कपिलवस्तुमा क्वारेन्टाइनबाट ४५ जना फ्रहार

कपिलवस्तु : यशोधरा गाउँपालिका ८ मा रहेका २ वटा क्वारेन्टमइनबाट ४५ जना भागेका छन् । वडा नं. २ को खोरिया गाउँस्थित सरस्वती प्रावि क्वारेन्टाइनबाट २३ जना र राष्ट्रिय निमावि सिहोखोरको क्वारेन्टाइनबाट २२ जना भागेको वडा अध्यक्ष साबुद्दिन मुसलमानले बताए ।

भारतका विभिन्न सहरबाट आएका सबैलाई क्वारेन्टाइनमा नराखिएका कारण आफूहरु पनि क्वारेन्टाइन नबस्ने भन्दै उनीहरु भागेको गाउँका एक युवाले बताए । क्वारेन्टाइनबाट भागेका सबै वडा नं. ८ खोरिया गाउँका हुन् । उनीहरु गाउँमा घुमिरहेको वडा अध्यक्ष साहबुद्दिन मुसलमानले बताए । भागेका सबैको खोजी गर्न मर्यादपुर प्रहरी चौकी र विओपी डंगरीका सुरक्षाकर्मी खोरिया गाउँ पुगेका छन् ।

यशोधरा गाउँपालिकामा हालसम्म फेला परेका संक्रमित १२ जनामध्ये वडा नं. ८ का ५ जना छन् । भारतको कोरोना भाइरस संक्रमण फैलिएको मुम्बइलगायतका सहरबाट आएका युवा क्वारेन्टाइनबाट भागेपछि खोरिया गाउँ र आसपासका सर्वसाधारणमा कोरोना त्रास बढेको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्योति प्रकाश दुवेले बताए । यस सम्बन्धमा आफूहरुले गाउँपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई जानकारी गराइसकेको स्वास्थ्य संयोजक दुवेले बताए ।

क्वारेन्टाइनबाट भागेकाको खोजी गरी क्वारेन्टाइन फर्काउन सुरक्षाकर्मीसँग समन्वय भइरहेको गाउँपालिकाका प्रमुख गिरिजेश पाण्डेयले बताए ।

प्रतिक्रिया दिनुहोस