लकडाउनको कार्यान्वयनमा थप कडाइ

काठमाडौं :- काठमाडौंमा समेत कोरोना संक्रमित देखिएपछि सरकारले लकडाउनको कार्यान्वयनमा थप कडाइ गरेको छ । बिहीबार २४ औं दिनमा लकडाउनलाई थप कडाई गरिएको छ । जरुरी कामबिना सडकमा निस्कने र लक डाउन आदेशको उलंघन गर्नेलाई सम्बन्धित स्थलमै नियन्त्रणमा लिने र होल्ड गर्ने अभियानलाई तीव्र बनाइएको छ ।

राजधानी प्रवेश गर्ने सबै सम्भावित नाकामा सुरक्षा जाँच र गस्तीलाई थप कडा तुल्याइएको छ । लकडाउन कार्यान्वयनलाई थप प्रभावकारी बनाउन गस्ती र सुरक्षा जाँच बढाइएको महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआईजी विश्वराज पोखरेलले जानकारी दिए ।

यसअघि बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्स्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरेको थियो ।
उपत्यकाका मुख्यमुख्य चोक कोटेश्वर, जडिबुटी, जगाती, बल्खु, बानेश्वर , कालिमाटी , कलंकी , गौशाला , चाबहिल लगायतबाट लकडाउन उलंघन गर्नेलाई नियन्त्रणमा लिइएको छ । उपत्यकामा अहिले तीनवटै सुरक्षा निकायका १५ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका छन् ।

प्रतिक्रिया दिनुहोस