कतारमा नेपालीको चिन्ता , कोरोनाले छोइहाल्यो भने के गर्ने होला

कतारमा सङ्क्रमितको सङ्ख्या दिनदिनै बढिरहेको छ । दैनिक चारदेखि पाँच सयको हाराहारीमा सङ्क्रमित बढिरहेका छन् । यसले गर्दा यहाँको बसाई निकै नै जोखिमपूर्ण बनेको छ ।

यहाँ सीमित औधोगिक क्षेत्रबाहेक बाँकी सबै ठाउँमा काम भइरहेको छ । पूर्णरुपमा लकडाउन नहुँदा हामी असुरक्षित महसुस गरिरहेका छौं ।

म एक खाद्य कम्पनी (फुड इण्डष्ट्री)मा काम गर्छु । यहाँ कोरोना सङ्क्रमणबाट जोगिन मास्क र पञ्जाबाहेक अन्य कुनै स्वास्थ्य सुरक्षाका उपाय अपनाइएका छैनन् ।

मार्केटभित्र काम भएकाले विभिन्न देशका धेरै मानिसहसँग सम्पर्कमा नआइ हुँदैन । काममा नगएर घरमै बस्यो भने कामबाट निकालिने डर छ । केही दिन बिदामा बस्छौं भन्दा कम्पनीले बिदा दिंदैन । कम्पनीले अहिले बिदा मिल्दैन भन्छ ।

अहिले त हामी जसोतसो गरेर काम गरिरहेका छौं । तर कतै भाइरसले छोइहाल्यो भने के गर्ने होला भनेर चिन्ता भइरहन्छ ।

यहाँको सरकारले त नियम पालनाका कुरा गर्छ । तर कम्पनीहरुले केही पनि पालना नगरेको देखिन्छ । सामाजिक दूरीको पालना गरेको देखिंदैन । यस्तै हो भने भोलि झन् गाह्रो हुने पक्का छ ।

कतारमा पछिल्लो अवस्था :

सङ्क्रमित सङ्ख्या : पाँच हजार ४४८ ज‍ना ।

निको भएर घर फिरेकाहरु : ५ सय १८ जना ।

अस्पतालमा उपचाररत : ४ हजार ९२२ जना ।

मृतकको सँख्या : ८ जना ।

दूतावासकाेआग्रह :

सम्भव भएसम्म सार्वजनिक स्थान र भिडभाडमा नजानुहोस् । भेटघाट गरेर भलाकुसारी गर्नुको साटो कुराकानीका लागि मोबाइल तथा एपको प्रयोग गर्नुहोस् ।

कोरोना भाइरसका कारण उत्पन्न परिस्थितीले कतारमा कार्यरत श्रमिकलाई कुनै समस्या परे सम्पर्क गर्न कतारले ९२७२७ नम्बरको हटलाइन व्यवस्था गरेकाे छ । याे नम्बरमा सर्म्पक गरेर समस्या राख्ननुहाेस् ।

बाहिर निस्कंदा सावधानी अपनाउनुहोस् । कतार सरकारले निषेध गरेको ठाउँमा नजानुहोस् ।

कतारले कोरोना सङक्रमण रोकथामका लागि मस्जिदहरुको बाहिर, घरमा कुनै पनि प्रकारको सामाजिक समारोह, जमघट, सामाजिक भेटघाट, समवेदना तथा श्रदाञ्जली सभा, समुद्री किनार तथा तटमा जान, कर्नेश एरिया, सार्वजनिक पार्कहरुमा जान तथा भेटघाट गर्न प्रतिबन्ध लगाएको छ ।

कुनै स्वास्थ्य समस्या देखिए वा कोरोना भाइरसबारे जानकारी पाउनासाथ कतारको स्वास्थ्य मन्त्रालयको हटलाइन नम्बर १६००० मा फोन गर्नुहोस् । कोरोना सङ्क्रमण देखिएमा निःशुलक उपचार हुन्छ ।

कोरोनाको कारण अलग बस्दा, क्वारेण्टीनमा बस्दा वा उपचारमा रहँदा पनि कतारले सबै श्रमिकलाई आधारभूत तलब र भत्ता दिनेछ ।

प्रतिक्रिया दिनुहोस