आज देखि निजगढमा अत्यावश्यकीय सामाग्रीका व्यवसाय संचालन गर्न पाईने

निजगढ :- कोरोना भाईरस संक्रमितको संख्या तीव्र गतिमा बढेपछि गत जेठ ३१ गतेदेखि पूर्ण रुपमा बन्द गरिएको निजगढमा बुधबारदेखि अत्यावश्यकीय सामाग्रीका पसल तथा व्यवसाय संचालन गर्न दिने भएको छ ।

कोरोना भाईरस विपद न्यूनीकरण समन्वय तथा अनुगमन निजगढको मंगलबार सम्पन्न बैठकले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणकालागि आवश्यक मापदण्ड अपनाउंदै व्यवसाय संचालन गर्न दिने निर्णय गरेको हो ।

बैठकले नगरभित्र रहेका स्टक सामाग्रीहरु विक्री वितरण गर्न दिने निर्णय भएको निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले निजगढ न्युजलाई बताए । अर्को निर्णय नभए सम्मकालागि सम्पूर्ण सामाग्रीहरु आयातमा प्रतिबन्ध गर्दै नगर भित्र स्टक रहेका खाध्य सामाग्री, दुध बिक्रि, मल बिउ पसल संचालन गर्न दिईने निर्णय भएको मेयर खनालले बताए ।

स्थानीय स्तरमा उत्पादित तरकारी, फलफुल, माछा माशु विक्री वितरण गर्न पाईने छ भने आयातमा पूर्ण रुपमा बन्देज गरिएको छ । यसरि तोकिएको व्यवसाय बिहान ११ बजेदेखि ३ बजेसम्म मात्र संचालन गर्न पाईने छ ।

यस्तै बैठकले कृषि बालि उत्पादनकोलागी पर्याप्त मात्रामा मल उपलब्ध गराउन जिल्ला प्रशाशन कार्यालय, कृषि सामाग्री लिमिटेड तथा साल्ट ट्रेडिङसंग अनुरोध गर्ने निर्णय भएको खनालले बताए ।

यस्तै तत्काल १ सय २१ बेड संख्याको क्वारेन्टाइन निर्माण गर्ने र आगामी दिनमा आवश्यकता अनुसार ५ सय वटा सम्म क्वारेन्टाइन बेड निर्माण गर्ने समेत बैठकले निर्णय गरेकोछ ।

यसैगरी नगर भित्र संचालित राष्ट्रिय स्तरका आयोजनाहरु तथा नगरपालिकाबाट संचालित बिकास निर्माणका कार्यहरु संचालनकोलागी निर्माण सामाग्रीका पसलहरु बिहान १० बजेदेखि ३ बजेसम्म संचालन गर्न दिईने समेत निर्णय भएकोछ ।

नगर भित्र उत्पादित मकै र केरा भने कोरोना भाईरस रोकथाम तथा नियन्त्रणकालागि आवश्यक मापदण्ड अनुरुप निर्यात गर्न पाईने छ ।

प्रतिक्रिया दिनुहोस