भोजपुरका एक जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ४८ पुग्यो

काठमाडौं :- भोजपुरका एक जनामा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २६ वर्षीय पुरुषमा बिहीबार कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समिर अधिकारीले जानकारी दिए । बिहीबारसम्ममा १० जना डिस्चार्ज भएका छन् । अरुको विभिन्न अस्पतालमा उपचार चलिरहेको छ । यो सँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ पुगेको छ ।
यसअघि बिहीबार नै १४ वर्षीय बालक र ५५ वर्षीय महिलामा कोरोना पोजिटिभ देखिएको पुष्टि भएको थियो ।

बिहीबार ललितपुरको पाटन अस्पतालमा उपचार दुईजना कोरोना जितेर डिस्चार्ज भएका छन्। पाटन अस्पतालमा उपचाररत कागेश्वरी मनोहरा नगरपालिका ९ पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका ५८ वर्षीय पुरुष र ८१ वर्षीय महिला स्वास्थ्य लाभ गरी डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनीहरु चैत्र ५ गते बेलायतबाट काठमाडौं आएका थिए। त्यसैगरी बिहीबार नै धनगढीको सेती अस्पतालमा उपचार गराइरहेकी ६५ वर्षीया महिलासमेत ११ दिन उपचार गराएर डिस्चार्ज भएकी छन् ।

आरडीटी प्रविधिबाट परीक्षण गर्दा उक्त अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनामा कोरोना संक्रमण देखिएको थियो। पुन: परीक्षण गराउँदा दुई जनामा मात्र संक्रमण देखिएपछि पाटन अस्पतालमा भर्ना गरिएको थियो ।

उनीहरुलाई मूलपानीस्थित नगर अस्पतालका सुरक्षाकर्मी र सेनाको टोलीले र्‍यापिड टेस्ट प्रविधिमार्फत परीक्षण गरेको थियो। नमूना रिपोर्टमा पोजेटिभ देखिएपछि पुन: परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएको थियो।

नेपालमा डिस्चार्ज हुनेको संख्या दिनप्रति दिन बढिरहेको छ। बिहीबार तीन जनाको डिस्चार्ज भएसँगै निको हुनेको संख्या १० पुगेको छ। हालसम्म डिस्चार्ज हुनेमा काठमाडौंका ३ धादिङका १, बागलुङका १ र धनगढीका चारजना रहेका छन्। एकजना फागुन महिनामै डिस्चार्ज भइसेका छन्।

कोरोना भाइरस आशंकामा पीसीआर र आरडीटी विधिबाट ४३ हजार ७ सय २२ को नमुना परीक्षण गरिएको छ। गत २४ घन्टामा ३ हजार ३ सय ५ नयाँ नमुना परीक्षण गरिएको छ।

सबै प्रदेशबाट आरडीटी परीक्षण भइरहेको छ। प्रदेश १ मा ३ हजार ५ सय ९२, प्रदेश २ मा ४ हजार ५ सय २९, बागमतीमा ६ हजार १ सय ५५, गण्डकीमा ४ हजार ५सय ५५, प्रदेश ५ मा २ हजार ७ सय ५६, कर्णालीमा ४ हजार ७ सय ३५ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ८ सय ३५ वटा नमुना परीक्षण गरिएको छ।

प्रतिक्रिया दिनुहोस