मनकामना केवलकार शनिबारदेखि बन्द हुने

काठमाडौं :- मनकामना केवलकार शनिबारदेखि बन्द हुने भएको छ । कोरोना भाइरसको संक्रमणको सजगताका लागि सो सेवा बन्द गर्न लागिएको प्रा.लि.ले बिहीबार सूचना प्रकाशित गरी जानकारी गराएको हो ।

मनकामना मन्दिर दर्शन गर्न जाने दर्शनार्थीहरुको सहजताका लागि सो सेवा संचालन भईरहेको थियो । कम्पनीका नायब महाप्रबन्धक डिएन कायस्थले कोरोना भाइरस संक्रमण रोक्न सरकारको निर्णयलाई सहयोग पुर्‍याउन शनिबारदेखि कम्पनीको सेवा बन्द गर्न लागिएको जानकारी दिए ।

अब मनकामना केबलकारको सेवा चैत ३० गतेबाट मात्र सञ्चालनमा आउनेछ । कोरोनाको त्राससँगै पछिल्लो केही दिनयता केवलकारमा यात्रा गर्न आउने भक्तजनसमेत घटेका थिए ।

चितवनको इच्छाकामना-४ स्थित प्रवेशद्वार (बटम स्टेशन) रहेको मनकामना केवलकारबाट दैनिक तीन हजार ५ सयको संख्यामा दर्शनार्थी मनकामना मन्दिर पुग्ने गर्दछन् ।

चितवनको इच्छाकामना गाउँपालिकाले पनि कोरोनासम्बन्धी सचेतनाका लागि दुई ठाउँमा हेल्थ डेस्क स्थापना गरेका छन् । गाउँपालिका कार्यालय परिसर कुरिनटार र मनकामना केवलकारको बटम स्टेशन चेरेशमा स्वास्थ्य हेल्थ डेस्क बिहीबारदेखि सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस