बाबुरामविरुद्ध उजुरी दर्ता गर्न अनेरास्ववियूका विद्यार्थी नेताहरु सरकारी वकिलको कार्यालय पुगे

काठमाडौं :- सत्तारुढ दल नेकपाका युवा विद्यार्थी नेताहरु पनि नवगठित जनता समाजवादी पार्टी, नेपालका शीर्ष नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध साइबर अपराध सम्बन्धी जाहेरी दर्ता गर्न सरकारी वकिलको कार्यालय, काठमाडौं पुगेका छन् । यसअघि उनीहरु डा. भट्टराई लगायतका नेताविरुद्ध काठमाडौं प्रहरीसमक्ष जाहेरी दर्ता गर्न गएका थिए ।

डा.बाबुराम भट्टराई, हिसिला यमी, विश्वदीप पाण्डे र आङकाजी शेर्पाले विद्युतीय माध्यमबाट आफ्ना नेताहरुको चरित्र हत्या गरेको भन्दै युवासंघ र अनेरास्ववियूका नेताहरु साइबर अपराधमा कारबाही गरिपाउँ भनी जाहेरी लिएर टेकु पुगेका थिए । तर, महानगरीय प्रहरी परिसर टेकुले यो विषयमा साइबर अपराधभन्दा पनि गाली बेइज्जतीसम्बन्धी ऐन आकर्षित हुने भन्दै उनीहरुलाई सरकारी वकिलमार्फत अदालतमा जान सुझाएको थियो ।

युवा संघका केन्द्रीय सदस्य सन्जिवकुमार झा र अनेरास्ववियुका नारायण घर्तीले सामाजिक सन्जालबाट अफवाह फैलाएर व्यक्तिको चरित्रहत्या गरेको भन्दै साइबर अपराधमा जाहेरी दर्ता गर्न टेकु पुगेका थिए । सोहीअनुसार उनीहरु आज सरकारी वकिलको कार्यालयमा पुगेका हुन् । स्रोत रिपोर्टर्स नेपाल

प्रतिक्रिया दिनुहोस