दंगीशरणमा सडकको स्तरोन्नति हुँदै, नयाँ उत्तर मार्ग खोलियो

दिप्तीशिखा चौधरी/दाङ :-  दंगीशरण गाउँपालिका जाने सिधा बाटो तुलसीपुर सुर्खेत सडकको स्तरोन्नति गर्ने कार्यले तिव्रता लिएको छ । अबको अषाढ मसान्त सम्म आर्थिक वर्ष २०७६/०७७ मा योजनामा परेका बाटाहरु फराकिलो संगै पक्की बनाउने कार्य सम्पन्न गर्नका लागि बाटाहरु बन्ने कार्यले तिव्रता लिएको हो । १५ सय मिटर बाटोको स्तरोन्नति पछि कालोपत्रे गरिने गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिए । केन्द्र र प्रदेश सरकारको ३ करोड ५० लाखमा सडक स्तरोन्नति सँगै कालोपत्रे गरिन लागेको अध्यक्ष चौधरीले जानकारी दिए ।

सडकलाई १२ मिटर चौडाईमा फराकिलो पारिएको छ भने ४५ मिटर चौडाईमा नाला निर्माण गरिदैछ । स्मृति विशाल कन्ट्रक्शन सेवा राङ्सी ९ रोल्पाले २०७६ पुस महिनामा भौतिक पूर्वाधार विकाश कार्यालय दाङसँग सम्झौता गरेको थियो ।

सम्झौता गरे अनुसार नाली निर्माण संगै सडक पराकिलो पार्ने काम सम्पन्न गरेको छ । सडक स्तरोन्नती संगै सडक पक्की गर्ने कार्यलाई तत्काल चैत्र महिना भित्र सम्पन्न हुने गरि शुरु गरेको छ । सडक पक्की गर्ने कार्य सम्झौता गरेअनुसार चैत्र महिना भित्र सम्पन्न हुने स्मृति विशाल कन्ट्रक्शन सेवा राङ्सी ९ रोल्पाका प्रोप्राईटर ंगोपाल वलीले जानकारी दिए । नाली निर्माण, सडक फराकिलो सँगै सडक पक्की बनाउने कार्य एकैसाथ भएकाले यो वर्षका लागि १५ सय मिटर बाटोले नयाँ मुहार फेर्दैछ । समृद्ध दंगीशरण निर्माणका लागि भौतिक पूर्वाधार अन्तर्गत दंगीशरणका सबै बाटाहरु पक्की बनाउने कार्यलाई तिव्रता दिईने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ ।

सांसद वलीद्धारा अवलोकन


यसैबिच प्रदेश सभा सदस्य माननिय विमला वलीले सडकको अवलोकन गरेकि छिन् । सांसद वलीले भौतीक पूर्वाधारका कार्यलाई जनताले चाहेको विकाश लाई उनीहरुले अनुभव गर्न पाउँने गरि अगाडि बढाउनुपर्ने बताईन् । सडक अवलोकनका क्रममा सांसद वलीले प्रदेश सरकारबाट पश्चिम क्षेत्रको विकासका लागि आफु सधैं पहल गर्ने बताईन् । सडक, खानेपानी र सिँचाईलाई स्थानीय सरकारले जोड दिनुपर्ने भन्दै प्रदेशबाट गर्नसक्ने सहयोगलाई आफुले गर्ने सांसद वलीले बताईन् ।

यसैबिच दंगीशरण गाउँपालिका वडा नं. २ स्थित बंगालपुर देखि कवरबस्ती हुदै नमुनाटोल कौवाघारी जोड्ने सडकको ट्रयाक खोलिएको छ । स्व. माननीय उत्तर कुमार वलीको नामबाट नामाकरण गरि सो सडकको नाम उत्तर मार्ग राखिने नेकपा दंगीशरण गाउँकमिटी गोल्टाकुरीले जनाएको छ । करीव १ किलोमीटरको सडकको नयाँ ट्रयाक खोलेपछि स्थानीयले सहज रुपमा आवतजावत गर्न सक्नेछन् ।

“स्थानीयको समस्यालाई मधयनजर गर्दै नयाँ ट्रयाक खोलीएको छ केहि समयपछि यसलाई पक्की बनाईनेछ” – यूवा नेता एमएन शाहले भने । नेकपाका यूवा नेताहरु भरत परियार, जितेन्द्र खड्का र डमवर खत्री लगायतबाट बजेट संकलन गरि करिव ८० हजारको लागतमा नयाँ बाटोको ट्रयाक खोलिएको शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस