कोहलपुरको दक्षिण नाका बन्द

कोहलपुर :- नेपाल–भारत सीमासँग जोडिएको बाँकेको दक्षिण नाका बन्द हुने भएको छ । जिल्लामा कोरोना सङ्क्रमण देखिएसँगै नेपालगञ्जदेखि १६ किमी टाढा कोहलपुर नगरपालिकाको दक्षिणतर्फको सीमा बन्द गर्ने र अन्य नाकामा कडा निगरानी गरिने कोहलपुर नगरपालिकाकाका प्रमुख लुटबहादुर रावतले जानकारी दिए ।

आपत्कालीन सेवाबाहेकका सवारी साधनलाई कोहलपुर प्रवेशमा रोक लगाइएको छ । एक साताका लागि कोहलपुरमा कुनै गतिविधि गर्न नपाइने गरी रोक लगाइएको नगरपालिकाका प्रेस सल्लाहकार भीम रावतले राससलाई जानकारी दिए।

कोहलपुर– १५ चौधरीया गाउँबाट अपरिचित व्यक्ति नगरभित्र प्रवेश गर्ने भएकाले त्यस क्षेत्रमा सुरक्षाकर्मी परिचालन गर्ने, नगर क्षेत्रभित्र आयोजना हुने औपचारिक कार्यक्रम स्थगन गर्ने र भौतिक तथा पूर्वाधार निर्माणका योजनासमेत अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

बाँकेको नेपालगञ्जमा कोरोना सङ्क्रमित देखिएसँगै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । स्थानीय प्रशासनले नेपालगञ्ज उपमहानगरपालिकाको डिएसपी रोड, धम्बोझी र एकलैनी क्षेत्रलाई यसअघि नै बन्द गरेको थियो । कोहलपुरमा कोरोना सङ्क्रमण फैलन नदिन सम्पूर्ण नगरवासीलाई बन्दाबन्दीको पालना गर्न आग्रह गर्दै नगरपालिकाले अत्यावश्यक एम्बुलेन्स, ग्यास र पानीबाहेकका सवारी साधनलाई प्रवेश निषेध गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस