नव प्रहरी प्रमुखको बहादुरी चितवनमा अवैध चलेको डोजर, टिपर र ट्राक्टर नियन्त्रणमा लिए

हिमाल विश्वकर्मा/ चितवन: चितवनमा नयाँ प्रहरी प्रमुखमा नान्तीराज गुरुङ आएसँगै सुरक्षा व्यवस्था कडा पारेका छन् ।
प्रहरीले चितवनमा जथाभावी नदीजन्य सामग्री उत्खनन्मा प्रयोग भएका डोजरसहित टिपर र ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । तोकिएको परिमाणभन्दा बढी नदीजन्य पदार्थ उत्खनन् तथा ढुवानी भएको सूचनाका आधारमा उक्त सवारी साधनलाई नियन्त्रणमा लिइएको गुरुङले बताए ।
जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले भरतपुर महानगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाको सिमानामा बग्ने खगेरी खोलाबाट तीन डोजर, १० वटा टिपर र १० ट्याक्टरलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका सबै सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय चितवन परिसरमा राखिएको छ ।
सो खोलाको ठेक्का बोलपत्र मार्फत् इच्छाकामना गाउँपालिकाले लगाएको थियो । धादिङको जोगीमारा कन्स्ट्रक्सन प्रालिले ठेक्का लिएको थियो । इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले खोलाबाट ३५ हजार घनमिटर भन्दा बढी ग्राभेलका सामग्री निकाल्न स्वीकृति दिएको थियो । तर, उक्त कन्स्ट्रक्सनले सोभन्दा बढी परिमाणमा गिट्टी बालुवा निकाली सकेको सूचनाका आधारमा पक्राउ गरिएको हो ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले दैनिक १० भन्दा बढी टिपर र १० भन्दा बढी ट्याक्टरले ग्राभेल उठाउँदा तोकिएको भन्दा बढी नदीजन्य सामग्री उत्खनन् भएको देखिएकोले पक्राउ गरिएको बताए । उनले यसबारेमा जिल्ला समन्वय समितिले छानबिन गर्ने बताए । जोगीमाराले ठेक्का लिए पेटी ठेक्कामा अरुले काम गर्दै आएका थिए । खगेरी खोलामा ठेक्का लगाउने विषयमा भरतपुर महानगरपालिका र इच्छाकामनाका बीचमा विवाद हुँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस