नेकपाभित्र केपी ओलीको खतरनाक चाल, हस्ताक्षर संकलनले खैलाबैला

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को योजनामा आफूलाई प्रधानमन्त्री र अध्यक्ष पदबाट हटाउने तयारी भएपछि केपी शर्मा ओलीले गम्भीर तयारी थालेका छन् ।

पार्टी सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीमा बहुमतले निर्णय गर्दै ओलीलाई हटाउने तयारी भइरहेका बेला ओलीले भने संसदीय दलमा बहुमत पुर्‍याउने रणनीति लिएका छन् ।

प्रधानमन्त्री ओलीले बहुमत जुटाउन सांसदलाई हस्ताक्षर गराउन थालेका छन् । स्रोतका अनुसार बालुवाटारमा खाली कागजमा हस्ताक्षर संकलन भइरहेको छ । त्यो खाली कागजमा भइरहेको हस्ताक्षर जुनसुकै प्रयोजनमा समेत प्रयोग गर्न सकिने भएकाले ओलीको तयारीलाई खतरनाक रुपमा लिइएको छ ।

पार्टीमा प्रचण्डसँग बहुमतको लडाइँ चलिरहेका बेला ओलीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदलाई हस्ताक्षर गराइरहेका छन् । बुधवार दिउँसोसम्ममा दुबै सदनका गरेर ६४ जना सांसदले हस्ताक्षर गरिसकेका स्रोतले जनाएको छ । ओलीले साँझ सचिवालय बैठकअघि बहुमत सांसदको हस्ताक्षर जुटाउने रणनीति लिएका छन् । सांसदलाई बालुवाटार बोलाउने र हस्ताक्षर गराउने काम चलिरहेको जनाइएको छ ।

ओलीले बुधवार साँझ ५ बजेको सचिवालय बैठकमा आफ्नो पक्षमा बहुमत देखाउन सांसदलाई हस्ताक्षर गराइरहेका स्रोतको दाबी रहेको छ । आन्तरिक विवाद र पछिल्लो घटनाक्रमको विषयमा छलफलका लागि साँझ ५ बजे सचिवालय बैठक बस्दैछ ।

कतिपयले ओलीको हस्ताक्षर अभियानलाई पार्टी फुटाउने अभ्याससम्म प्रचार गर्न थालेका छन् । केही दिनअघि ओलीले ४० प्रतिशत सांसद पुर्‍याउन सकेको अवस्थामा पार्टी फुटाउन सकिने अध्यादेश ल्याएका थिए । नेकपा संसदीय दलमा ओलीको ४० प्रतिशत सहजै पुग्छ । आफू प्रधानमन्त्रीबाट हट्ने अवस्थामा ओलीले ४० प्रतिशतको व्यवस्था प्रयोग गरेर पार्टी फुटाउनेसम्मको अभ्यास गर्नसक्ने स्रोतको विश्लेषण छ ।

पछिल्लो समय नेकपाभित्रको आन्तरिक विवादले जटिल मोड लिँदै गएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेश जारी तथा फिर्ता प्रकरणपछि पार्टीभित्र ओली विरुद्धको मत बलियो बनेको छ । ९ जना रहेका सचिवालयमा ६ जनाले उपाध्यक्ष वामदेव गौतम निवासमा छलफल गरेर ओलीविरुद्ध रणनीति बनाएका थिए ।

ओलीको विकल्प खोज्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम सबै एकै ठाउँमा उभिएका छन् । स्थायी कमिटीको बैठक बोलाउन र त्यसमै ओलीको विकल्पबारे छलफल गर्न प्रचण्ड, माधव, झलनाथ र गौतम समूह सक्रिय भएपछि ओली स्थायी कमिटीलाई टारेर संसदीय दलतिर ढाल्ने रणनीति लिएका छन् ।

प्रतिक्रिया दिनुहोस