सरकार परिवर्तनको पक्षमा काँग्रेस छैन : उपसभापति निधि

काठमाडौं :-  नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले आफ्नो पार्टी अहिले सरकार परिवर्तनको पक्षमा नरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले काँग्रेसको अहिलेको रुचिको विषय सरकार परिवर्तन नरहेको प्रस्ट पार्नुभयो । सरकार परिवर्तनको विषय सत्ता पक्षको आन्तरिक विषय भएको उहाँको भनाइ थियो । उपसभापति निधिले भन्नुभयो, “हामी सरकार ढाल्नेमा छैनौँ । आफ्नै महाधिवेशनको तयारीमा जुटेका छौँ ।” उहाँले नेपाली काँग्रेसको चौधौँ महाधिवेशन सार्वजनिक भएको तालिकाअनुसार नै सम्पन्न हुने बताउँदै पार्टीभित्र सैद्धान्तिक विषयमा कुनै मतभेद नरहेको तथा पार्टी विधान र सहमतिअनुसार नै चलेको छ भन्नुभयो । काँग्रेस प्रतिपक्षको भूमिकामा नचुकेको दाबी गर्दै उहाँले सरकारले ल्याएका जनविरोधी कानून जस्ताको तस्तै पारित गर्न काँग्रेसले नै रोकेको उहाँले बताउनुभयो । काँग्रेस जिम्मेवार र शालीन प्रतिपक्ष भएकाले आफ्नो भूमिका पनि सोही अनुसारको रहेको उहाँको भनाइ थियो । उपसभापति निधिले सरकारको दुई वर्ष पूर्णरुपमा असफल भएको आरोप लगाउँदै उक्त अवधिमा महँगी बढेको, शान्तिसुरक्षा कायम हुन नसकेको, विदेश नीति कमजोर बनेको र विकास निर्माण हुन नसकेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस