पर्वत :-  जिल्ला प्रहरी कार्यालय पर्वतले सदरमुकाम कुश्माबजारबाट ठुलो परिमाणमा घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।

बजार क्षेत्रभित्रै अबैध रुपमा व्यासायिक प्रयोजनका लागि उत्पादन हुँदै आएको गुनासो बढेपछि प्रहरीले आइतवार विहानैदेखि छापा हानेको थियो । कुश्माबजारको वडा नं. ४ र वडा नं. ५ वाट झण्डै आधा दर्जन भन्दा बढि घरवाट ४ हजार ५ सय लिटर मदिरा बरामद गरिएको प्रहरी निरिक्षक विकास थापाले जानकारी दिए ।

उनका अनुसार विभिन्न क्षेत्रमा अबैध र गुणस्तरहिन घरेलु मदिरा उत्पादन, विक्रि बितरण तथा सेबन गरि दैनिक रुपमा घरायसी झै-झगडा, सवारी दुर्घटना, लैङ्गिक हिँसाका घटना तथा जघन्य प्रकृतिका घटना घटिरहेको साथै छरछिमेकबाट समेत गुनासाहरु बढेपछि प्रहरीले उत्पादन हुने स्थानको खोजी गरेको हो ।

प्रहरीको टोलीले तयारी अवस्थामा रहेको लोकल मदिरा र मदिरा बनाउने कच्चा पदार्थ गरी झण्डै ४ हजार ५ सय लिटर र रक्सी बनाउने भाडाहरु बरामद गरेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।

उक्त मदिरा कुश्मा नगरपालिकाका जनप्रतिनिधि र पत्रकारहरुको रोहबरमा जिल्ला प्रहरी कार्यालयको प्राङगणमा नष्ट गरिएको थियो।