प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार,सन्तुलित आहार दिन थालियो

काठमाडौं :-  प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको चिकित्सकहरुले बताएका छन् । गत बुधवार महाराजगञ्ज स्थित त्रिभुवन बिश्वबिद्यालय शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका ओलीको स्वास्थ्यमा राम्रो सुधार भइरहेको चिकित्सकले बताएका हुन ।

प्रधानमन्त्री ओलीलाई नियमित सन्तुलित आहार दिन थालिएको छ । मिर्गौला प्रत्यारोपण गरेको पाँचौ दिन अस्पतालले जारी गरेको स्वास्थ्य अपडेटमा सन्तुलित आहार दिन थालिएको जनाएको हो ।

‘प्रधानमन्त्रीको भाइटल तथा ल्याव सुचकाँकहरु पनि सामान्य छन्’, अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खडगाले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै, प्रधानमन्त्रीको मिर्गौला दाता समीक्षा संग्रौलाको पनि स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ ।

यस्तै प्रधानमन्त्री ओलीलाई हिडडुल समेत गराउन थालिएको छ । प्रधानमन्त्रीका भाइटल र ल्याब सूचकहरु सामान्य अवस्थामा रहेका छन् ।

यता, चिनियाँ राष्ट्रपति शि जिङपिङले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् । लिखित सन्देश पठाउँदै राष्ट्रपति सिले ओलीको शीघ्र स्वास्थयलाभको कामना गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई स्वास्थ्यमा सुधार आएका कारण घर पठाउने कि केही दिन अस्पतालमै राख्ने भन्ने बिषयमा छलफल भइरहेको अस्पतालले जनाएको छ ।

गत बुधबार प्रधानमन्त्री ओलीको दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएको हो । उनको यसअघि २०६४ सालमा भारतको अपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस