गाउँपालिका अध्यक्षद्वारा नै लकडाउनको उल्लंघन

जनकपुरधाम :- विश्वव्यापी महामारीको रुपमा निरन्तर फैलिरहेको कोरोनाभाइरसको संक्रमणबाट जोगिन सरकारले देशभर गत चैत ११ गतेदेखि लकडाउन गरेको छ । सरकारले सर्वसाधारणलाई लकडाउनको पालना गराउन स्थानीय प्रशासन एवं जनप्रतिनिधिलाई आग्रह गरेको छ । तर महोत्तरीमा भने निर्वाचित जनप्रतिनिधिले नै लकडाउनको उल्लंघन गरेको देखिएको हो ।
लकडाउनको अवधिमा अत्यावश्यक काम बाहेक सबैलाई घरभित्र बस्न सरकारले आह्वान गर्दै आएपनि महोत्तरीको महोत्तरी गाउँपालिकाका अध्यक्ष सुनिल कुमार रायले लकडाउनको अवस्थामा सुन्दर काण्ड,भोज भतेर एवं DJ लाउड स्पिकर बजाएर गाउँपालिका प्रमुख जस्तो गरिमामय पदको धजिया उडाएका छन् ।
अहिले विश्व नै कोरोनाबाट त्रसित रहेको अवस्थामा नेपाल पनि प्रभावित देखिएको हो । प्रदेश सरकारद्वारा गरिब, विपन्न र असहायका लागि राहत सामग्री वितरण गर्न उपलब्ध गराइएको रकमबाट अहिलेसम्म पालिका प्रमुख र वडा अध्यक्षहरुले राहत वितरण समेत गरेका छैनन् ।
अध्यक्ष रायलाई आफ्नो पालिकाको जनताको कुनै चिन्ता नभई भोज भतेर र DJ लाउड स्पिकर बजाउनबाट फुर्सद नरहेको सोही गाउँपालिका वडा नम्बर–१ का छेदी चौधरीले आरोप लगाए ।
अध्यक्ष रायले यस संकटको घडीमा पनि स्थानीयको स्वास्थ्यको कुनै खयाल नगरि आफ्नो छोरीको बिहेको मटकोरमा डिजे साउण्ड पुरै गाउँभर घुमाएको स्थानीय दिलिप चौधरीले बताए । उनले भने, ‘लकडाउनका कारण गरिब,विपन्नहरु राहत नपाएर खान पाएका छैनन् तर गाउँपालिका प्रमुख राय भने सामाजिक दूरीको पालना नगरि सयौं जनालाई भोज खुवाउन व्यस्त छन् ।’
महामारीको रुपमा फैलिँदै गएको कोरोना भाइरसको संक्रमणलाई रोक्ने अन्य कुनै विकल्प नभएकै कारण सरकारले देशभर लकडाउन गरेको छ । लकडाउनको उद्देश्य सफल बनाउन सरकारले जनप्रतिनिधिबाट पनि सहयोगको अपेक्षा राखेको समयमा उनीहरूले नै लकडाउनको उल्लंघन गरेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने हुँदा अन्य विकल्प नरहेकोले सरकारले गत चैत ११ गतेदेखि वैशाख १५ सम्म चौथो चरणको लकडाउन घोषणा गरेको हो ।

प्रतिक्रिया दिनुहोस