नजिकको साथी गयोः सुनील पोखरेल

अब्बल अभिनयबाट बलिउडका स्थापित इरफान खान (५३) को बुधबार निधन भयो। भारतको नेशनल स्कूल अफ ड्रामा (एनएसडी) मा सन् १९८४–८७ ब्याचमा पढ्दा इरफानका सहपाठी थिए, रंगकर्मी सुनील पोखरेल।

एनएसडीमा रहँदा सुनील, इरफान, सुतपा सिकदर (इरफानकी श्रीमती) र सुमती मिल्ने साथी थिए। उनीहरूलाई ‘ग्याङ अफ फोर’ भनिन्थ्यो। सुनीलकी जीवनसाथी निशा शर्माको पनि इरफान र सुतपासँग घनिष्टता थियो। ग्याङ अफ फोरका सदस्यमध्ये इरफानको निधन भएपछि पुराना दिनलाई सुनील र निशाले यसरी सम्झिएः

नजिकको साथी गयोः सुनील पोखरेल

एनएसडीमा पढ्ने क्रममा इरफान खानसँग मेरो घनिष्टता बढेको थियो। त्यसवेला उनले फिल्ममा अभिनय गर्न थालेकै थिएनन्। समयक्रममा हामीबीचको आत्मीयता दुवैको पारिवारिक तहमै झांगियो। उनी सन् २०११ मा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा काठमाडौं पनि आएका थिए।

इरफानसँग पछिल्लो पटक सन् २०१४ तिर मुम्बईमा भेट भएको थियो। एनडीटीभी च्यानलले इरफान खानबारे डकुमेन्ट्री बनाउन लागेको थियो। त्यसै क्रममा निकट साथीहरूलाई बोलाउँदा म पनि निम्त्याइएको थिएँ। त्यहाँ जाँदा म उनकै घरमा बसेको थिएँ। त्यही नै अन्तिम भेट बन्यो। त्यसपछि फोनमा कहिलेकाहीं कुराकानी हुन्थ्यो।

सन् २०१८ मा उनी बिरामी भएपछि एक पटक फोनमा कुरा भएको थियो। डाक्टरले उनलाई फोनमा बोल्न बन्देज लगाएका कारण धेरै कुराकानी हुन सकेन। बिरामी हुनुअघि उनी फिल्म सुटिङ गर्न नेपाल आउने कुरा चलिरहेको थियो। तर, स्वास्थ्य बिग्रेपछि त्यो योजना स्थगित भयो।

एनएसडीमा पढ्दा उनकी श्रीमती सुतपा पनि सहपाठी थिइन्। पछिल्लो पटक उनीसँग एक पटक कुरा भएको थियो। मैले भन्दा पनि निशाले सुतप्पासँग कुरा गर्थिन्।

रमाइलो र संवेदनशील व्यक्ति थिए, इरफान। नजिकको साथी गयो।

बिरामी भएपछि आफ्नो लागि पूजा गर्न भन्नुभएको थियोः निशा शर्मा पोखरेल

सुनीलजीको सहपाठी भएकाले इरफानलाई भाईजान र सुतपा सिकदरलाई दिदी भन्थें। मलाई माया गर्ने भाईजान गुमाएँ।

इरफान सन् २०११ नेपाल आउँदा मलाई केही समय बस्ने गरी भारत आउन भन्नुभएको थियो। उता गइसकेपछि पनि फेरि बोलाउनुभयो। त्यसपछि म २०१२ मा गएर करीब डेढ महीना उहाँहरूको घरमा बसेको थिएँ। त्यसपछि झनै उहाँको व्यक्तित्वबाट प्रभावित भएँ। दुवै जना एकदम मिलनसार र साधारण रहनसहनको लाग्यो।

म त्यहाँ रहेकै समयमा इरफानले ‘पान सिंह तोमर’ फिल्मबाट उत्कृष्ट अभिनेताको राष्ट्रिय अवार्ड पाउनुभयो। त्यसैले मलाई ‘तिमी मेरो लक्की चार्म हौ’ भन्नुहुन्थ्यो।

ठूलो कलाकार भए पनि एकदम सादगी व्यक्तित्व थियो इरफान भाईजानको। कत्ति पनि घमण्ड थिएन। खालि आफ्नो काममा केन्द्रित हुने स्वभाव थियो।

इरफान भाईजानले सन् २०१८ मा ट्युमर क्यान्सर पहिचान भएपछि मलाई फोन गरेर आफ्नो लागि पूजा गरिदिन भन्नुभएको थियो। उहाँ पूजाआजामा विश्वास गर्ने व्यक्ति हुनुहुन्थ्यो। मैले उहाँको नाममा पूजा पनि गरेकी थिएँ।

त्यसको केही समयपछि तिमीलाई राम्रो लागेका म्युजिक पठाइदेऊ भनेर मेसेन्जरमा मेसेज गर्नुभएको थियो। मैले केही म्युजिक पठाएकी थिएँ।

पछिल्लो पटक उहाँ बिरामी भएर निको भएपछि फोनमा एक पटक मात्रै कुरा भएको थियो। सुतपा दिदीसँग चाहिं वेलावेला भाईजानको विषयमा कुरा भइरहन्थ्यो। पछिल्लो पटक भाईजानको फिल्म ‘इङ्लिस मिडियम’ रिलिज हुने वेला कुरा भएको थियो।

भाईजानले बेलायतबाट उपचार गराई काममा फर्केपछि अब त ठीक भयो भन्ने सबैलाई लागेको थियो। तर हिजो (मंगलबार) एक्कासी आईसीयूमा भर्ना भएको खबर पाएँ। आज साँझतिर दिदीसँग कुरा गर्ने सोच बनाउँदै थिएँ, अहिले यस्तो नराम्रो खबर सुन्नपर्‍यो।

माया गर्ने भाईजान मात्रै होइन, उत्कृष्ट कलाकार गुमाउनुपर्‍यो। कला क्षेत्रले क्षमतावान् कलाकार गुमायो।

प्रतिक्रिया दिनुहोस