रामेछाप र सोलुखुम्बु सिमा भएर बग्ने लिखु नदीमा सात आयोजना

पुष्कर खड्का/रामेछाप – रामेछाप र सोलखम्बुको सीमा भएर बग्ने लिखु नदीमा सातवटा जलविद्युत् आयोजना निर्माण हुँदै छन् । सोलुखुम्बुको लिखुपिके गाउँपालिका र रामेछापको उमाकुण्ड गाउँपालिकाबीच अर्थात् लिखु नदीको हिमाली क्षेत्रदेखि ओखलढुङ्गाको लिखु र रामेछापको लिखु तामाकोसी गाउँपालिकाको बिजुलीकोटसम्म सातवटा जलविद्युत् आयोजना निर्माण हुँदै गरेका हुन् ।

एउटै लिखु नदीको पानी प्रयोग गरी एकैसाथ सातवटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि लिखु नदीबाट ३२९.६ मेगावाट विद्युत् उत्पादन हुने जनाइएको छ । पछिल्लो समय नदीको माथिल्लो क्षेत्र लाहा छेवरदेखि बिजुलीकोटको रातामाटासम्म विद्युत् आयोजनाका विभिन्न संरचनाको निर्माण धमाधम भइरहेको छ । रामेछापको उत्तरी बस्ती लाहा छेवरमा भिजन जलविद्युत् आयोजनाले ५८ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्दै छ । आयोजनाले प्रवेशमार्ग र अन्य संरचना निर्माण थालेको छ । आयोजनाको सिभिल संरचनाको काम धमाधम भइरहेको छ । उक्त आयोजनाले उमातीर्थ नजिकै विद्युत्गृह निर्माण गर्ने बताइएको छ ।

त्यस्तै हिमालय प्रालिले प्रवद्र्धन गरेको लिखु १ को ७७ मेगावाट क्षमताको आयोजनाले पनि तीव्र गतिमा काम गरिरहेको छ । उक्त आयोजनामा मुख्य लगानी प्राइम बैङ्क र अन्य छवटा बैङ्क रहेका छन् । लिखु १ को ७७ मेगावाट विद्युत् उत्पादन भई बाहिरिएको पानी प्रयोग गरी लिखु २ आयोजनामा लैजाने कामसमेत भइरहेको छ । लिखु १ आयोजनामा ३० प्रतिशत लगानी मोतीलाल दुगड समूहको रहेको छ । प्रतिमेगावाट १८ करोड रुपियाँ खर्च अनुमान गरिएको आयोजना २०७७ साउनमा सम्पन्न गर्ने लक्ष्य दुगड समूहका राजन खत्रीले बताउनुभयो । दुगड समूहकै लगानीमा लिखु २ आयोजनाको काम पनि अघि बढाइएको उहाँको भनाइ छ । आयोजनाको विद्युत् क्षमता ५५ मेगावाट हुने छ ।

यस आयोजनामा माछापुच्छ«े बैङ्कको मुख्य लगानी छ । उमाकुण्ड १ क्यामाको वाल्दिङ दोभानमा बाँध निर्माण गरी उमाकुण्डकै ठाडो खोलामा निर्माण हुने विद्युत्गृहमा पानी खसालिने बताइएको छ । लिखु २ आयोजनाको काम २०७७ साउनमै सक्ने आयोजनाको लक्ष्य छ । यसैगरी सोही समूहले तेस्रो आयोजनाको काम पनि अघि बढाएको छ । लिखुको राङदहमा बाँध निर्माण गरी बुकुदोभानमा विद्युत्गृह निर्माण हुने आयोजनाको संरचना निर्माणमा तीव्रता दिइएको छ । २९.४ मेगावाट क्षमताको आयोजना निर्माण पूरा गरी ०७७ असारमा विद्युत् उत्पादन हुने लक्ष्य छ । यस आयोजनामा प्रतिमेगावाट १८ करोड खर्च हुने अनुमान गरिएको बताइएको छ ।

दुगड समूहले निर्माण गरेका तीनवटै आयोजनामा हाल सुरुङ निर्माण, पावरहाउसको सिभिलतर्फको काम, प्रसारण लाइनको सर्भे, जग्गा अधिग्रहणलगायत काम भइरहेका छन् । उत्पादित विद्युत् १३२ केभी प्रसारण लाइनमार्फत रामेछापको चुचुरेस्थित गर्जाङ सबस्टेसनमा लगेर केन्द्रीय प्रसारण लाइनमा जोड्ने लक्ष्य रहेको खत्रीले बताउनुभयो । उक्त तीनवटा आयोजनाबाट उत्पादन हुने १६१.४० मेगावाट बिजुलीमध्ये नेपाल विद्युत् प्राधिकरणले ११४ मेगावाट खरिद गर्ने सम्झौता भएको छ भने बाँकी विद्युत् अन्य खरिदकर्तालाई बेचिने आयोजनाले जनाएको छ ।

आयोजनाका लागि साना ठूला गरी पाँचवटा पक्की पुल र करिब १२५ किमी सडक निर्माण कार्य पूरा भइसकेको छ । लिखु नदीको पानी प्रयोग गरी ५२.२ मेगावाट क्षमताको लिखु ४ जलविद्युत् आयोजना निर्माणसमेत तीव्र पारिएको छ । ओखलढुङ्गाको खिजीदेम्बा र रामेछापको उमाकुण्ड गाउँपालिकाको बीचमा पर्ने बिमिरेमा बाँध बाँधी ओखलढुङ्गाको लिम्तीमा निर्माण हुने विद्युत्गृहमा पानी खसालिने आयोजनाको काम करिब ३० प्रतिशत पूरा भएको छ । त्यस्तै लिखु नदीमा लोयर लिखुका नाममा ओखलढुङ्गाको लिखु गाउँपालिका र रामेछापको लिखु तामाकोसी गाउँपालिकाको ढाँडेमा पावरहाउस बनाउने काम तीव्र गतिमा अगाडि बढाइएको छ । यसका लागि सानिमा बैङ्क मुख्य लगानीकर्ता रहेको छ । २८.१ मेगावट क्षमताको यो विद्युत् आयोजनाको ५० प्रतिशत काम सम्पन्न भएको बताइएको छ ।

तीन किलोमिटर सुरुङ निर्माण गर्नुपर्ने यो आयोजनाको हालसम्म दुई किमी तीन सय मिटर सुरुङ निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ । लिखुमा नै ठूला आयोजनाबाहेक अन्य साना आयोजना पनि सञ्चालनमा आएका छन् । साना ठूला आयोजनाबाट ३२९.६ मेगावाट विद्युत् उत्पादन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस