साँझ रुकुम चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा जाजरकोटका ६ जना युवक भेरी नदीमा बेपत्ता भएका थिए। बेपत्तामध्ये यसअघि तीजनाको शव भेटिइसकेको छ भने दुई जना अझै बेपत्ता छन्। बेपत्ता हुनेमा भेरी नगरपालिका–११ का गोविन्द शाही र भेरी नगरपालिका–४ का सन्दिप बिक छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यसअघि भेरी नगरपालिका–४ का नवराज बिक र गणेश बुढा मगर तथा चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको शव भेटिएको थियो। भेरी नगरपालिका–४ का नवराज बिक मल्ल थरकी आफ्नी प्रेमिकाको अनुरोधमा उनलाई बिहेका लागि ‘भगाउन’ भन्दै १० जेठ साँझ आफ्ना १७ जना साथीसहित प्रेमिको गाउँ सोती पुगेका थिए।

तर, प्रेमिकाको घर नपुग्दै गाउँलेले लखेटेपछि घटना भएको थियो। घटनामा जाजरकोटका १२ जना युवालाई स्थानीयले नियन्त्रणमा लिएका थिए। लगत्तै पुगेको प्रहरी टोलीले उनीहरूलाई आफ्नो नियन्त्रणमा लिएको थियो।

१२ जनामध्ये ११ जना सामान्य घाइते भएका थिए भने एकजनालाई गम्भीर चोट लागेको थियो। मिनस अस्पताल चौरजहारीमा भर्ना भएका उनी उपचारपछि घर फर्किसकेको इलाका प्रहरी कार्यालय चौरजहारीका प्रमुख, प्रहरी निरीक्षक धर्मसिंह बिस्टले बताए।

घटनाको छानबिन गर्न सरकारले गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ। समितिमा नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, महान्यायाधिवक्ता कार्यालयका र गृहमन्त्रालयकै एकजना उपसचिव सदस्य छन्।

मृतक युवाका आफन्तले चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरहादुर मल्ल, प्रेमिका भनिएकी किशोरी, उनका बुवाआमासहित २० जनाविरुद्ध १३ जेठमा किटानी जाहेरी दिइसकेका छन्।

वडाध्यक्ष मल्लसहित १२ जना रुकुम प्रहरीको नियन्त्रणमा छन्।

मृतकका आफन्तले हत्या उनीहरूको भएको दाबी गरेका छन् भने किशोरीका आफन्तले गाउँलेको लखेटाइबाट भाग्ने क्रममा ६ जना युवकले भेरी नदीमा हाम्फालेका जिकिर गरेका छन्।

प्रतिक्रिया दिनुहोस