कोरोना भाइरसबाट विश्वभरी २० नेपालीको मृत्यु, ७०० बढी संक्रमित (मृतकको नामावलीसहित)

काठमाडौं :- विश्वव्यापी महामारी (प्यान्डेमिक) कोरोना भाइरस (कोभिड–१९)का कारण विश्वभरीमा २० नेपालीको मृत्यु र ७०० भन्दा बढी संक्रमित भएका छन् । मृत्यु हुनेमा बेलायतमा ११, संयुक्त राज्य अमेरिकामा ८ र संयुक्त अरब इमिरेट्स (युएइ) मा १ जना छन् ।

अप्रिल १६, २०२० सम्मको तथ्यांकअनुसार अप्रिल १५ बुधवार एकैदिन ४ नेपालीको बेलायतमा र २ नेपालीको अमेरिकाको न्युयोर्कमा मृत्यु भएसँगै मृतक नेपालीहरुको संख्या २० पुगेको हो ।

उक्त दिन बेलायतमा भुतपुर्व गोर्खा सैनिकहरू हरिमान तामाङ (८२), हस्तवीर गुरुङ (७८), लक्ष्मण श्रेष्ठ (५८) र उमेर नखुलेका घनवीर थापाको मृत्यु भएको थियो ।

लन्डन हिलिङडन बरो निवासी हरिमान तामाङको मुलघर हात्तीखर्क, धनकुटा थियो । उनलाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो र त्यहीं उनको देहावसान भयो । उनी पत्नी, छोरी र ज्वाईंसँग बस्थे । उनका छोरा अस्ट्रेलियामा छन् ।

यसैगरी, हस्तवीर गुरुङ्ग नुनेटन, वार्विकशायरका निवासी थिए, जसको मुलघर तनहुँ थियो । उनलाई अप्रिल ५ मा जर्ज इलियट अस्पतालमा भर्ना गरिएको थियो । उनी छोरी–ज्वाईंसँग बेलायतमै बस्थे ।

स्याङ्जा मुलघर भएका लक्ष्मण श्रेष्ठ दक्षिण पुर्वी लन्डनको प्लम्स्टेडमा पत्नी, एक छोरा र तीन छोरीहरुसँग बस्थे । लन्डनको गाइज अस्पतालमा उपचारको क्रममा उनको मृत्यु हुन गयो ।

पाल्पा मुलघर भएका घनवीर थापा लन्डनमै बस्थे र उपचारको क्रममा उनको समेत मृत्यु हुन पुग्यो ।

संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा सोही दिन २ नेपालीको मृत्यु भयो । मृतकहरु ४४ वर्षीय पवन कुमार मल्ल र ७० वर्षीय महेश अमात्य छन् ।

मल्ल विगत तीन हप्तादेखि बिमारी थिए । एकचोटी स्थानीय अस्पतालमा आफैं गएर भर्ना हुन खोजेका थिए तर सीमित स्थानको कारण देखाइ उनलाई भर्ना लिइएको थिएन ।

पछि उनको लागि रुममेटहरुले एम्बुलेन्स बोलाइदिए तर उनी अहिले म ठिकै छु भनी जान मानेनन् । उक्त घटना भएको भोलिपल्ट विहान मल्ल वुडसाइड, क्वीन्स्को आफ्नै कोठामा मृत अवस्थामा फेला परेका थिए ।

सोही दिन न्युयोर्कको रिजउड, ब्रुकलिन निवासी महेश अमात्यको पनि जमैका अस्पतालमा कोरोना भाइरसका कारण निधन भयो ।

रिजउड नेपाली समाजका अनुसार अमात्यको अन्तिम दाहसंस्कारको निम्ति व्यक्तिगत सम्पर्क एवम् ‘गो फन्ड मी’ वेबसाइटका माध्यमबाट रकम संकलन गर्ने कार्य यो समाचार तयार पारुन्जेलसम्म भइरहेको थियो ।

संयुक्त अरब इमिरेट्स (युएइ) मा मृत्यु हुने नेपालीमा एक जना महिला छिन् । उनी ४० वर्षीया बिनु पराजुली रहेको जानकारीमा आएको छ र उनी घरेलु सहायकका रुपमा कार्यरत थिइन् ।

विदेशमा रहेका नेपालीहरु मध्ये अमेरिका र बेलायतका नेपालीहरु कोरोनाभाइरसको विश्व महामारीबाट अत्यन्त बढी प्रभावित छन् । बेलायतमा खासगरी राजधानी लन्डन क्षेत्र एवम् अमेरिकामा खासगरी न्युयोर्क राज्यका नेपालीहरु बढी प्रभावित छन् ।

अमेरिका, बेलायत, युरोपका अन्य देश, एसिया र मध्यपुर्वका अन्य देशहरुमा समेत गरी ७०० भन्दा बढी नेपालीहरु संक्रमित भइसकेको तथ्य बाहिर आएको छ ।

यसैबीच, नन्–रेसिडेन्ट नेपाली एसोसिएसन, अमेरिका च्याप्टरका अध्यक्ष सुनील साहले सबै नेपालीहरुलाई संकटको यस घडीमा धैर्यधारण गर्न र सुरक्षित रहन अनुरोध गरेका छन् ।

‘कोरोना भाइरसका कारण नेपाली समुदायमा मृतक र संक्रमितहरुको संख्या बढ्दै जानु एक गहन चिन्ताको विषय र अपुरणीय क्षति हो । यस सन्दर्भमा म सबैलाई धैर्य धारण गर्न, सामाजिक दुरी कायम गर्न र घरमै बस्न हार्दिक अनुरोध गर्दछु,’ साहले भनेका छन् ।

बेलायतमा मृतक नेपालीहरुको सूची (संख्या ११)
– हरिमान तामाङ
– हस्तवीर गुरुङ
–लक्ष्मण श्रेष्ठ
– घनवीर थापा
– मेष बहादुर गुरुङ
– याम बहादुर मल्ल
– चेत प्रसाद गुरुङ
– शिव श्रेष्ठ
– कर्ण वहादुर क्षेत्री
– लीला बहादुर राई
– प्रशान्त अर्याल

अमेरिकाका मृतक नेपालीहरुको सूची (संख्या ८)
– महेश अमात्य
– पवन कुमार मल्ल
– राजकुमार थापा
– निमा तेम्बा शेर्पा
– सोनाम लामा
– थोक्मे विष्ट
– अजयमान छोंचु
– अनिल लिम्बु

संयुक्त अरब इमिरेट्स (युएइ) मा मृतक नेपालीको सूची (संख्या १)
– बिनु पराजुली

प्रतिक्रिया दिनुहोस