विराटनगरबाट दुई कोरोना संक्रमित डिस्चार्ज, २४ घण्टायता भेटिएनन् नयाँ संक्रमित

काठमाडौं :- विराटनगरको कोभिड–१९ उपचार केन्द्रबाट दुई जना डिस्चार्ज भएका छन् । योसँगै प्रदेश–१ मा डिस्चार्ज हुनेको संख्या १६ पुगेको छ ।

आज (आइतबार) दिउँसो झापाका एक र भोजपुरका एक जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेमा भोजपुरका २७ वर्षीय युवक र झापा बाह्रदशी गाउँपालिकाका ६३ वर्षी वृद्ध छन् ।

भोजपुरका युवक वैशाख १० र झापाका वृद्ध वैशाख १२ मा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएका थिए । लगातार तीन पटकसम्म स्वाब परीक्षणमा कोरोना नेगेटिभ आएपछि उनीहरुलाई आइतबार दिउँसो डिस्चार्ज गरिएको कोभिड–१९ उपचार केन्द्रका प्रमुख डा. दीपक सिग्देलले जानकारी दिएका छन् ।

दुबै जनालाई स्थानीय जनप्रतिनिधि सँगको समन्वयमा होम क्वारेन्टाइनमा बस्ने गरी एम्बुलेन्समा राखेर आइतबार नै घर पठाइएको छ । कोभिड–१९ उपचार केन्द्रबाट यसअघि बुधबार ६ र शुक्रबार ८ जना डिस्चार्ज भएका थिए ।

यस अघि डिस्चार्ज हुनेमा ७ जना भारतीय, २ जना विराटनगरका र ५ जना उदयपुर भुल्केका नागरिक थिए। अब १९ जना उपचार केन्द्रमा उपचाररत छन् ।

प्रदेश-१ मा संक्रमितको संख्या ३५ पुग्यो, २४ घण्टामा नयाँ संक्रमित फेला परेनन्
नेपालमा पछिल्लो २४ घण्टामा नयाँ कोरोना भाइरसका संक्रमित फेला नपरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा ११० जना संक्रमित फेला परेका छन् । यसमध्ये ७८ जना पुरुष र ३२ जना महिला रहेका छन् । प्रदेश १ मा ३५ जना, प्रदेश २ मा ३१, बागमती प्रदेशमा ७, गण्डकी प्रदेशमा २, प्रदेश ५ मा ३० तथा सुदूरपश्चिम प्रदेशमा ५ जना संक्रमित फेला परेका छन् ।

यसमध्ये ३१ जना निको भएका छन् । बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

हालसम्म पीसीआर विधिबाट १६ हजार ८९८ वटा परीक्षण गरिएका छन् भने आरडीटी ५६ हजार ५५० । पछिल्लो २४ घण्टामा १३ सय १६ वटा परीक्षण गरिएका छन् । क्वारेन्टाइनमा कूल १३ हजार ६२५ जना रहेका छन् भने आइसोलेसनमा संक्रमित र सम्भावित संक्रमित १६४ जना छन् ।

प्रतिक्रिया दिनुहोस