यसकारण ओलीको विकल्प ओलीनै

“जसको जीवनमा जति मोडहरु, जति समस्याहरु आउँछन्, उसको जीवन त्यति नै सफल हुदै जान्छ किनकी हर समस्या आफ्नो साथमा एउटा मौका लिएर आएकै हुन्छ ।’’ –    रविन्द्रनाथ टैगोर

भर्खरै मृगौला प्रत्यारोपर्ण गरेर स्वास्थ्यलाभ गरिरहेका नेपालका प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीलाई कोरना संक्रमणको राष्ट्रिय सन्त्रासका बीचमा राजिनामा मागियो, त्यो पनि आफ्नै पार्टीबाट । देश लकडाउनको अवस्थामा गुज्रिरहँदा पार्टी भित्रको यो किचलोले केहि दिन नेपाली राजनीतिको बजार तात्यो । केहीले यही तातोमा आफ्नो राजनैतिक अभिष्टको रोटी सेक्ने प्रयास पनि पक्कै गरे ।

यो घटनाले २५ वर्ष पहिलेको प्रधानमन्त्री मनमोहन अधिकारीको तितो विगत सम्झायो । जसले हेलिकप्टर दुर्घटनामा गम्भिर घाइतेहुँदा अस्पताल शैयाबाट अविश्वासको प्रस्तावको सामना गर्नु परेको थियो । प्रष्ट छ, २०५२ को भाद्र महिनामा जसरी मनमोहनले सरकारकै सहयात्रीहरुको घेराबन्दीमा परेका थिए, त्यो भन्दा पनि संगिन घेराबन्दी अढाई दशक पछि अध्यक्ष ओलीले ब्यहोर्नु प¥यो ।

त्यसो त यो कुनै नयाँ कथा होइन, विगत दुई दशकदेखिको घेराबन्दीको नयाँ उपकथा मात्रै हो । तत्कालिन राजा ज्ञानेन्द्रको ‘कु’ पछि नजरबन्दमा रहेका तत्कालिन नेकपा (एमाले) का महासचिव माधब नेपाललाई हटाउने अभियान चलेको थियो । त्यतिबेला यिनै ओलीले यो अभियानका विरुद्ध दृढतापूर्वक उभिएर पार्र्टी पंक्तिको मन जितेका थिए । सात बुँदे सहमति, जनआन्दोलन, शान्ति वार्ता हुँदै पहिलो संविधान सभा निर्वाचनबाट तत्कालिन नेकपा (माओवादी) देशको सबैभन्दा ठुलो दल बन्यो र त्यसका सुप्रिमो प्रचण्ड प्रधानमन्त्री भए । नौ महिना हुँदानहुँदै प्रधानसेनापति काण्डका कारण प्रचण्डले राजिनामा दिए ।

प्रचण्डकै सहयोग र प्रस्तावमा दुई दुई ठाउँबाट पराजित माधव नेपाललाई सांसद हुदै प्रधानमन्त्री बनाइयो । नौ महिना पनि नहुँदै नेपाल नेतृत्वको सरकार विरुद्ध माओवादी सडक संर्घषमै उत्रियो । त्यति मात्रै होइन देश भरका कार्यकर्ताहरुलाई सत्ता कब्जा गर्नका लागि काठमाण्डौ उतारियो अनि नौ दिनसम्म नेपालको राजिनामा माग्दै देशभर आमहड्ताल गरियो ।

पार्टीका उपाध्यक्ष वामदेव गौतमले देशको संकटमोचनका लागि माधव नेपालले राजिनामा गर्नुपर्ने जिकिर गर्दै त्रिहत्तर जनाको हस्ताक्षर सहित विज्ञप्ती नै जारी गरे । त्यतिबेला सरकारको रक्षा कबजका रुपमा प्रभावशाली नेता केपी ओलीले नै सरकारको पक्षमा पार्टी भित्र महौल बनाए । फलतः बिना शर्त टुंगिएको आमहड्तालका बेला सडकमा सरकारका विरुद्ध मात्र होइन नेता ओलीका विरुद्ध समेत माओवादी कार्यकर्ताहरुले चर्काे नाराबाजी गरे । अकारण थालिएको आमहड्ताल विरुद्ध नागरिक आन्दोलन उठ्न थालेपछि आमहड्ताल स्थगित भयो । नेपाली राजनीतिमा त्यही विन्दुदेखि नै माओवादीको पतनको सुत्रपात भयो भने ओलीको राजनीतिक उचाइ चुलिन थाल्यो ।

माओवादीहरुको सत्ता उन्मादबाट प्रताडित तत्कालिन एमालेका मात्र होइन काँग्रेस कार्यकर्ताहरु पनि ओलीको राजनैतिक लाइनबाट उत्साहित हुन थाले । मानिसहरुले ओलीको राजनैतिक बलमा अब खुलेर शान्ति प्रक्रियापछि शहरमा छिरेको आतंकको नयाँ छायाँको प्रतिरोध गर्न सक्ने सामथ्र्य पाए । देशमा एमालेलाई ‘लिङ्ग नखुलेको पार्टी’ को आरोप लागिरहेको बेला पार्टीका वरिष्ठ नेता केपी ओलीको पक्षमा भने अपार जनसमर्थन तयार हुन थाल्यो । ओलीको बोली र बन्दुकको गोलि एकै हो भन्ने कांग्रेस वृतमा पनि राम्रै चर्चा हुन थाल्यो । संग्रौला, पाठक र सी. के. लाल मार्काका स्वकथित बुद्धिजीविहरुले अनेक विशेषण लगाउदै ओलीको निन्दा गरेकै हुन्थे । यसरी ओलीको एन्टी माओवादी छवि नेपाली राजनीतिमा बलात तयार भयो ।

दोस्रो संविधान सभा निर्वाचन पछी शक्ति सन्तुलनमा फेरबदल आयो । काँग्रेस सभापति सुशिल कोइरालाको नेतृत्वमा एमाले र काँग्रेसको सरकार बन्यो । २०७२ असोज ३ गते संविधान जारी गर्ने दिन नजिकिँदै गर्दा तराईका जिल्लाहरुमा ‘एक मधेश’ को माग राखेर आन्दोलन शुरु भयो । पहाडमा समेत ‘स्वायत्तता सहितको जातिय राज्य’ को माग हुन थाल्यो । अर्काे तर्फ विभिन्न क्षेत्रिय तथा जातिय संगठनहरुले भने जातिय राज्यको विपक्षमा देशभर प्रदर्शनहरु गर्न थाले । देश अशान्त बन्दै गयो । टिकापुर हत्याकाण्ड जस्तो निर्मम र क्रुर दिन पनि नेपालीहरुले भोग्नु प¥यो । देशमा वैदेशिक हस्तक्षेपका श्रृंखलाहरु शुरु हुन थाल्यो । भारतले त आफ्नो विशेष दुत, कुटनीतिक नियोग र गुप्तचर सस्ंथाकै प्रयोग गरी संविधान तत्काल जारीनगर्न देखिने गरी नै दबाब दियो । भारतको दवावका सामु केही नेताहरुको बोली फेरियो तर पटक पटक भारत परस्तको आरोप खेप्दै आएका उनै ओली भने टसकोमस भएनन् । नेपालको आन्तरिक मामलामा कसैको दवावका कारण केहीदिन त के घण्टा पनि तलमाथि गर्न नहुने ओली अडानका कारण देशले संविधान त समयमै पायो तर ओलीसँग दिल्ली सरकार भने रुष्ट भयो ।

केपी ओलीमाथि देशभर चौतर्फि आक्रमण शुरु भयो, मानौ उनी नै देशका प्रधानमन्त्री हुन् । ओलीविरुद्द सडकमा नारा लाग्यो, पुत्ला दहन भयो । दिनहुँजसो पत्रपत्रिका, एफएम रेडियो, टिभी र सामाजिक संजालमा उनलाई मधेशविरोधी, जनजातिविरोधी र संघियता विरोधीका संज्ञा दिँदै तेजोबध गर्ने काम भइरह्यो । ‘एमालेमुक्त मधेश’ घोषणा गर्दै केपी ओलीलाई ‘मधेश प्रवेश निषेध’ को समेत ऐलान गरियो । आङकाजी शेर्पा, राजेन्द्र महतो र उपेन्द्र यादवहरु घोक्रो फुटुञ्जेल ओलीलाई गालि गरिरहेका थिए । खगेन्द्र संग्रौला, युग पाठक र सिके लालहरु औला भाँचिने गरी ओलीविरुद्ध लेखिरहेकै थिए ।

२०७२ असोज ३ गते नेपालले संविधान जारी भयो र भारतले नेपालमाथि अघोषित नाकाबन्दी । नेपाल भित्रिदै गरेका मालबाहक गाडीहरु नाकामै रोकिए । सरकारको नेतृत्व गरेको दल नेपाली काँग्रसले त भारतको यो कदमलाई नाकाबन्दी भन्ने आँटसम्म पनि गरेन । तर त्यही सरकारका परराष्ट्र मन्त्रीको समेत जिम्मेवारी सम्हालेका स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले भारतिय राजदुतलाई बोलाएर नाकाबन्दीको कारण माग गरे ।

संविधान जारी भएसँगै संविधान सभा प्रतिनिधि सभामा रुपान्तरण भयो । पुर्व सहमति विपरित सुशिल कोइरालालाई पुनः प्रधानमन्त्रीका लागि तयार गरियो । प्रचण्डको प्रस्तावमा ओली प्रधानमन्त्री भए । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले केपी ओलीलाई भारत भ्रमणको निम्ता गरे । तर ओलीले आफ्ना जनता नाकाबन्दीको कारण औषधि समेत नपाउने अवस्था रहेकोले यस्तो अवस्थामा आफु विदेश भ्रमणमा निस्कन नसक्ने जवाफ दिए र नाकाबन्दी फिर्ता नहुञ्जेल भारत गएनन् पनि । ओली सरकारको तत्कालिन भूमिका र अडानलाई जनताको बलियो साथ र समर्थन रह्यो । नेपालमा मात्र होइन भारत र विश्वभर समेत उनको चर्चा चुलियो ।

सन् १९५० को सन्धीपछि निराशावादी प्रवृतिको सिकार बन्दैआएको नेपाली समाजमा आशा जगाउने काम त्यही ओली सरकारले नै ग¥यो । ग्याँस नपाएर दाउरामा पकाउन परेको बेला, डिजेल पेट्रोल नभएर पैदल हिडेर दशै तिहार मनाउन परेको बेला पाइपलाइनबाट इन्धन ल्याउने घोषणा गरे । भारतिय नाकाबाट खाद्यान्न त के औषधिसमेत नआएको बेला उत्तरी नाका खोल्ने र समुन्द्रमा आफ्नै पानीजहाज चलाउने सपना देखाए । अठ्ठार घण्टा लोडसेडिङ्गमा पिल्सिएका जनतालाई दुई वर्षभित्र लोडसेडिङ्ग मुक्त गर्ने घोषणा गरे । भुकम्पले थला परेका र नाकाबन्दीले आक्रान्त भएको बेला समृद्घी र विकासका खाका सुनाइरहे ।

भलै त्यसबेला सत्ताका सहयात्रीले प्रचण्डले आफ्नै नेतृत्वमा सरकार बनाउने हतार गरिदिँदा पुग नपुग नौ महिनाहरुमा यी सबै योजनाहरु पुरा गर्ने फुर्सद पाएनन् । तर त्यसबेला रोपिएको बिउमा आज फल लागेको छ । मुलुक लोडसेडिङ्गमुक्त मात्र भएको छैन विद्युत निर्यात गर्नेतर्फ अगाडि बढ्दैछ । चीनसँगको पारबाहन सम्झौता भई प्रोटोकलमा हस्ताक्षर भएको छ । भिसाखापटनम बन्दरगाह सम्बन्धी सम्झौता भएको छ । अमलेखगन्जमा पाइपलाइनबाट डिजेल झरेको छ ।

जनअपेक्षा विपरीत अंकगणितका सामु राजनीति परास्त भई ओली सरकार बिदा भएको दिन संसदको रोष्टममा उभिएर ओलीले ‘आफु छस्केलाबाट होइन चुनाब जितेर राजमार्ग हुदै सिहंदरबार छिर्ने’ आत्मविश्वासी मन्तव्यसहित राजिनामाको घोषणा गरेका थिए । वास्तवमा संसदमा उनले भनेजस्तै त्यो खेलको अन्त्य थिएन, सुरुवात मात्रै थियो । दुनियाँलाई चक्मा दिदै तत्कालिन माओबादी केन्द्रसँग चुनावी तालमेल गर्दै पार्टी एकता गर्ने घोषणा गरी पुनः उनी पहिलेभन्दा शक्तिशाली प्रधानमन्त्रीका रुपमा निर्वाचित हुन पुगे ।

त्यसो त घटनाक्रमहरुलाई इतिहासले पक्कै समीक्षा गर्ने नै छ । देउवाको सरकारले गराएको स्थानिय तहको चुनावमा तत्कालिन माओवादी केन्द्र र काँग्रेसको मोर्चाबन्दीका बाबजुत एमाले अत्याधिक बहुमतका साथ विजयी भएकै हो । भरतपुरको मतगणना काण्डका बारेमा कसैलाई सम्झाइरहनु पक्कै पर्दैन । तर यही पृष्ठभूमिमा माओवादी केन्द्रको देशभरको चुनावि असफलता र एमालेको दुई तिहाइको महत्वाकांक्षाको फलस्वरुप प्रदेश सभा र संघीय संसदको निर्वाचनमा मिलेर लड्ने र चुनावपछि एकता गर्ने सहमति जुटेको हो । २०७५ जेष्ठ ३ पछि एकिकृत नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झण्डै दुई तिहाइका साथ संसदमा उपस्थित छ । जनताको स्थिरता र समृद्धीको सपना पुरा गर्न आम निर्वाचनको राजमार्ग हुँदै ओली प्रधानमन्त्री छन् ।

सत्यको पक्षमा, विपरित प्रवाहमा दृढ उभिएर राजनीति गर्न सक्ने सहास, धैर्यता र क्षमता भएका ओलीलाइ शारीरिक रुपमा मात्र नभई मानसिक रुपमा समेत असन्तुलन भएको भन्दै उपचारको माग गर्ने बडे बडे नेताहरु जिवितै छन् । ओलीमा महेन्द्रीय राष्ट्रवादको भुत सवार भएको आरोप लगाउने डाक्टर भट्राई अहिले पनि अरुकै एजेण्डा बोक्नमा व्यस्त छन् । हाँस्यकलाकार उपमा दिएर कागजको रेल र पानिजहाज नालीमा बगाउने नेविसंघ पनि रेल कै फोटो भएको कांग्रेसको असफल चुनावी घोषणापत्र थन्काएर थकाई मार्दैछ । तर अध्यक्ष ओलीविगत दुइ दशकदेखि आफुमाथि लागेका तमाम आरोपहरुलाई आफ्ना कामहरु मार्फत एकपछि अर्काे गर्दै झुठ सावित गरिरहेका छन् ।

वास्तवमा आज नेपाली राजनीतिमा ओलीका विरुद्धको संर्घष सामान्य सत्ता संर्घषको रुपमा नभई बर्ग संघर्षको रुपमा विकास भईरहेको छ । प्रश्न गरौं न सेण्डिकेटका विरुद्द कदम उठाउँदा कुन वर्गलाइ बेफाइदा भयो ? सुन तस्करका जालो तोड्दा कसलाइ क्षति पुग्यो ? बालुवाटार जग्गा प्रकरणको छानविन हुँदा कुन वर्ग आतङ्कित भएको छ ? कालोबजारी गर्ने अग्रवालहरु पक्राउ पर्दा कस्को होस उड्यो होला ? काम ओगट्ने तर नगर्ने ठेकेदारलाइ कडाइ गर्दा कसलाइ तनाब भएको छ ? भन्सार नाका कडाइ हुँदा कुन वर्गको निदहराम भइरहेको छ ? कर छल्ने आदत परेकाहरुलाई कर तिर्न बाध्य पारे पछि कति औडाहा भएको होला ? राजनैतिक अस्थिरतामा फाइदा लुट्ने वर्ग कुन हो र त्यसलाई यो स्थिरताले कति तलतल लाग्या होला ? त्यसैले यो केपी ओली विरुद्धको संघर्ष वा यो सरकार विरुद्धको संघर्ष मात्रै पक्कै होइन । यसमा त हरेक पार्टी भित्रका अभिजातवर्ग आफ्ना सुण्डमुण्ड परिचालन गरी सरकारविरुद्द हात धोएरै लागि परेको छ । जब मानिसको भौतिक रुपमा हत्या गर्न सकिदैन तब व्यक्तित्वको हत्या गर्ने कोसिस गरिन्छ । यसका लागि कि त षड्यन्त्र रचिन्छ नत्र झुठको सहारा लिइन्छ । नेपालको जस्तो सामाजिक परिवेश, जहाँ मानिसहरु कारणको खोजी नगरी परिणामको पछि कुद्छन्, त्यहाँ यस्ता हतियारहरु झनै कामयावी हुन्छन् । जहाँ घटनाको गहिराईमा नगई समाचारका टाउके हेडलाइनका आधारमा जनता मात्र होइन बुद्धिजीविहरुले पनि धारणा बनाउँछन्, त्यहाँको व्यक्तित्वको निर्माण र हत्या सहज हुने नै भयो ।

१५औं शताब्दीमा फ्रान्सको रक्षार्थ लडेकी योद्दा जोन अफ आर्कलाई ‘बोक्सी’ को आरोप लगाई घृणा गरिन्थ्यो । तर कालान्तरमा उनको भूमिकाको समग्र मूल्यांकनका आधारमा उनलाई आज वोनापार्ट र गल्सलाई जस्तै सम्मान गरिन्छ । अनिवार्य हात धुनुपर्ने कुराको वकालत गरे बापत १९औं शताब्दीका चिकित्सक सेम्भेल्भाइसलाई जीवनभर ‘पागल’ भनेर हेपियो । आधुनिक मलेसियाका निर्माता माहाथिरलाई पनि परिवारवादी, भ्रष्ट र निरङ्कुशको आरोप लगाउदै उनकै पार्टीका युवा नेता अनवर इव्राहिमले तीसौं हजार विद्यार्थी सहित सडकमै विरोध प्रदर्शन गरेका थिए । तर समग्र परिणामले बोल्ने कुरा भने अर्कै छ ।

अर्थात रविन्द्रनाथ टैगोरले भनेजस्तै हर समस्याले ल्याएको मौका चिन्ने र त्यसको उपयोग गर्दै आएका राजनेता केपी ओलीले वर्तमानको चुनौतीलाई पनि पक्कै सहजताका साथ पार लाउने निश्चित छ । अनि माथिका उदाहरणहरुमा उल्लेख भएजस्तै आजसम्मको उनको राजनैतिक पृष्ठभूमिले पनि पुष्टी हुन्छ, यो विश्व संकट टार्नेप्रतिभा, धैर्य र सहास पनि उनीमा छ । त्यसैले समकालिन नेपाली राजनीतिमा ओलीको विकल्प ओलीनै हुन् ।

प्रतिक्रिया दिनुहोस