लकडाउन बढाउन सरकारले थाल्यो भित्रभित्रै तयारी

काठमाडौं – कोरोना भाइरस संक्रमण रोकथामका लागि वैशाख १५ गतेसम्म जारी लकडाउनलाई लम्ब्याउने तयारी सरकारले भित्रभित्रै सुरू गरेको छ ।

शनिबारको मन्त्रिपरिषद् बैठकले लकडाउनबारे सुझाव दिन कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देश गरेको थियो ।

मन्त्रिपरिषद्को निर्देश अनुसार शनिबार बसेको समितिको बैठकले लकडाउन थप १ साता बढाउनुपर्ने सुझाव दिएको छ । समितिको सुझावका आधारमा आगामी मन्त्रिपरिषद्को बैठकबाट औपचारिक निर्णय भएर सार्वजनिक गरिने भएको छ ।

समितिले लकडाउन प्रभावकारी भएका कारण कोरोना नियन्त्रण प्रयास सही ट्रयाकमा रहेको निष्कर्ष समेत निकालेको छ । बैठकमा केही हिमाली जिल्लामा लकडाउन खुला गर्ने, क्षेत्रगत रुपमा खुकुलो बनाउने लगायतका विकल्प समेत छलफल भएको छ ।

समितिको राय बोकेर समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित मन्त्रीहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । समितिले प्रधानमन्त्री ओलीलाई कार्यदलको राय र बैठकमा आएका विकल्पबारे जानकारी गराएका छन् ।

प्रधानमन्त्री ओलीले भने भारतमा संक्रमण नियन्त्रण नभएसम्म नेपालमा लकडाउन जारी रहने दाबी गर्दै आएका छन् । भारतमा कोरोना संक्रमितको संख्या हरेक दिन बढ्दै गइरहेको छ ।

लकडाउनकै कारण देशमा कोरोना भाइरस नियन्त्रणको प्रयास प्रभावकारी भएको निष्कर्ष निकालेको छ । समिति बैठकमा भने केही क्षेत्रमा लकडाउन खुकुलो बनाउने विषयमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस