राहत वितरणलाई श्रमसँग जोड्दै : तुलसीपुर उपमहानगरपालिका

दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिकाले दोस्रो चरणको राहत वितरणलाई श्रमसँग जोड्ने भएको छ ।
राहत लिनेलाई श्रममा लगाउनेगरी श्रम बैंक स्थापना गर्ने तयारी गरेको नगरप्रमुख घनश्याम पाण्डेले नेपालयन खबरलाई जानकारी दिए ।

कार्यपालिकाको ८४ औँ बैठकले दोस्रो चरणमा राहत लिनेलाई श्रममा लगाउने निर्णय गरेको छ । ‘दोस्रो चरणको राहतलाई फरक ढङ्गले अगाडि बढाउने निर्णय भएको छ,’ नगर प्रमुख पाण्डेले भने, ‘अब राहत लैजानेले त्यो बराबरको श्रम गर्नुपर्ने छ ।’

राहातलाई विकाससँग जोड्न योजनाअनुसारको काम थालिएको उपमहानगरपालिकाले जनाएको छ । पहिलो चरणमा ६ हजारभन्दा बढीलाई राहत वितरण गरेको र अब राहत वितरण र रोजगारलाई सँगै अगाडि बढाउने योजना उपमहानगरपालिकाको छ ।

यो योजनाअनुसार विपन्नलाई राहत दिने र त्यस बापत वडाका विभिन्न विकासका काममा उनीहरुलाई लगाउने भएको छ । श्रम बैंकलाई सञ्चालन गर्नका लागि वडाध्यक्षको संयोजकत्वमा वडा वडामा श्रम समिति निर्माण गर्ने निर्णय पनि भएको छ ।

त्यो समितिले कामसँगै खाद्यान्न उपलब्ध गराउने छ । नागरिक भोकै नरहुन् र काम पनि पाउन् भन्नका लागि यस्तो योजना अगाडि बढाइएको जनाइएको छ । अशक्त र ज्येष्ठ नागरिकले राहतबापत श्रम बैंकमा काम गर्नुपर्ने छैन ।

प्रतिक्रिया दिनुहोस