कोरोनाको कहरः पर्यटनमा ४ खर्बको लगानी संकटमा

पोखरा :-  छिमेकी राष्ट्र चीनबाट फैलिएको नोभल कोरोना भाइरसको असरले नेपालकौ पर्यटन क्षेत्र संकटमा पर्ने खतरा बढेको छ ।
नेपालकै पर्यटन अबस्था धरापमा परेको बेला पर्यटक नगरी पोखरा अछुतो नरहने कुरै भएन ।

पर्यटक आगमनको दर घटेसँगै पोखराका सानादेखि तारेहोटलहरु सम्ममा यसको प्रत्यक्ष असर देखिन थालेको छ ।
पोखराको पर्यटन क्षेत्रमा समग्र ४ खर्बको लगानी गरेका व्यवसायीले कोरोनाकै कारण बैंकको किस्ता धान्न नसकेको पश्चिमाञ्चल होटल संघ अध्यक्ष विकल तुलाचनले सञ्चारगृहलाई बताए ।

पोखरामा यतिखेर होटलको अकुपेन्सी दर समेत घटेको छ । विगतका वर्षमा यो समयमा ६० प्रतिशत अकुपेन्सी हुने गरेकोमा एक्कासी सो दर घटेर मात्र १० प्रतिशत झरेको छ ।

पर्यटन व्यवसायीहरु यतिखेर सो अवस्थाबाट गुज्रिएसँगै कोही पर्ख र हेरको अवस्थामा छन् । चिनियाँ पर्यटकलाई लक्षित गरी खोलिएका पर्यटन व्यवसाय बन्द जस्तै भएका छन् । भएका बुकिङ धमाधम रद्द हुने गरेको छ ।

व्यवसायीका अनुसार यतिखेर बुकिङ रहेका ७० प्रतिशत बुकिङ रद्द भैसकेको छ । आगामी मार्च महिनासम्मको लागि बुकिङ रद्द भएका हुन । यो संकटको अवस्था अब कहिलेसम्म जाने हो थाहा छैन । टूर अपरेटरले बुकिङ लिन छाडेका छन् ।

पोखरामा पर्यटकीयस्तरका ४ सय वटा होटल छन् । यहाँ ३० हजार बेड छन् । साथै होटल व्यवसायमा १५ देखि १७ हजार जनासम्म कर्मचारी रोजगाररत रहेकोमा उनीहरुको भविष्य समेत संकटमा परेको छ । कतिपयलाई बिदा समेत दिइसकिएको छ ।

कोरोनाको असर विश्वव्यापी रुपमा देखीएको हुँदा यसको असर कहाँसम्म पर्ने हो यकिन भन्न सक्ने अवस्थामा छैन ।
यो २०७२ सालको विकासकारी भूकम्पभन्दा पनि पृथक समस्या हो । समयसमयमा प्राकृतिक विपत्ति समेत सामना गर्दै आएका पर्यटन व्यवसायीले यतिखेर बैंकिङ ऋण पुनःर्संरचना गरिदिन सरकारसँग आग्रह गरेका छन् ।

विदेशी पर्यटक आगमन दर उल्लेख्य मात्रामा घटेसँगै पर्यटन व्यवसायीको ध्यान अब आन्तरिक पर्यटकप्रति मोडिएको छ । उनीहरुलाई कसरी क्याप्चर गर्ने भन्ने विषयमा छलफल हुँदै छ ।

व्यवसायी स्वयंले यतिखेर सचेतनाका कार्यक्रम समेत सञ्चालन गर्दै आएका छन् । सबै होटललाई सर्कुलर गरेर रोग लाग्नुभन्दा रोगथाम नै प्रमुख उपायबारे सिकाउँदै छन् ।

कोरोना भाइरसका कारण पोखराको पर्यटन गतिविधि शुन्य जस्तै भइरहेका बेला अब पोखराको पर्यटन उद्योग चलायमान बनाउन आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने व्यावसायीको धारणा छ ।

प्रतिक्रिया दिनुहोस