बस् ! मेरो भूगोलमा टेक्न देऊ सरकार

टेकनाथ पाण्डे ‘सन्दर्शन’/काठमाडौं :-

महाकाली पारी
रातको बाह्र बजे
झल्याँस्स बिउँझियो ऊ
अनि
देश खोज्यो
सरकार खोज्यो
र खोज्यो राष्ट्रिय नेतृत्व
जसले नेपाल मेरो होइन हाम्रो भन्न सकोस् ।

चिच्यायो ऊ,
ए आमा ! ए देश ! ए सरकार !
तर अहँ
कसैले सुनेन उसको चित्कार

ऊ वहकियो भावनामा,
सीमासँगैको भूगोलबाट आएको
उसको पुकार किन सुन्दैन कसैले
जब सात समुद्रपारको
नपोखिएको पीडा बुझ्छ भने
किन छेक्दैछ आफ्नै भूगोलले
मानवरुपी तार र हतियारको त्रास देखाएर
जब ऊ जस्तै परदेशीलाई
प्लेन चढाएर स्वागत गरिन्छ भने ।

६ महिना पसिना बगाएर
एक वर्ष जहान पाल्ने जोहोका लागि
कालापहाड हानिएको ऊ
रित्तो हात सही
सयौँ कोस दुई खुट्टाको भरमा
आफ्नै घर, आफ्नै देश फर्किँदै छ ।

उसले बुझेको छ
व्यक्ति व्यक्ति हुँदै संसारभर फैलिने
विषम महामारीका विषयमा
सासको आस गर्न नसकिने भएर त ऊ
मर्नै परे आफ्नै देशमा मर्न चाहन्छ
आफ्नै आमाको काखमा अन्तिम सास फेर्न चाहन्छ ।

उसको एक गल्तीले
उसको परिवार, समाज
अनि देश विपत्मा पर्छ भन्ने
सामान्य ज्ञान छ उसलाई

त्यसैले त उसले
सीमा पारिबाट
सरकारसँग
केबल मागेको यत्ति हो
जहाँसुकै र जोसुकैसँग राख
गास र बास देऊ वा नदेऊ
बस् ! मेरो भूगोलमा टेक्न देऊ,
हो ! मेरो भूगोलमा टेक्न देऊ ।।

Vianet Video after article mobile
Prabhu Chetana
Nepal Life Insurance
NTC Small Ad
Gulf Lubricant
Santro Hyundai
Yeti Air Carbon Free
Barah Jewellers
Clear Tv ad subisu  article
pj photo sidebar content
Dish home
Kumari Bank Article
Global IME Bank Article
Ime Pay
Hamro patro add article
Classic Tech Add article
प्रतिक्रिया दिनुहोस