सिरहाको मौवाही सिल,नेपालमा संक्रमितको संख्या २ सय ९१

काठमाडौं :- कोरोना भाइरसबाट नेपालमा कुल संक्रमितको संख्या २ सय ९१ पुगेको छ भने एकजनाको ज्यान गएको छ । आइतबार (४ जेठ) फेरि १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा भएको परीक्षणमा थप १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले विज्ञप्तिमार्फत् जनाएको हो ।

आइतबार बिहान संक्रमण पुष्टि भएका सबै रौतहटका बासिन्दा हुन् । रौतहटको राजपुर नगरपालिका–९ फरहदवाका १८, ३२, ३६, ३९ (दुईजना), ४२ र ४८ वर्षका पुरुष तथा रौतहटकै इशनाथ नगरपालिका–३ र ५ का २८, ३० र ३३ वर्षका पुरुष रहेको मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन् ।

सिरहाको मौवाही सिल

कोरोना सङ्क्रमित भेटिएपछि सिरहाको सुखवानान्कारकट्टी गाउँपालिका–१ स्थित मौवाही र त्यस आसपासको क्षेत्रलाई शनिबार साँझबाट सिल गरिएको छ ।

सुखवानान्कारकट्टी गाउँपालिका–१ निवासी २९ वर्षीय युवकमा शनिबार कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमण थप फैलन नदिन सो वडालाई सिल गरिएको सिरहा प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंले जानकारी दिएका हुन् ।

अत्यावश्यक कामबाहेक कसैलाई पनि बस्तीबाहिर जान र आउन नदिन सिल गरिएको बताइएको छ । सङ्क्रमण पुष्टि भएका युवकलाई सिरहाको धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाइ मेमोरियल अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ भने युवकको सम्पर्कमा आएकाहरुलाई तत्काल क्वारेन्टाइनमा लैजाने तयारी गरिनुका साथै कन्ट्याक्ट ट्रेसिङ शुरु गरिएको छ ।

बताइएअनुसार गत फागुन २८ गते मलेशियाबाट घर आएका ती युवकको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको स्वाब परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस