बाबुराम र गच्छदारका पालामा १७२ रोपनी जग्गा व्यक्तिको नाममा

काठमाडौं :-  नेपाल ट्रस्टको नाममा आएर पनि काठमाडौं उपत्यकाभित्रको १ सय ७२ रोपनी जग्गा गुम्न पुगेको खुलेको छ।

तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई र ट्रस्ट अध्यक्षसमेत रहेका गृहमन्त्री विजयकुमार गच्छदारको पालामा उपत्यकामा रहेका १ सय ७२ रोपनी जग्गा विभिन्न व्यक्तिलाई बाँडिएको थाहा भएको हो।

मङ्‌गलबार ट्रस्टको सम्पत्ति विवरणसम्बन्धी श्वेतपत्र जारी गर्दै ट्रस्ट अध्यक्षसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उक्त जानकारी दिएका हुन्।

‘अहिलेसम्म नेपाल ट्रस्टको नाममा आएर गुमेको भनिएको १ सय ७२ रोपनी १५ आना जग्गा हो, जुन बाबुराम भट्टराई प्रधानमन्त्री र गृहमन्त्री विजयकुमार गच्छदार ट्रस्ट अध्यक्ष हुदाको बखत हो,’ पोखरेलले भने, ‘उक्त जग्गा फिर्ता ल्याउन र दोषीलाई कारबाही प्रक्रिया बढिसकेको छ, त्यो जग्गा फिर्ता आउँछ।’ उनका अनुसार छानबिन प्रक्रिया अघि बढिसकेको छ।

nepal trust baburam22

जारी श्वेतपत्रमा उल्लेख भएअनुसार २०६९ साल कात्तिक ७ गते भट्टराई मन्त्रिमण्डलको विधेयक समितिको निर्णय अनुसार ट्रस्टको जग्गा व्यक्तिको नाममा नामसारी गरिदिएको देखिन्छ। यसरी नामसारी भएका जग्गामध्ये काठमाडौं मातातीर्थको ३४ नम्बर कित्तामा रहेको ५९ रोपनी १ आना ३ पैसा, थानकोट महादेवस्थानमा रहेको ४३ नम्बर कित्ताको १ सय २ रोपनी ३ पैसा, सतुङ्‌गलस्थित कित्ता नम्बर १ को १ रोपनी ६ आना १ पैसा र वालाजु इचंगुको कित्ता नम्बर २७ को १० रोपनी ६ आना १ पैसासहित कूल १ सय ७२ रोपनी १५ आना रहेको देखिन्छ।

सोही निर्णयका आधारमा मालपोत कार्यालय, कलङ्‌कीले नेपाल ट्रस्टको नाममा लालपुर्जामा भएको पूरै जग्गा मोही तथा निजको हकवालाको नाममा नामसारी गरिएको उनको भनाइ छ।

साथै, ताहाचलको जग्गा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र जनार्दन शर्माले लिजमा लगाएको देखिन्छ। दरबारमार्गको जग्गा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधिले लगाएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस