नेपाली कामदारको बाहुल्यता रहेको कतारको सनैयामा आवतजावत गर्न बन्द

काठमाडौं – नेपाली कामदारको बाहुल्य रहेको कतारको सनैया क्षेत्रमा आवातजावत गर्न मंगलबारदेखि दुई साताका लागि रोक गरिएको छ ।कतारको आन्तरिक मन्त्रालयले विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको संक्रमणलाई फैलिन नदिनका लागि सनैयाको निश्चित क्षेत्रभित्रको आवतजावतलाई पूर्ण रुपमा रोक लगाइएको हो ।
सनैयाको रोड नम्बर १ को उत्तरदेखि रोड नम्बर ३२ को दक्षिण भागसम्म र सनैयाको मुख्य सडकको पूर्व भागदेखि पानी ट्याङ्कीको पश्चिम भागसम्मको चौघेराभित्र आवतजावत गर्न रोक लगाएको हो।

यो चौघेराभित्रमा रहेका कामदारलाई आफ्नो क्याम्पबाट बाहिर निस्कनका लागि रोक लगाइएको छ। यो क्षेत्रभित्र झन्डै एक लाखभन्दा बढी नेपाली कामदार बस्ने गर्छन्। यस क्षेत्रमा नेपाली बाहेक अन्य देशका कामदार समेत बस्ने गर्छन्।

दोहास्थित नेपाली दूतावासले कतार सरकारको अनुरोधलाई पूर्ण रुपमा पालना गर्नका लागि नेपाली समुदायलाई आग्रह गरेको छ। दूतावासले भीडभाडमा नजान र क्याम्पको गेटबाट बाहिर ननिस्कन अनुरोध गरेको छ।

‘कामदार आवास क्षेत्रलाई विशेष निगरानी गरेको छ। कतार सरकारले सक्रमणलाई रोक्न यस्तो कदम लिइएको हो,’ कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजले भने, ‘यसलाई पूर्ण रुपमा पालना गर्न नेपालीको दायित्व र कर्तव्य हो।’ कतारले कानुन नमानेको भन्दै कम्तीमा २ सय ५० जना नेपालीलाई डिपोर्ट गरिसकेको छ।

यसैगरी कामदार राखिएको क्षेत्रलाई कोरोना भाइरसको संक्रमण हुन नदिनका लागि प्रशासनिक विकास, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले २ सय ३२ वटा क्याम्पको सरसफाइ गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस