बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि

काठमाडौं :- क्वारेन्टाइनमै रहेको अवस्थामा कोरोना संक्रमणबाट युवकको निधन भएको बाँकेको नरैनापुर क्षेत्रमा थप ४७ जनामा कोरोना संक्रमण भएको पाइएको छ।

नरैनापुर क्षेत्रका २७३ को स्वाब संकलन गरि भेरी अस्पतालमा ल्याइएको थियो। जसमध्ये १९२ को परिक्षण गर्दा ४६ पुरुष र एक महिलामा कोरोना भेटिएको अस्पताल स्रोतले जनाएको छ। बाँकी ८१ जनाको स्वाब परिक्षण हुनेक्रममा रहेको भेरी अस्पताल स्रोतले जनाएको छ।

कोरोनाबाट निधन भएको युवकको सम्पर्कमा आएका र थप अन्य कोरोना  संक्रमित व्यक्तिहरुको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब संकलन गरि परिक्षण भएको थियो।

एक व्यक्तिको निधनसँगै कोरोना संक्रमितहरुको संख्या बढ्दै जाँदा नरैनापुरलाई हटस्पट घोषित गरि थप सतर्कता अननाउन स्थानियहरुले माग गर्न थालेका छन्। सो क्षेत्रमा प्रसासन र सुरक्षा निकायले उच्च सतर्कता अपनाइ नेपाल प्रहरी र सशस्त्र प्रहरी सो क्षेत्रमा व्यापक मात्रामा परिचालन गरिएको छ।

नरैनापुर क्षेत्रलाई चारैतिरबाट आवतजावत बन्द गरी संक्रमण न्यूनीकरणका लागि उच्च सुरक्षा सतर्कता अपनाइएको प्रहरीले बताएको छ ।

यसअघी नरैनापुरका ८ जना कोरोना संक्रमितहरुलाई शुक्रवार दाङको बेलझुण्डीस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा लगिएको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए।

सदरमुकाम नेपालगञ्जदेखि करिब ३५ किलोमिटर दक्षिण पूर्वराप्तीपारी अवस्थित नरैनापुर गाउँपालिका वडा नं ५ मटेहियास्थित नयाँबस्तीका २५ वर्षीय युवाको आइतबार बिहान निधन भएको थियो ।

भारतको महाराष्ट्र मुम्बइबाट गत वैशाख ३० गते बाँके आएलगत्तै सो गाउँपालिका वडा नं ५ मटेहियाको भगवानपुरस्थित दीपेन्द्र प्राविमा रहेको क्वारेन्टाइनमा बस्दै आएका युवाको आइतबार बिहान दुई पटक बान्ता गरेको केही समयपछि मृत्यु भएको जनाइएको छ ।

मृतक युवासहित भारतबाट नेपाल प्रवेश गरेका व्यक्तिको पिसिआर परीक्षण गर्दा यसअघि यहाँका आठ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।  ती मध्ये तीन जना  दीपेन्द्र प्राथमिक विद्यालयकै क्वारेन्टाइनमा थिए । उक्त क्वारेन्टाइनमा अहिले ३८ जनालाई राखिएको छ ।

प्रतिक्रिया दिनुहोस