राहतको नाममा आहत वितरण,मानवीय कार्यमा संवेदनशील बनौँ

काठमाडौं :- ‘राहत’ शब्दलाई अरुको दुःखमा साथ दिने, कठिन परिस्थितिमा बलियो बनाउने या आत्मबल बढाउने रूपमा व्याख्या गर्न सकिन्छ । मानवको जीवन दुःख र सुखको सङ्गम हो । यहाँ सुख कम पाइन्छ र धेरै दुःख–कष्टहरूसँग जुध्नुपर्छ । यो जीवनचक्र हो । सुख र दुःखको भोगाइमा खालि फरक यति हो कि कोही एक्लैले भोगिरहेको हुन्छ भने कोही परिवारमा भोगिरहेको हुन्छ । तर जे–जस्तो अवस्थामा भोगे तापनि पीडा दर्दनाक नै हुन्छ । त्यतिबेला कोही नजिक आएर ‘तिम्रो दुःखमा म पनि साथमा छु है’ भनेर दुई शब्द मात्र बोल्छ भने अर्को व्यक्तिलाई संसारको सबै खुशी प्राप्त गरे जस्तो महसुस हुन्छ ।

कठिन समयसँग व्यक्ति जुध्दा उसको आत्मबलदेखि लिएर निर्णय लिन सक्ने क्षमता पनि चुर भएर जान्छ । त्यसैले हरेक सङ्कटको घडीमा आफूलाई तन मन र धनले बलियो बनाउनु पर्छ भनेर हाम्रा पुर्खाले अर्ती–उपदेश दिएका छन् । तर समय बित्दै जाँदा व्यक्ति अनेकन बाटाहरूमा हिँडिरहँदा यस्ता कुराहरूलाई आत्मसात गर्न सक्दैन, किनकि उ रातदिनको भागदौडमा यति व्यस्त हुन्छ कि सबैकुरा बिर्सिसकेको हुन्छ । जीवनमा आइपर्ने अनेकन बाधा–व्यवधान र चोटहरू व्यक्तिका लागि यादगार बनिदिन्छन्, किनकि ती पस्थितिले व्यक्तिलाई धेरै पाठ सिकाएको हुन्छ र को व्यक्ति कस्तो भनेर पनि राम्रै पाठ पढाइसकेको हुन्छ । पुर्खाले यो पनि भनेका छन्– कसैलाई ऋण लागे पनि दिन नलागोस् ! तर समयको खेलसँगै सबै कुरा मानवले भोग्नैपर्छ । अनेक चरण पार गरेर नै व्यक्ति टाकुरामा पुग्छ ।

यस्तै–यस्तै कठिन अवस्था नेपालीले समय–समयमा भोग्दै आइरहेका छन् । कहिले राजनीतिको उतारचढावका कारण उत्पन्न समस्या त कहिले दैवीप्रकोपको कारण आएको संकट । यस्ता प्रकारका दुःखद् घडीहरूसँग नेपाली जुध्दै आइरहेको छ । तर सङ्कटको अवस्था भोगिरहेको व्यक्तिको अघिल्तिर कसैले ‘मजाक’ गर्छ या कसैको दूरावस्थालाई मनोरञ्जनको रूपमा लिन्छ भने त्यो जस्तो मानवताहीन कार्य अरु हुन सक्दैन । हामीकहाँ विपद आउँदा खाल–खालका व्यक्तिहरूले गर्ने ‘राहत वितरण’मा कतिपय अवस्थामा यस्तो महसूस हुन पुग्दछ । दुई कोसा केरा दिएर २० जनाको समूहले फोटो खिचाई सामाजिक सञ्जालका भित्तामा टाँगिएका तस्बिर पनि देखिएका छन् । एक जनाले राहतस्वरूप केही समान दिइरहेको छ भने अर्कोले भिडियो बनाइरहेको दृश्य पनि हामीले देखेका छौँ । एकजना वर्तमान सत्तारुढ दलका नामै चलेका दोस्रा पिँढीका नेताले एक थान मास्क कुनै जनतालाई मुखमा पहिऱ्याइदिँदै गरेको दृश्य खिचेर ‘राहत वितरण’को नाममा फेसबुक वालमा टाँसेको समेत पाइयो । यस्ता दृश्यहरूले हामी कत्तिको संवेदनशील छौँ त भन्ने चित्रण गर्दछ ।

दर्दनाक जीवन बिताउन बाध्य भएका व्यक्तिलाई राहत दिँदा तपाईं–हामीले फोटो खिचेर सामाजिक सञ्जालमा राखेपछि ती व्यक्तिमा कस्तो असर पुग्छ या पुग्यो भन्ने बारेमा हामी अलिकति पनि संवेदनशील भएनौँ ।

०७२ सालको भूकम्पपश्चात धेरै मानिसले खुला चौरको बास बस्नु परेको थियो । कति व्यक्ति भोकभोकै बस्नसमेत बाध्य भएका थिए । त्यतिबेला नेपालीजनले विकरालको जीवन बिताइरहेका थिए । त्यही विकराल अवस्थासँग जुधिरहेका रहेका व्यक्तिमाझ निजी स्तरबाट राहतस्वरुप केही बस्तुहरू वितरण गरियो, जुन धेरै राम्रो काम थियो । तर, त्यो स्थितिलाई पनि तपाईं–हामीमध्येले समाजिक सञ्जालमा पोस्ट गर्न भ्यायौँ । त्यस्तो दर्दनाक जीवन बिताउन बाध्य भएका व्यक्तिलाई राहत दिँदा तपाईं–हामीले फोटो खिचेर सामाजिक सञ्जालमा राखेपछि ती व्यक्तिमा कस्तो असर पुग्छ या पुग्यो भन्ने बारेमा हामी अलिकति पनि संवेदनशील भएनौँ । एक व्यक्तिलाई १५ जनाले एक प्याकेट चाउचाउ र एक बोटल पानी दिँदै गरेको फोटो खिचेर समाजिक सञ्जालमा राखेको पनि देख्यौँ । यो सबै दृष्यले हामी आफैलाई चिनाउने काम गऱ्यो भने राहत पाउने व्यक्तिको आत्मसम्मानमा पक्कै पनि चोट पुऱ्यायो ।

त्यस्तै गरी वर्तमान समयमा विश्वलगायत नेपालले भोगिरहेको संकटको अवस्था कोरोना भाइरसको कारण उत्पन्न भएको छ । यसबाट देशको कोही पनि व्यक्ति वा समुदाय अछुतो छैन । सबैले यो दुःखको सामना गरिरहेका छन् । यही दुःखको बीचमा केही दाताहरू पनि छन् जसले विनापैसाको खाना ख्वाउने, गरिब दीन–दुःखीको अवस्था हेरेर रातहस्वरूप खाद्य पदार्थहरू वितरण गरिरहेका छन् । यो एकदमै ठूलो मानवीय कार्य हो । राहतलाई कसैको दुःखमा आफू पनि केही हदसम्म सहभागी छु है भनेर दिने एक महत्वपूर्ण कामको रूपमा लिइन्छ । हुन त त्यो राहतले व्यक्तिलाई सधैंभरि पुग्ने होइन, तर आवश्यकता पर्दा जसले जे कुराको पूर्ति गरिदिन्छ त्यो नै अमूल्य हुन्छ ।

यही पुण्य कामभित्र लुकेको अर्को महत्वपूर्ण कुरा भनेको संवेदनशिलता नै हो । हामी जसलाई राहत दिइरहेका छौँ उप्रति कत्तिको संवेदनशील छौँ त भन्ने कुरा पनि हाम्रा व्यवहारले प्रष्ट पार्छ । त्यो संवेदनशीलता अर्को व्यक्तिप्रति हाम्रो सोचाइ र उसलाई गर्ने व्यवहारमा भर पर्छ । कोरोनाको कहरबाट जोगिन नेपाली यतिबेला घरभित्रै बसेका छन् । व्यक्तिहरूको कमाएर खाने भाँडो बन्द भएको छ । दिनभर काम गरेर छाक टार्ने व्यक्तिहरूलाई खान धौ–धौ परेको छ । यो अवस्थामा तपाईं–हामीले उनीहरूलाई तत्काल चाहिने बस्तुहरू प्रदान गरिरहेका छौँ भने अर्कातिर उनीहरूको मजाक पनि उडाइरहेका छौँ ।

आजभोली तपाईं–हामीले अरुलाई प्रदान गर्ने ‘राहत’को प्रचारका कारण लिने व्यक्ति स्वयमलाई हीनता बोध भैरहेको हुन्छ, किनकि सामाजिक सञ्जालमा टाँगिने त्यस्ता तस्बिरले पीडित व्यक्तिको दूरावस्था छर्लङ्ग पारिदिन्छ, जसल उसको आत्मसम्मानमा ठेस पुऱ्याइरहेको हुन्छ ।

राहत दिँदा उनीहरूको भिडियो खिच्ने अनि ‘आज यति व्यक्तिलाई राहत प्रदान गरियो, आफ्नै पैसा खर्च गरेर खाना ख्वाएँ’ जस्ता तल्लो स्तरको शब्द हामीले प्रयोग गरिरहेका छौँ । यो भनेको एक व्यक्तिको गरिबीमाथि गरिएको उपहास हो । हामीले गरेको काम पुण्यको लागि होइन रहेछ केवल प्रचारको लागि रहेछ भन्ने कुरा यसले देखाउँछ । शास्त्र भन्छ– दायाँ हातले दान गरेको कुरा बायाँ हातले थाहा नपाओस् ! यसैगरी अरुलाई आफनो क्षमताले जस्तो दान गरेता पनि मैले यति गरेँ भनेर आफ्नो प्रशंसा आफै नगर ! यस्ता सदगुणी बचनहरू हाम्रो शास्त्रले भनेको छ, तर पनि आजभोली तपाईं–हामीले अरुलाई प्रदान गर्ने ‘राहत’को प्रचारका कारण लिने व्यक्ति स्वयमलाई हीनता बोध भैरहेको हुन्छ, किनकि सामाजिक सञ्जालमा टाँगिने त्यस्ता तस्बिरले पीडित व्यक्तिको दूरावस्था छर्लङ्ग पारिदिन्छ, जसल उसको आत्मसम्मानमा ठेस पुऱ्याइरहेको हुन्छ ।

यतिबेला कोरोना जिवाणुसँग सिङ्गै विश्वको युद्ध चलिरहेको छ, अर्थात् विश्व कोरोनाको कहरबाट गुज्रिरहेको छ । यो युद्धमा को जित्छ या को हार्छ समयले देखाउँछ । मानव समुदाय र कोरोनाको युद्ध हातहतियार विना चलिरहेको छ । विश्वमा बनेका ठुलठुला हातहतियार अहिले काम लागेको छैन । हिजो–अस्तिसम्म आफुलाई शक्तिशाली भन्ने राष्ट्रहरू अहिले एउटा भाइरसको कारण आफ्नो सबै दिनचर्या थाती राख्दै एक कोठाभित्र बन्दी जीवन बिताउन बाध्य भएका छन् । संसार नै जित्छौँ भन्ने मानव एक भाइरसको अघि हार खानु परेको छ । यस क्रममा कोरोनाग्रस्त अन्य मूलुकहरूमा पनि राहत वितरण त गरियो होला, तर तिनीहरूले राहत वितरण गरिरहेको दीन–हीन प्रकारका फोटो सामाजिक सञ्जालमा राखेको हामीले देख्न पाउदैनौँ । यो मनन गर्नुपर्ने पक्ष हो ।

हुन त आजको युग प्रचार–प्रसारको युग हो । व्यक्तिले आफनो प्रचार जति गऱ्यो त्यति माथि पुग्ने सम्भावना रहने उल्टो हावा यहाँ बहिरहेको छ । तथापि, प्रचारको पनि त एउटा तरिका हुन्छ । कस्तो विषयलाई कतिबेला कुन रुपले प्रचार गर्ने या नगर्ने भन्ने आफ्नै मान्यता हुन्छ । मानवीय संवेदनशीलता हराए झैँ आफुलाई ‘मै ठूलो मै राम्रो’ भनेर प्रचार गर्नु किमार्थ राम्रो हुँदैन । हिन्दु धर्मको चार वेद कसले लेखे थाहा छैन, लेख्ने त व्यक्ति नै थिए होलान् तर उनीहरूले आफ्नो नाम बेदमा लेख्न चाहेनन् । तर तपाईं–हामी भने अरुलाई सय रुपैयाँ दान गरे पनि प्रचार गर्नुपर्ने अवस्थामा किन उभिन आइपुग्यौँ ? मानवीय कार्यमा संवेदनशील बनौँ ।

प्रतिक्रिया दिनुहोस