पाटन विमानस्थलमा गरियो कालोपत्रे, तत्काल सञ्चालनमा भने नआउने

काठमाडौं :-  सुदूरपश्चिमको दोस्रो ठुलो बैतडीको पाटन विमानस्थल कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ । २०७५ असारमा सक्ने लक्ष्यसहित कालोपत्रे गर्ने कार्य शुरु भएको भएपनि ढिलो गरी कालोपत्रे गर्ने कार्य सम्पन्न भएको हो ।

माघ दोश्रो हप्ता विमानस्थल कालोपत्रे गर्ने कार्य सम्पन्न भएको र अहिले किनारमा पेन्टिङको काम चलिरहेको निर्माण कम्पनीका इन्जिनियर पुरन रावलले जानकारी दिए । विमानस्थल कालोपत्रे गर्ने कार्य लक्ष्य भन्दा झण्डै १८ महिनापछि सम्पन्न भएको हो । ग्याल्वा च्यामलिंगा जगदम्बा जेभीले पाटन विमानस्थल कालोपत्रे गर्ने कार्य गरेको हो । पाटनमा विमानस्थलमा ५९० मिटर लम्बाई र २० मिटर चौडाईको धावन मार्ग कालोपत्रे गरिएको हो भने ७० मिटर लम्बाई र ३० मिटर चौडाईको एप्रोन कालोपत्रे गरिएको हो ।

 

यसका लागि करीब मूल्य अभिवृद्धि कर बाहेक ११ करोड २९ लाखको लागतमा ठेक्का सम्झौता भएको थियो । कालोपत्रे गर्ने कार्य सम्पन्न भएपछि हस्तान्तरणको प्रक्रियामा जाने कम्पनीका इन्जिनियर रावलले बताए । पाटनमा २०३२ सालमा विमानस्थल निर्माणको काम शुरु भएर २०३५ सालदेखि हवाई सेवा शुरु भएको थियो । पछि २०५२ सालदेखि विमानस्थल बन्द भएको थियो । त्यतिबेला पहाडी जिल्लाहरुमा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमानस्थल बन्द गरिएको थियो । २०५८ सालमा तत्कालिन विद्रोही माओवादीले विमानस्थलको टावरमा आगो लगाएर ध्वस्त बनाएको थियो ।

पाटन विमानस्थल कालोपत्रे गरिएको भएपनि तत्काल विमानस्थल सञ्चालन हुने अवस्था भने छैन् । विमानस्थलको टर्मिनल भवन निर्माण नभएकाले तत्काल विमानस्थल सञ्चालन आउन नसक्ने बताइएको छ । टर्मिनल भवन निर्माण, पर्खाल र नालीका लागि ठेक्का समेत भएको छैन् । त्यसकारण विमानस्थल कालोपत्रे भएपनि तत्काल सञ्चालन नआउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस