बच्चालाई संसार देखाईन् तर कोरोनासँग हारेर सधैका लागि अस्ताइन्

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालमा पहिलो पटक एक जनाएको ज्यान गएको छ ।सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको कोरोनाकै कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सिन्धुपाल्चोक निवासी २९ वर्षीय महिला, वैशाख २३ गते त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएको थियो र उहाँको २४ गते डेलिभरी भएको, उहाँ अस्पतालबाट २५ गते डिस्चार्ज भएपछि सिन्धुपाल्चोक घर जानुभएको थियो, उहाँलाई ज्वरो, श्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराउनुभएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उहाँ धुलिखेल अस्पतालमा थप उपचारका लागि आउँदै गर्दा मृत्यु भएको छ ।

यस सम्बन्धमा थप विस्तृत विवरण लिइएको र कोभिड–१९ सँग सम्बन्धित थप परीक्षण पश्चात नेपालमा कोभिड १९ बाट मृत्यु भएको यो पहिलो घटना भएको पुष्टि भएको छ ।”नेपालमा कोरोनाको पहिलो शिकार बनेकी उनले वैशाख २४ गते बच्चलाई जन्म दिइन् । महिलाको जीवनमा सबैभन्दा कष्टपूर्ण मानिने प्रसव पीडालाई जितिन् तर कोरोनासँग सधैका लागि हारिन् ।

संसारभर ज्यान लिएको दुष्ट कोरोनाले उनलाइ पनि छाडेनन् । २९ वर्षको कलिलै उमेरमा ज्यान गुमाउनु पर्यो । आफ्ना बच्चालाई यो धर्तिमा पाइला टेकाउन सफल भएपनि कहिल्यै नभेट्ने गरी उनी अस्ताईन् । भावपूर्ण श्रद्धाञ्जलि !

प्रतिक्रिया दिनुहोस