निजगढ विमानस्थलभित्र लुकेको पक्ष, जुन कहिल्यै चर्चामा आएन

सन्ताेष राेकाया/काठमाडौं : सरकारले निजगढ विमानस्थललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछाडिको अर्को वैकल्पिक विमानस्थलका रुपमा लिएको छ । तर, यो विमानस्थलको जुन रुपमा प्रचार प्रसार गरिएको छ त्यही अनुरुप कार्यशैलीमा भने कुनै प्रगति र परिवर्तन देखिँदैन ।

विगत २५ वर्षदेखि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्छ भन्ने हल्ला मात्र भयो । तर, त्यस अनुसारको व्यवस्थापन र तयारी भने न सरकारी स्तरबाट भयो न त स्थानिय नागरिकबाट नै ।

सरकारले जुन उद्देश्यले मुलुकको राष्ट्रिय गौरवको आयाेजनाको रुपमा निजगढलाई अगाडि सार्यो त्यो अनुसारको रणनीति र व्यवस्थापनमा कमजोर भने अवश्य नै भएको हो ।

स्थानिय नागरिकको अवरोधमै सरकार रुमल्लियो । उनीहरुलाई प्राविधिक पक्षको ज्ञानप्रति सजग र जानकार बनाउनु पर्छ भन्नेतर्फ सरकारले कहिल्यै सोचेन । बरु विमानस्थललाई राजनीतिक मुद्धा बनाएर स्थानियका समस्याहरु समाधान गरी विमानस्थल बनाउँछौं भन्नेतर्फ राजनीतिक दलहरु सक्रिय बने ।

२५ वर्ष अगाडि प्रस्तावित बारा जिल्ला अन्तर्गत निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नेपालको पर्यटन क्षेत्रको उपयोग, २०औं लाख नेपाली जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष परोक्ष रोजगारी तथा नेपाली जनताको समृद्ध भविष्यका लागि कोशेढुंगा बन्ने भनियो ।

तर, यसको उपयुक्तता, औचित्यता र आवश्यकताको बारेमा विश्वसनीय तथ्य र प्राविधिक ज्ञानप्रति भने कहिल्यै प्रष्ट पारिएन ।

यसमा लुकेको पक्ष के हो ?

नेपालमा भएको एउटा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई विस्तार गर्न असम्भव छ । यसको वैकल्पिक रुपमा निजगढलाई हेरिएको छ । हवाई ट्राफिकका रुपमा पनि त्रिभुवन विमानस्थलमा समस्या छ ।

तर, निजगढ बनेपछि त्यो समस्या आफै हट्ने जानकारहरु बताउँछन् । निजगढ  विमानस्थलले कार्बन उत्सर्जन घटाई वातावरणीय पक्षमा महत्वपूर्ण योगदान पुर्याउन सक्ने छ भने हिमालय रुट कार्यान्वयनमा ल्याउनमा पनि सहयोग गर्ने जानकारहरु बताउँछन् ।

उडानको सिट क्षमता, यात्रु संख्या, कार्गो तथा इन्धन खपतको आधारमा कार्बन उत्सर्जनको हिसाव निकालिने कार्बन इमिसन क्याल्कुलेटका अनुसार काठमाडौंदेखि हंगकंङसम्मको १५० यात्रु बोकेको उडानले झन्डै ३२.६ टन कार्बन उत्सर्जन गर्ने देखिन्छ ।

चार घण्टाको उडानमा यति कार्बन उत्सर्जन हुन्छ भने कम उचाइमा होल्डमा रहेको विमानले त झन बढी कार्बन उत्सर्जन गर्ने निश्चित छ । तर, निजगढ विमानस्थलबाट काठमाडौंको होल्डिंगको वातावरणीय प्रभावलाई सजिलै अन्दाज गर्न सकिन्छ ।

निजगढ विमानस्थल नै यो समस्याको सजिलो समाधान हुने भएको नेपाल नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक राजन पोखरेल बताउँछन् । यो विमानस्थलले देशलाई मात्र होइन बंगालको खाडी भएर जाने हवाई ट्राफिकको चापलाई समेत कम गरी क्षेत्रीय उडान सुरक्षामा समेत अतुलनीय योगदान गर्ने पोखरेल बताउँछन् । तर, यी  पक्ष भने सधै गुपचुपमा रहे ।

निजगढ विमानस्थल अन्य देशको जस्तै एउटा महत्वपूर्ण ट्रान्जिट हबको रुपमा प्रवद्र्धन गराई देशको भौतिक विकासमा महत्वपूर्ण भूमिका खेल्न सकिने देखिन् छ । एसियाली विकास बैंकको एउटा प्रतिबेदनका अनुसार यो विमानस्थलाई निर्माण गरेर सञ्चालनमा ल्याउन सके सगरमाथा दृश्यावलोकनको एउटा महत्वपूर्ण रुटको रुपमा प्रवद्र्धन गर्न सकिने उल्लेख गरिएको छ ।

निजगढ विमानस्थल निर्माण हुनुपर्ने पडाडिका धेरै आधारहरु छन् । त्यसमध्ये पनि यसको उपयुक्त भूवनोट, जिरो भिजिविलिटीको सुविधा राजधानीसँगको दूरी कम भएकोले पनि यो निर्विकल्पकाे विमानस्थल हो ।

निजगढ विमानस्थल र यसको अन्तर्राष्ट्रिय पक्ष

सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलाई एउटा हब विमान स्थलको रुपमा विकास गर्ने लक्ष्य लिएको छ । तर, त्यो अनुरुप तयारीमा भने कमजोर अवश्य नै देखिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री यागेश भट्टराईले विभिन्न सभासमारोहमा विमानस्थल निर्माणका लागि अन्तर्राष्ट्रिय लगानी नजुटे सरकार आफैले निर्माण गर्ने, स्थानिय वा जो कोहिले अवरोध गरेपनि बलजफत् तरिकाले विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने बोल्दै आएपनि त्यो भने लागु गर्न सकेका छैनन् ।

भारतको उत्तर पूर्वी हवाई आकाश अर्थात नेपालको दक्षिणी भाग संसारकै अत्यधिक हवाई चाप हुने मध्येको मानिन्छ । यहाँबाट हंगकंग, बैंकक र सिंगापुरजस्ता दक्षिण पूर्वी एसियाका गन्तव्यहरुबाट बंगालको खाडी र उत्तर पूर्वी भारत हुंदै दिल्ली तथा त्यहाँबाट मध्यपूर्व तथा युरोप र अमेिरकी गन्तव्यहरुको लागि दिनमै सयौं उडानहरु आउने जाने गर्दछन् ।

यो छोटो र सिधा रुट भएको कारण सबैको सरोकारको विषय बनेको छ । निजगढ विमानस्थल बनेमा तुरुन्तै कार्यान्वयनमा आउन सक्ने यो हिमालय रुट देशको भविष्य हो । हिमालय रुट कार्यान्वयनमा आएपछि यसले बिश्व वातावरणमा ल्याउने सकारात्मक प्रभाव पनि उतिकै महत्वपूर्ण छ ।

हंगकंङदेखि काठमाडौं, दिल्ली, मुम्बई तथा मध्यपूर्वी मुलुकहरुको लागि हप्तामा झन्डै १ सय वटा नियमित यात्रु उडान र त्यतिकै संख्यामा कार्गो उडान हुने गर्छन् । प्रत्येक उडानमा एकतर्फी १ सय ९२ किलोमिटर छोटो पर्न जाने भनेको १५ मिनेट भन्दा बढी उडान अवधि घट्नु हो ।

एउटा मध्यम वर्गको जेट विमानले १ घण्टामा न्यूनतम २ हजार २ सय लिटर र ठूलोले ११ हजार ८ सय लिटरसम्म इन्धन खपत गर्दछ । यो रुट संचालनमा आएमा यसबाट वार्षिक ४ हजार ८ सय ६७ टन इन्धन बचत हुने देखिन्छ भने वार्षिक झन्डै ३९ हजार टन कार्वन उत्र्सजन घटाउन टेवा दिने पोखरेलको भनाइ छ ।

विदेशी वायुसेवाले नेपाली आकाश प्रयोग गरेवाफत करोडौं रुपैयाँ आयआर्जन गर्न सकिने पनि उनले बताए । देशको वातावरणीय आर्थिक र सामाजिक पक्षबाट निजगढ विमानस्थल अपरिहार्य भएको जानकारहरु बताउँछन् ।

हालसम्मको प्रगति के छ ?

आर्थिक वर्ष २०७१/७२ मा शुरु भई आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न गर्ने अपेक्षा गरिएकोमा संशोधित कार्य तालिका अनुसार आर्थिक वर्ष २०९१/९२ मा सम्पन्न गने लक्ष्य रहेको छ। यस आयोजनाको कुल अनुमानित लागत १ खर्ब २० अर्ब रहेको छ।

लगानी बोर्डबाट आयोजना निर्माण मोडालिटिको बारेमा अन्तर्राष्ट्रिय कम्पनीसँग सम्झौताको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। आयोजनाका लागि चालु आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब ५० करोड बजेट विनियोजन भएकामा हालसम्म खर्च भएको छैन।

प्रतिक्रिया दिनुहोस