बलात्कारको आरोपमा नेकपाका साँसद अक्कल बहादुर रावल पक्राउ

काठमाडौं :-  नेकपाका सांसद एक महिलामाथि बलात्कारको दुस्प्रयास गरेको आरोपमा बुधवार पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुदूरपश्चिम प्रदेश सभाका सदस्य अक्कल बहादुर रावल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीकी एक बिबाहित महिलाले आफूमाथि बलात्कारको कोसिस गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएको एक सातापछि रावल पक्राउ परेका हुन् ।

प्रदेश सभाका सदस्य रावलका बिरुद्ध फागुन १४ गते प्रहरीमा उजुरी परेको थियो । जाहेरीमा ती महिलाले प्रदेश सभा सदस्य रावलले आफूमाथि माघ २१ गते जवर्जस्ती करणीको दुस्प्रयास गरेको आरोप लगाएकी छन् ।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले रावल पक्राउ गरेको स्वीकार गरे ।

रावल आफ्ना बिरुद्ध उजुरी परेपछि सोका बारेमा बुझ्न बुधवार आफै जिल्ला प्रहरी कार्यालय कैलाली पुगेको बताईएको छ ।महिलाको उजुरीपछि पक्राउ पूर्जी जारी गरेको प्रहरीले रावललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको डिएसपी बस्नेतले बताए ।

प्रहरीले बिहीवार रावललाई हिरासतमा राखी थप अनुसन्धान गर्न अदालतबाट अनुमती लिने बताएको छ ।

रावल अछाम क्षेत्र नम्बर २ को ख बाट निर्बाचित नेकपाका सांसद हुन् । उनी प्रदेश सभामा नेकपा संसदीय दलका सचेतक हुन् । स्थानीय तहको निर्बाचनमा मेयरमा पराजित रावल प्रदेश सभाको निर्बाचनमा भने बिजयी भएका थिए । रावलले आफूमाथि लगाइएको आरोप झुटो भएको बताएका छन् । उनले आफूलाई फसाइएको जिकिर गरेका छन् ।

नेकपाबाट निर्बाचित सांसद तथा सुदूर पश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री दीर्घ सोडारी महिलासंगको अनैतिक सम्बन्धका कारण मन्त्रीबाट बर्खास्त गरिएका थिए ।

प्रतिक्रिया दिनुहोस