प्रदेश २ सरकारको निर्णय : उपचार नगर्ने चिकित्सक तथा अस्पताललाई कार्वाही गर्ने

काठमाडौं :- सामान्य ज्वरो, रुघाखोकी बिरामी चेकजाँच र उपचार नगर्ने चिकित्सक तथा अस्पतालहरुलाई प्रदेश २ सरकारले कारवाही गर्ने भएको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि प्रदेशमा भइरहेको गतिविधि बारे जानकारी लिने उद्देश्यले मुख्यमन्त्री लालबाबु राउतले सम्बन्धित निकायसहितको बोलाएको बैठकमा कोरोना संक्रमण नियन्त्रणको लागि जस्तो सुकै कदम चाल्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिए । उनले बिरामी चेकजाँच नगर्ने चिकित्सक र अस्पताललाई कारवाही गर्नेसमेत बताए ।

विभिन्न अस्पतालमा चिकित्सकहरुले सामान्य ज्वरो, रुघाखोकी लागेका बिरामीलाई उपचार गर्न नमोनको गुनासो आइरहेको बेला मुख्यमन्त्री राउतले सम्बन्धित सबै निकायलाई बैठकमा बोलाएर त्यस्ता अस्पताल र चिकित्सकहरुलाई सूचि तयार गरी प्रदेश सरकारमा पठाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिए ।

मुख्यमन्त्री राउतले राज्यको सुविधा प्रयोग गरे पनि संकटको बेलामा बदमासी गर्ने जो कोहीलाई पनि कारबाही गर्छौ, तपाईहरु सिफारिस गर्नु लाइन्सेन्ससम्म खारेजी गर्ने सहितको कारवाही गर्ने भने ।

यसका साथै उनले वर्तमान संक्रमणकालिन अवस्थामा कुनै इन्तु किन्तु नभई जनताको जनधनको सुरक्षामा सम्पूर्ण शक्ति लगाउन निर्देशन समेत दिए । महामारी नियन्त्रणको लागि आवश्यकता अनुसारको व्यवस्था जिल्ला स्तरमै गर्न सुझव दिदैं मुख्यमन्त्री राउतले रकमको आभाव हुन नदिने प्रतिबद्धता समेत जनाए ।

बैठकमा सुरक्षा निकायका प्रमुखहरुले राखेको जिज्ञासामा भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव र उद्योग, पर्यटन तथा वन मन्त्री राम नरेश रायले सम्बन्धित विषयहरुमा आ-आफनो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस