चलचित्रकर्मीबीच शुरु भयो दौड : को पुग्ने, को–को पछारिने ?

काठमाडौं :- नेपाली चलचित्र वृत्तका पात्रका लागि महत्वपूर्ण संस्था हो चलचित्र विकास बोर्ड । यस बोर्डको सारथी अर्थात् अध्यक्षको ओहदाप्रति विशेष आकर्षण रहँदै आएको छ ।

कुनै समय तात्कालिक सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्ताले चलचित्रकर्मीहरूकै आवाजलाई समेटेर चलचित्र विकास बोर्डको गठन गरेका थिए । त्यतिबेला बोर्ड कुन ध्येय या उद्देश्यले माग गरिएको थियो र कु उद्देश्यले सरकारले बोर्ड गठन गरिदिएको थियो र सोअनुसार आज यस बोर्डले बाटो पहिल्याइरहेको छ वा छैन ? वा, आफ्नो उद्देश्यअनुरूप हिँडेको छ कि विपरीत बाटोमा ? यसको लेखाजोखा न चलचित्रकर्मीले गरेका छन् न त सरकारले नै चासो दिन भ्याएको छ । तर बोर्डको अध्यक्ष एवम् सदस्यलगायतका पद प्राप्तिका लागि भने चलचित्रकर्मीहरूबीच जहिल्यै पनि हानथाप चलिरहेको हुन्छ ।

आखिर यो पदप्रति यस्तो आकर्षण वा लोभ किन रहन्छ होला ?

विशुद्ध रूपमा चलचित्रकर्मी र चलचित्र क्षेत्रको आवाज समेट्ने, बोल्ने र उनीहरूका हक–हितका निम्ति लड्ने उद्देश्यले गठन गरिएको बोर्ड पछिल्लो समय केहीलाई छाडेर भन्ने हो भने राजनीतिक भर्तीकेन्द्र बन्दै आउँदा यसले आफ्नो साख गिराइरहेको प्रतीत हुन्छ । तर पनि बोर्डको कुनै पद रिक्त हुँदा त्यो प्राप्तिका लागि लालायितहरूको संख्या प्रशस्त देखिने गरेको छ ।

अध्यक्ष केशव भट्टराईको आकस्मिक निधन भएपछि अहिले पनि बोर्ड अध्यक्षविहीन भएको छ । यस कारणले पनि लामो समयसम्म बोर्डलाई अध्यक्षविहीन बनाई राख्दा प्रशासनिक कार्यमा बाधा पर्न जाने कारणले पनि सञ्चार मन्त्रालयले बोर्डको अध्यक्ष पदका लागि सार्वजनिक रूपमा निवेदन दिन आह्वान गरेको छ । यो आह्वानसँगै अहिले चलचित्रकर्मीहरू बोर्डको अध्यक्ष बन्न विभिन्न पहुँच भिडाउँदै शक्तिकेन्द्रहरू धाउंन थालेको कुराले बजार गर्माएको छ । अहिले बोर्डको अध्यक्षका लागि दयाराम दाहाल, लय संग्रौला, शिव श्रेष्ठ, भुवन केसी, नवल खड्का, निखिल उप्रेती र सोहित मानन्धरले दौडधुप शुरू गरिसकेका छन् ।

बोर्डको अध्यक्षका लागि सबैभन्दा अगाडि चर्चामा आएको नाम हो दयाराम दाहाल र लय संग्रौला । दाहाल हाल बोर्डको सदस्य पनि हुन् । निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटा अहिले रहेका भए दाहाल बोर्डको अध्यक्ष भैसक्ने चर्चा चलचित्र वृत्तमा चलेको छ । चलचित्र क्षेत्रमा लामो समय बिताएका दाहाल अनुभवी र निष्ठावान चलचित्रकर्मीका रूपमा पनि चिनिन्छन् । दाहालसँगै बोर्डको अध्यक्षमा नाम गरमाउन सफल भएका वरिष्ठ चलचित्रकर्मी हुन लय संग्रौला । तात्कालीन समयमा अध्यक्षको पदका लागि केशब भट्टराईले पालामा लय संग्रौलाको नाम आएको थियो । त्यतिबेला संग्रौलाले केशव भट्टराईलाई सहमतिमा पद छाडेर आफू पछाडि हटेका थिए । त्यतिबेला उनको त्यागको अहिले मूल्याङ्कन हुनुपर्नेमा आवाज उठिरहेको छ । लामो समय नेपाल टेलिभिजनमा काम गरेर प्रशासनिक क्षेत्रको अनुभव पनि सँगालेका संग्रौलालाई अब भने पछाडि नहट्न उनका समर्थकहरूले सम्झाएका छन् ।

बोर्डको अध्यक्ष पदका लागि भुवन केसीको नाम पनि अगाडि छ । तात्कालिक एमालेबाट समानुपातिकमा परेर पनि फ्याँकिएका केसीलाई पार्टीले ऋण पनि तिर्नु छ । किनकि त्यतिबेला समानुपातिकमा फ्याँकिँदा पनि उनले पार्टीको निर्णयलाई शिरोधार्य गर्दै चुप बसेका थिए, कतै विरोध गरेनन् । एउटा चलेको सेलिब्रेटीको त्यस समयमा साँच्चै अपमान भएको थियो । यता निखिल उप्रेती पनि निकै जोडतोडका साथ लागिपरेका छन् । उनको पारिवारिक पृष्ठभूमि पनि कम्युनिस्ट नै हो भने सरकार पनि कम्युनिस्टकै भएका कारण निखिलले भर गरेका छन् । उनका दाजु हरि उप्रेती सर्लाही क्षेत्र न. ३ का पूर्वसभासद् हुन् । निखिललाई यसपटक दाजुको राम्रै साथ मिलेको छ । बोर्ड अध्यक्षको पदमा चर्चामा आएको अर्को नाम हो शिव श्रेष्ठ । यिनलाई अध्यक्ष बनाउँदा कतैबाट पनि विरोध नआउने र पुराना कलाकारको सम्मान पनि हुने आँकलन गरिएको छ ।

अर्का नायक नवल खड्का पनि खरो रूपमा उत्रिएका छन् मैदानमा । राजनीति भेटघाटदेखि पहुँचवालासम्म आफ्ना कुराहरू पुर्याइयरहेका खड्कासँग सँस्था हाँक्न भने राम्रै अनुभव छ । यसअघि पनि धेरै पटक यो पदका लागि उनको लगावले राम्रै चर्चा पाइरहेको थियो । यतिबेला युवा पुस्ताका कलाकार सोहित मानन्धर पनि अध्यक्ष पदका लागि कम्मर कसेर लागेका छन् । शहरी विकास राज्यमन्त्री आफ्ना काका रामवीर मानन्धरको साथ र सहयोग मिल्ने विश्वास छ उनमा । त्यसो त उनि नेपाली चलचित्र क्षेत्रको विकास र विस्तारका लागि गतिलै खाका तयार पारेको बताउँछन् ।

यो दौडमा को पछारिने हो या कसले बाजी मार्ने हो ? त्यसो त यो दौडभन्दा बाहिरबाट अरूले नै यो पद झ्याप्प पार्ने त होइन ? जे पनि हुन सक्छ र, पहिले पनि यस्तो नभएको होइन ? अब केही दिनमा नै थाहा हुने छ ।

प्रतिक्रिया दिनुहोस