कोरोनालाई चुनौती दिँदै जनकपुरवासी

जनकपुरधाम : कोरोनाभाइरसको महामारीबाट बच्न विश्वव्यापी रुपमा लकडाउन र सामाजिक दूरी बाहेक अन्य कुनै विकल्प नरहेको सर्वविदित छ ।

तर, प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा लकडाउन र सामाजिक दूरीको पूर्ण पालना अझै पनि हुनसकेको छैन ।

सरकारले लकडाउन गर्नुको पछाडी कोरोना संक्रमण बढ्न नदिन सामाजिक दूरी कायम गराउनु हो । यद्यपि यहाँका कतियौं स्थानमा लकडाउनको उल्लंघनसँगै सामाजिक दूरीकोसमेत धज्जी उडाइएको पाइएको हो ।

जसको प्रत्यक्ष उदाहरण स्वरुप जनकपुरधामस्थित बिभिन्न स्थानहरुमा अहिलेपनि दैनिक रुपले लाग्ने हाट बजारलाई लिन सकिन्छ । जनकपुरधाम उपमहानगरपालिका–७ स्थित पेठिया बजारमा हरेक दिन सयौं मानिसको भीड हुन्छ । त्यहाँ लकडाउनको कुनै मापदण्ड पालना नै गरिँदैन । त्यस ठाउँमा लाग्ने हाटमा सयौं मानिस एकै ठाउँमा जम्मा भएर किनमेल गर्छन् । त्यो भीडभाड न त स्थानीय प्रशासनले रोक्न सक्यो न त जनप्रतिनिधिले नै । बेलाबखतमा प्रहरी पुगेर लकडाउन कार्यान्वयन गराएको जस्तो देखाए पनि कडाई भने गर्न सकेको छैन ।

कोरोनाको संक्रमणबाट मानिसमा त्रास फैलिएको यस संकटपूर्ण अवस्थामा यसको नियन्त्रणका लागि भीडभाडमा जाँदा मास्क लगाउनुपर्ने र सामाजिक दूरी कायम गर्नुपर्ने हुन्छ । तर यहाँ अहिलेपनि दैनिक सयौं व्यक्तिहरु सामाजिक दूरीको कुनै ख्याल नगरेको सहजै हेर्न सकिन्छ ।

स्थानीय गणेश साहले भने, ‘मैले मौखिक रुपमा सम्बन्धित निकायलाई जानकारी गराउँदा पनि डेढसय देखि दुईसय जनाभन्दा माथीको भीड यहाँ दैनिक देखिन्छ । त्यहाँ रहेकाहरु प्रायः बिना मास्कका हुन्छन् त्यसमाथि पनि सामाजिक दूरीको त कुनै ख्याल नै हुँदैन कसैलाई ।’

पेठिया बजारलाई व्यवस्थित बनाउन उनले प्रहरी प्रशासन र व्यापार संघलाई आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस