अलपत्र परेका विद्यार्थीलाई उद्धार गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौँ : अखिल (क्रान्तिकारी) ले लकडाउनका कारण सबभन्दा बढी विद्यार्थी मारमा परेकाले उद्धार र राहत उपलब्ध गराउन माग गरेको छ । कोठामा एक छाक खाने सामान नभएपछि हिँडेरै घर जान बाध्य भएको बताउँदै अखिल क्रान्तिकारीले उनीहरूलाई गन्तव्यसम्म पुर्याउन पनि माग गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का उपत्यका विशेष क्षेत्रीय समन्वय समिति संयोजक हर्कबहादुर विकले शनिबार विज्ञप्ति जारी गरी अनिश्चितकालीन लकडाउनका कारण एसईई, कक्षा ११ र १२ का विद्यार्थीहरूमा ठूलो अन्योल उत्पन्न भएको बताउँदै अनलाइन कक्षा सञ्चलान गर्न माग गरेका छन् ।

“अनिश्चितकालीन लकडाउनका कारण विशेषगरी एसईई, कक्षा ११ र १२ का विद्यार्थीहरूमा ठूलो अन्योल उत्पन्न भएको छ । ती विद्यार्थीहरूका लागि अनलाइन कक्षा सञ्चालन गरिनुपर्दछ । साथै विद्यालय तथा विश्वविद्यालय तहका विद्यार्थीहरूका लागिसमेत अनलाइन कक्षा सञ्चालन गर्न सम्बन्धित पक्षको जोडदार माग गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।

त्यसैगरी संयोजक विकले सरकारले घोषणा गरेको राहत प्याकेज अपर्याप्त भएको र वास्तविक पीडितसम्म नपुगेकै कारण रातारात विद्यार्थी र मजदुर गाउँतिर हिँड्न बाध्य भएको बताएका छन् । उनले वास्तविक पीडितलाई राहत उपलब्ध गराउनसमेत माग गरेका छन् ।

“जारी लकडाउनका कारण दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदुरहरू, न्यून तलबमा रोजगारी गर्ने श्रमिकहरू र डेरावाल विद्यार्थीहरू सबैभन्दा बढी मारमा परेका छन् । सरकारद्वारा घोषित राहत प्याकेज अपर्याप्त त छ नै, त्यो पनि वास्तविक पीडितसम्म पुगेको छैन । तसर्थ वास्तविक पीडितलाई, मारमा परेकाहरूलाई यथाशक्य छिटो राहत उपलब्ध गर्न–गराउन सरकारसँग जोडदार माग गर्दछौँ । साथै कोठामा खाने जोहो नभएपछि साता दिनसम्म भोकभाकै राजधानीबाट हिँडेर विद्यार्थी र मजदुरहरूलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउनसमेत माग गर्दछौँ”, विज्ञप्तिमा भनिएको छ ।

काठमाडौँमा समस्या परेका विद्यार्थीहरूलाई सहयोग गर्न सङ्गठनले तीनवटै जिल्लामा कार्यकर्ता परिचालन गरिसकेको समेत बताएका छन् ।
विकले सङ्कटको बेला पनि ओम्नी समूहसँग मिलेर स्वास्थ्य सामग्रीमा भ्रष्टाचार गर्न खोज्ने मन्त्री र कर्मचारीमाथि अनुसन्धान गरी कारबाही गर्न अख्यितार दुरुपयोग अनुसन्धान आयोगसँग माग गरेका छन् ।

कोरोना भाइरसको वैज्ञानिक समाधान नभएसम्म उच्च संयम र सतर्कता अपनाउनु एक मात्र विकल्प भएको बताउँदै उनले धैर्यपूर्वक लकडाउनको पालना गर्न सबैलाई अपिल गरेका छन् । त्यसैगरी विदेशी भूमिबाट फर्किन खोज्नेलाई फिर्ता ल्याई क्वारेन्टाइनमा राख्न, नेपाल–भारत सीमा क्षेत्रमा अलपत्र परेका नेपालीको उद्धार गरी व्यवस्थापन गर्न अखिल (क्रान्तिकारी) ले माग गरेको छ ।

विज्ञप्ति

कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण हाल विश्व लकडाउनमा छ । विश्वव्यापी स्वास्थ्य सङ्कटकालको घोषणा गरिएको छ । कोरोना भाइरसको वैज्ञानिक समाधान नभएसम्म उच्च संयम र सतर्कता अपनाउने कुरा एक मात्रै विकल्प हो । यस सङ्कटको घडीमा धैर्यपूर्वक लकडाउनको पालना गर्न सङ्गठन सबैलाई विशेष अपिल गर्दछ ।

चीनको वुहानबाट कोरोना भाइरसको उत्पत्तिसँगै विश्वव्यापी सङ्क्रमण फैलिरहेका बेला नेपाल सरकारले न्यूनतम् सतर्कतासमेत अपनाउन चाहेन । परिणामस्वरूप हाल नेपालले सङ्क्रमणको उच्च जोखिम बेहोरिरहेको छ । यता सरकारका उपप्रधानमन्त्री र स्वास्थ्यमन्त्रीद्वारा सङ्कटको यो घडीमा समेत ओम्नी समूहसँगको मिलोमतोमा स्वास्थ्य सामग्री खरिदमा करोडौँ घोटाला गर्ने गरिएको छ । विभिन्न पक्षको व्यापक दबाबपछि उक्त घोटाला बचावटका लागि नेपाली सेनालाई ढाल बनाएर सरकारी भ्रष्टाचारको विषयान्तर गरिएको छ । हाम्रो सङ्गठन यस्तो निच र घृणित कार्यको घोर भत्र्सना गर्दै भ्रष्ट मन्त्रीहरूको बर्खास्तीसँगै संलग्न सरकारी कर्मचारीहरू, बिचौलिया ओम्नी समूहमाथि अविलम्ब छानबिन गरी कडा कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष ध्यानाकर्षण गराउँछ ।

हाल जारी लकडाउनका कारण दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदुरहरू, न्यून तलबमा रोजगारी गर्ने श्रमिकहरू र डेरावाल विद्यार्थीहरू सबैभन्दा बढी मारमा परेका छन् । सरकारद्वारा घोषित राहत प्याकेजसमेत अपर्याप्त छ नै, त्यो पनि लकडाउनको मारमा परेका वास्तविक पीडितसम्म पुगेको छैन । तसर्थ वास्तविक पीडितलाई यथाशक्य छिटो राहत उपलब्ध गर्न–गराउन सरकारसँग जोडदार माग गर्दछौँ । साथै कोठामा खाने जोहो नभएपछि साता दिनसम्म भोकभाकै राजधानीबाट हिँडेर हजारौँ मजदुरहरू र विद्यार्थीहरू आफ्नो घर गइरहेका छन् । पैदल यात्रा गरेर घर गइरहेका र जान चाहने सबैलाई निःशुल्क गाडीको व्यवस्था, खानपिन, स्वास्थ्य परीक्षण र औषधिउपचारको व्यवस्था गर्न सरकारसँग जोडदार माग गर्दछौँ ।

रोजगारीका लागि विदेशमा रहेका कैयौँ नेपालीहरू स्वदेश आउन गुहार मागिरहेका छन् । ती नेपालीहरूलाई सरकारद्वारा निःशुल्क रूपमा स्वदेश फिर्ता ल्याई क्वारेन्टाइनमा राखिनुपर्दछ । यसैगरी भारतबाट फर्केर सिमानमा अलपत्र परेका नेपालीहरूलाई तत्काल उद्धार गरी उचित व्यवस्थापन गर्न विशेष माग गर्दछौँ ।

महामारीको यस जोखिमपूर्ण अवस्थामा स्वास्थ्य सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मीहरू, अत्यावश्यक काममा निस्केका मानिसहरू, सूचना सङ्कलनमा खटेका सञ्चारकर्मीहरूमाथि प्रहरीद्वारा आपराधिक शैलीमा निर्मम कुटपिट र अभद्र व्यवहार भइरहेका घटना सार्वजनिक भएका छन् । यस्ता निन्दनीय कार्यहरू तत्काल रोक्न प्रहरी प्रशासनको विशेष ध्यानाकर्षण गराउन चाहन्छौँ ।

अनिश्चितकालीन लकडाउनका कारण विशेषगरी क्भ्भ्, कक्षा ११ र १२ का विद्यार्थीहरूमा ठूलो अन्योल उत्पन्न भएको छ । ती विद्यार्थीहरूका लागि अनलाइन कक्षा सञ्चालन गरिनुपर्छ । साथै बिद्यालय तथा विश्वविद्यालय तहका विद्यार्थीहरूका लागिसमेत अनलाइन कक्षा सञ्चालन गर्न सम्बन्धित पक्षको जोडदार माग गर्दछौँ ।

अन्त्यमा राजधानीमा अलपत्र परेका मजदुरहरू र समस्यामा रहेका विद्यार्थीहरूलाई हाम्रो सङ्गठनका तर्फबाट आवश्यक सहयोग गर्न उपत्यकाअन्तर्गतका सबै जिल्लाहरू परिचालित भइरहेको बेहोरा सबैमा अवगत गराउन चाहन्छौँ । साथै समस्यामा रहेका विद्यार्थीहरू, मजदुरहरूलगायतले आवश्यक सहयोगका निम्ति हाम्रो सङ्गठनका विभिन्न एकाइ तथा जिल्लाहरूसँग सम्पर्क गर्नसमेत विशेष जानकारी गराउँछौँ ।
क्रान्तिकारी अभिवादनसहित ।

प्रतिक्रिया दिनुहोस