केपी, तिमी फेरि पनि बाँच किनभने…

काठमाडौं ।  केपी शर्मा ओलीलाई नेपालको सर्वोत्कृष्ट मानिस ठहर गर्न सकिँदैन र, उहाँ देशकै उत्कृष्ट मानिस होइन पनि । केपीबिना देश चल्नै नसक्ने ठानियो भने त्यो झन् ठूलो भ्रम हुन सक्छ । केपी नेतृत्वको सरकार गठन भएयता मुलुकको कायापलट भएको ठान्नेहरूले आफ्नो आत्मसमीक्षा गर्नु उपयुक्त हुनेछ । तर, हामी बाँचिरहेको यो समयका शीर्षस्थ नेताहरूमध्ये केपी ओली नै उत्तम हुन् भनियो भने त्योचाहिँ गलत हुनेछैन ।

दोस्रोपटक मिर्गौला प्रत्यारोपणका निम्ति अस्पताल भर्ना हुनुभएपछि उहाँलाई पुनः प्रधानमन्त्रीनिवासमा देख्नु नपरोस् भनेर कतिले भैँसी पूजा शुरु गरेका होलान् र कोही सुन बाहनमा चढेर दौडधुप गर्दै गरेको अवस्थामा पनि भेटिएलान् । केपी ओली प्रधानमन्त्री भएपछि पनि देशले सकारात्मक दिशा र गति लिन नसकेकोमा असन्तुष्ट रहेकाहरूले पनि केपीको स्वास्थ्यस्थितिप्रति निरपेक्ष दृष्टिकोण राखेका हुन सक्छन् ।

कुनै दलविशेषलाई दुईतिहाइ बहुमत प्राप्त हुनु प्रजातन्त्रमा दुर्लभ तर सुवर्ण अवसर मानिन्छ । वि.सं. २०१७ सालमा बीपी कोइरालाले पनि दुईतिहाइ समर्थन प्राप्त गर्नुभएको हो, तर त्यसबेला राजदरबार एउटा शक्तिकेन्द्रको रूपमा रहेकोले त्यसको मान नराखीकन अगाडि जान सकिने अवस्था थिएन । प्रमुख विपक्षी (भरतशमशेर नेतृत्वको) गोर्खा दल पनि आरजु राणाको काङ्ग्रेसजस्तो ‘आमा’लाई राजदूत पदमा यथावत् राखिदिएकै भरमा चुपचाप बसिरहने स्तरको थिएन ।

केही न केही उपद्रव गरिरहने चरित्रको प्रमुख विपक्षी दल बीपीका सामुन्ने उपस्थित थियो । तर, अहिले केपी ओलीलाई दुईतिहाइ बहुमतको समर्थन प्राप्त हुँदा राजा वैधानिक शक्तिका रूपमा अस्तित्वमा छैनन् र, प्रमुख विपक्षी दल पनि ‘ललिपप’ देखाएर अलमल्याउन सकिने स्तरको छ । यस्तो सुवर्ण समयमा समेत परिणामदायी काम गर्न नसक्दा केपीको छविमा क्षति पुग्ने मात्र होइन, प्रजातन्त्रप्रतिको विश्वास र भरोसाकै अन्त्य हुने खतरा छ ।

सामान्यतया कसैले छलछाम गर्न सक्ने व्यक्ति केपी ओली होइनन्, शत्रु या विपक्षीले उहाँलाई झुक्याउन असम्भव ठानिन्छ, तर आफ्ना भनिएकाहरूबाट चाहिँ केपी पनि ठगीमा परेको या झुक्किएको अवस्था छ । अर्थमन्त्रीको जिम्मेवारीमा रहेका एक गैरराजनीतिक व्यक्तिले कागजी रिपोर्ट प्रस्तुत गरेर चारैतिर उन्नति–प्रगति मात्र देखाउँदा केपी आश्चर्यजनक ढङ्गले झुक्किनुभएको छ । देशमा न लगानीमैत्री वातावरण बन्न सकेको छ न खर्चको । कमाउन सक्दै नसक्ने, तर कर मात्र तिर्नुपर्ने जुन परिस्थिति बनेको छ, यसले केपीको कार्यक्षमतामाथि नै प्रश्न उठाइरहेको छ । देशको इतिहासकै सबभन्दा असफल र अलोकप्रिय अर्थमन्त्रीलाई क्षमतावान र सफल ठान्ने मनोदशाबाट केपी गुज्रनु आफैँमा उदेकपूर्ण छ ।

सामान्यतया कसैले छलछाम गर्न सक्ने व्यक्ति केपी ओली होइनन्, शत्रु या विपक्षीले उहाँलाई झुक्याउन असम्भव ठानिन्छ, तर आफ्ना भनिएकाहरूबाट चाहिँ केपी पनि ठगीमा परेको या झुक्किएको अवस्था छ । अर्थमन्त्रीको जिम्मेवारीमा रहेका एक गैरराजनीतिक व्यक्तिले कागजी रिपोर्ट प्रस्तुत गरेर चारैतिर उन्नति–प्रगति मात्र देखाउँदा केपी आश्चर्यजनक ढङ्गले झुक्किनुभएको छ । देशमा न लगानीमैत्री वातावरण बन्न सकेको छ न खर्चको । कमाउन सक्दै नसक्ने, तर कर मात्र तिर्नुपर्ने जुन परिस्थिति बनेको छ, यसले केपीको कार्यक्षमतामाथि नै प्रश्न उठाइरहेको छ । देशको इतिहासकै सबभन्दा असफल र अलोकप्रिय अर्थमन्त्रीलाई क्षमतावान र सफल ठान्ने मनोदशाबाट केपी गुज्रनु आफैँमा उदेकपूर्ण छ ।

अर्थमन्त्री मात्र योग्य भइदिएको भए जनताले विद्यमान सास्ती व्यहोर्नुपर्ने र केपीको क्षमतामाथि प्रश्न उठ्ने स्थिति उत्पन्न हुने थिएन । कसैकी बुहारीले मन्त्रालय ओगटेर मेलम्चीको पानी ल्याउने योजनामा अड्चन पैदा नगरिदिएको भए पनि सरकारले उपलब्धि हासिल गरेको ठान्न सकिन्थ्यो । सडकको गुणस्तरमा सुधार ल्याउन सकेको भए, भ्रष्टाचार नियन्त्रण भएको अनुभूति जनस्तरले गरेको भए, कर्मचारी प्रशासनको कार्यव्यवहार बदलिएर जनमुखी बनेको भए र जनताको समग्र जीवनस्तरमा सकारात्मक परिवर्तन आएको भए देशको समृद्धिसँगै केपी ओलीको उचाइ थपिने निश्चित थियो । वरिपरि ‘सञ्जय’हरू राख्न र ‘धृतराष्ट्र’हरूलाई धपाउन सकेको भए केपीको कामले सही दिशा र गति लिने निश्चित थियो । केवल तीनवटा मात्र मन्त्रालयले राम्रो काम गर्न नसक्नुको परिणाम सरकारप्रमुखका रूपमा केपी ओलीले र उपभोक्ताका रूपमा आमजनताले भोग्नु परिरहेको छ ।

हामी सबैलाई थाहा छ, प्रचण्डजस्तो नयाँदिल्लीमा ‘अन्तरध्यान’ भएर सिंहदरबारमा फुत्त प्रकट भएको पात्र केपी ओली होइनन् । किशोरवयमा ख्यालख्यालमै क्रान्तिकारी बन्न खोजेको भए पनि चौध वर्ष साँच्चैको जेल तथा गोलघरको यातना भोग्ने व्यक्तिमा केपी ओली पर्नु हुन्छ । कठोरतम यातनाको पृष्ठभूमिबाट खुला राजनीतिक गतिविधिमा सरिक हुन आइपुगेको र आफ्नै क्षमता एवम् पौरखबाट प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न सफल व्यक्तिका रूपमा केपीलाई बुझिन्छ । दिल्लीको सुविधासम्पन्न आवासबाट बालुवाटारमा बास सार्ने र अदृश्य शक्तिको भरिया बनेर नेपाल विघटन गराउन यात्रारत तिलस्मी यात्रीजस्तो पनि केपी हुनुहुन्न ।

देशलाई जाति र क्षेत्रका नाममा विभाजन गरी तेह्र–चौध टुक्रामा विभक्त गर्ने कुरूप प्रयास भइरहँदा त्यसका विरुद्ध सतिसालझैँ उभिने नेताहरूमध्ये ‘नेकपा एमालेका अध्यक्ष’ केपीको नाम अग्रपङ्क्तिमा आउँछ । देश जातीय युद्धको दुन्दुभीमा फस्न लागेको त्यो समयमा प्रचण्ड–बाबुराम नाममा प्रकट भएका भष्मासुर नेता तथा आङकाजी, सीकेद्वय र कृष्ण भट्टचनजस्ता धुन्धुकारी नागरिक रहेका देशको एकता र अस्तित्व रक्षा गर्नु सानो साहस र क्षमताबाट सम्भव थिएन । नेकपा एमाले र तिनका नेतालाई गाली या आलोचना गर्न मिल्ने अरू हजार विषय हुन सक्छन्, तर देशलाई जातीय आधारमा विभाजन गर्न भएको कपटी प्रयासलाई रोक्ने एउटै मात्र दल ‘नेकपा एमाले’ हो र उक्त पार्टीका प्रमुख नेता केपी शर्मा ओली हुनुहुन्छ भन्ने तथ्यलाई हामी स्वीकार गर्न कञ्जुस्याइँ गर्छौं भने हामीजति झुट र बेइमानीका भरपर्दा मित्र अरू कोही नभएको ठान्नुपर्दछ ।

वरिपरि ‘सञ्जय’हरू राख्न र ‘धृतराष्ट्र’हरूलाई धपाउन सकेको भए केपीको कामले सही दिशा र गति लिने निश्चित थियो । केवल तीनवटा मात्र मन्त्रालयले राम्रो काम गर्न नसक्नुको परिणाम सरकारप्रमुखका रूपमा केपी ओलीले र उपभोक्ताका रूपमा आमजनताले भोग्नु परिरहेको छ ।

नेपाली काङ्ग्रेस नामको पार्टी त्यसताक माओवादीको लाचार छायाभन्दा अर्को बेग्लै अस्तित्वमा थिएन । नवदुलहीका रखवालाजस्तै भूमिकामा काङ्ग्रेसका नेताहरू प्रचण्डहरूको अघि र पछि गरिरहन्थे । तिनको मखमली यात्रामा अत्तर र गुलाव छर्ने सेवामा काङ्ग्रेसका नेताहरू खुब रमाइरहेका हुन्थे ।

क्रान्तिका नाममा गाउँगाउँमा क्रियाशील काङ्ग्रेस कार्यकर्ताका शिर ताकी–ताकी ढुकुरझैँ ढाल्ने माओवादी नाइकेहरूको सम्मानमा गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाहरू शिर तल पारेर उभिइरहँदा माओवादीलाई खबरदारी गर्ने काम कसैले गरेका थिए भने त्यो केवल केपी ओलीबाट भएको थियो । कोइराला र देउवाहरू माओवादीको जन्ती बनेका बेला हिंसा र हिंस्रकका विरुद्ध फलामे अडान ओलीले राख्नुभएको हो । काङ्ग्रेस नेतृत्व देश बर्बाद हुनेभन्दा माओवादीका नेता रिसाउने कुराप्रति ज्यादा संवेदनशील थियो । सत्ताप्रमुख गिरिजाप्रसाद कोइराला थिए, तर प्रचण्डले सार्वजनिक रूपमा नेपाली सेनालाई अपमान गर्दा त्यसको प्रतिवाद भने केपी ओलीले नै गर्नुपरेको थियो ।

देश र प्रजातन्त्रप्रतिको स्पष्ट दृष्टिकोण र अडानबाट केपी ओलीले उचाइ प्राप्त गर्नुभएको हो । राजनीतिमा मानिस अनेक कारणबाट उचालिएका हुन्छन् । बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंह आफ्नै भूमिकाका कारण उठेका व्यक्ति हुन् भने बीपीको भाइ हुनुको जगमा टेकेर गिरिजा उभिएका थिए । प्रचण्ड–बाबुरामहरूको नाभी कहाँ गाँसिएको छ भन्ने जानकारी आमजनतालाई छ, तर नेकपाको मात्र कुरा गर्दा केपी ओली, माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम आफ्नै बुतामा उठेका नेता हुन् । यीमध्ये केपी ओलीले विशिष्ट स्थान बनाउनुभएको छ ।

२०५२ सालमा शुरु भएको देश, राष्ट्रिय एकता र प्रजातन्त्रविरुद्ध षड्यन्त्रको पटाक्षेप अझै भइसकेको छैन । नेपाललाई एउटा एकपक्षीय अधिनायकवादी राज्यसत्तामा रूपान्तरित गर्न शुरु भएको खेल चालीस सूत्रीय माग, हिंसात्मक सङ्घर्ष, बाह्रबुँदे सम्झौता, कथित बृहत् शान्तिसम्झौता, संविधानसभाको चुनाव र रातारात संविधान जारी हुँदै ‘यहाँसम्म’ आइपुगेको छ । प्रचण्डहरू विचार बदलेर शान्तिप्रक्रियामा आएका होइनन्, रणनीति मात्र बदलिएको हो, ‘माओवादी नेतृत्व’ अहिले पनि क्रान्ति प्रक्रियामै रहेको बुझ्न सक्नुपर्छ ।

प्रचण्ड सम्पूर्ण सत्ता कब्जाको दोस्रो र सम्भवतः अन्तिम प्रयत्न गर्दै हुनुहुन्छ । राजतन्त्र विस्थापित गरिसकेपछि मुलुकमा पैदा हुन सक्ने अवस्थाको विश्लेषण र व्यवस्थापन नगरीकन अगाडि बढ्दा आज देशले जस्तो अवस्थाको सामना गरिरहनुपरेको छ, प्रचण्डको योजनाअनुरूप नै सरकारबाट केपीको बहिर्गमन भयो भने देशले थप सङ्कट र अव्यवस्था झेल्नुपर्छ भन्ने पक्षलाई हामीले अहिले नै देख्न सक्नुपर्छ ।

यस क्रममा देशको एउटा सुगठित, भरोसायोग्य र शक्तिशाली पार्टीको नेतृत्व कब्जा गर्ने र, इटालीका ‘समाजवादी’ तानाशाह मुसोलिनीले झैँ वैधानिक प्रक्रिया पूरा गर्दै अधिनायकवादलाई संस्थागत गर्ने बाटोमा प्रचण्ड हुनुहुन्छ । प्रचण्डको यस्तो कपटी चाललाई परास्त गर्न सक्ने ल्याकत केपी ओलीमा रहेको विश्वास गरिन्छ । यसको अर्थ माधव नेपालले चाहिँ ‘माओवादी’लाई सर्वस्व सुम्पिनुहुन्छ भन्ने होइन, तर केपीले प्रचण्डहरूको खोटो रणनीतिक चालबाजीलाई बेकाम तुल्याइदिने क्षमता दर्शाइसक्नुभएको छ । प्रचण्डबाट २०६५ सालमै ‘विधिवत् सत्ता कब्जाको प्रयास भएको’ हो । त्यसबेला कतिपय अदृश्य कारण र सेनापति रुक्मांगद कटवालको अडानले प्रचण्ड–इच्छामा तुषारापात गराइदिएको हो ।

अब उहाँ सम्पूर्ण सत्ता कब्जाको दोस्रो र सम्भवतः अन्तिम प्रयत्न गर्दै हुनुहुन्छ । राजतन्त्र विस्थापित गरिसकेपछि मुलुकमा पैदा हुन सक्ने अवस्थाको विश्लेषण र व्यवस्थापन नगरीकन अगाडि बढ्दा आज देशले जस्तो अवस्थाको सामना गरिरहनुपरेको छ, प्रचण्डको योजनाअनुरूप नै सरकारबाट केपीको बहिर्गमन भयो भने देशले थप सङ्कट र अव्यवस्था झेल्नुपर्छ भन्ने पक्षलाई हामीले अहिले नै देख्न सक्नुपर्छ । मुलुकले शान्ति, समृद्धि र स्थायित्वको मार्ग तय गरेकै छैन, प्रचण्डहरू जनवादी क्रान्ति सम्पन्न भएको दाबीसहित ‘समाजवादमा फड्को मार्ने’ योजना प्रस्तुत गर्दै छन् ।

प्रचण्डले भन्ने गरेको समाजवादलाई हामीले अधिनायकवादबाहेक अन्य अर्थमा बुझ्यौँ भने त्योभन्दा ठूलो भ्रम शायद हुनेछैन । केपीबाट समृद्धिको जग रहला–नरहला, कम्तीमा अधिनायकवादमा जानबाट रोकिने सम्भावनाचाहिँ प्रबल छ । यस्तो अवस्थामा प्रचण्डको दोस्रो ‘एटेम्प्ट’लाई परास्त गर्न सक्ने नेतृत्वको अपरिहार्यता रहेको छ र, त्यो केपी ओलीबाट सम्भव छ भन्ने विश्वासका बलिया आधारहरू छन् ।

साधारण प्राणीहरू बाँच्नका लागि बाँचेका हुन्छन्, सृष्टिको ऋत धान्नु तिनको सामान्य संस्कार हो । तर, असाधारण मानिस बाँच्नुको कारण हुन्छ, कार्यकारणका निम्ति जन्म लिएकाहरूले आफ्नो कर्तव्य पूरा गरेर मात्र धर्तीबाट बिदा लिनु उचित हुन्छ । नेपाली दार्शनिक रूपचन्द्र विष्ट भन्नुहुन्थ्यो, ‘मेरो काम जनता जगाउने हो, तर यहाँका मानिस जाग्दै जागेनन्, जे–जति जागे ती पनि जाली–फटाहालाई काम लागे ।

म थाकिसकेको छु, मान्छे जगाउनु नपर्ने भएपछि मैले बाँचिरहनुपर्दैन ।’ तर केपीको काम सकिएको छैन, उहाँले गर्नुपर्ने कार्य अझै बाँकी छ, त्यसैले पनि केपी शर्मा ओली अस्पतालबाट सकुशल र अझै स्वस्थ भएर फर्कन आवश्यक छ, उहाँलाई स्वास्थ्यलाभको निम्ति कोटीकोटी शुभकामना । एकपटक फेरि बाँच्नका लागि शुभकामना !

प्रतिक्रिया दिनुहोस