सभामुख अग्नि सापकोटाले मंगलबारको संसद बैठकमा महराको सांसद पद निलम्बन फुकुवा भएको जानकारी गराए । काठमाडौं जिल्ला अदालतले महराले सफाई पाएको पत्र मंगलबार संसद सचिवालयलाई पठाएपछि उनको निलम्बन फुकुवा भएको हो ।

बलात्कार प्रयासको आरोप लागेपछि महराले गत असोज १४ गते सभामुख पदबाट राजीनामा दिएका थिए । महराविरुद्ध प्रहरीले बलात्कार प्रयासको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेपछि सांसद पद निलम्बन भएको थियो ।

यता, काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले सरकारवादी मुद्धामा पीडितले बयान फेरेकै आधारमा उन्मुक्ति दिने नमिल्ने जिकिर गरेको छ । फैसलाको पूर्णपाठ आएलगत्तै सरकारी वकिलको कार्यालय पुनरावेदनमा जाने तयारीमा छ ।