अमेरिकाविरुद्ध नेपाल ३५ रनले विजयी

काठमाडौं :- क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गत अमेरिकाविरुद्धको खेल नेपालले जितेको छ । यसअघि ओमानसँग पराजित भएको नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकालाई ३५ रनले पराजित गरेको हो ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपाल सुरुमै दबाबमा परे पनि पछि सम्हालिएर खेलेकाले जित दर्ता गराउन सफल भयो ।

नेपालले प्रस्तुत गरेको १ सय ९१ रनको लक्ष्य पछ्याएको अमेरिका ४४ दशमलव १ ओभरमा १ सय ५५ रन बनाउँदै अलआउट भयो ।

नेपालले दोस्रो ओभरमै स्पिनर सन्दीप लामिछानेलाई बलिङमा ल्याएको थियो । सन्दीपले चौथो बलमा ओपनर आरोन जोन्सलाई ५ रनमा एलबिडब्लू आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाए ।

तेस्रो ओभरको चौथो बलमा करण केसीले अमेरिका प्रमुख ब्याट्सम्यान स्टिभन टेलरलाई दीपेन्द्र सिंह ऐरीबाट शून्यमा क्याच गराए । करणले अन्तिम बलमा जेभियर मार्शललाई विकेटकिपर विनोद भण्डारीबाट २ रनमा क्याच गराए । चौथो ओभरको चौथो बलमा सन्दीपले मोनाक पटेललाई ४ रनमा एलबीडब्लु आउट गरे ।

विनोद र कुशलको रेकर्ड

नेपालका विकेटकिपर विनोद भण्डारीले अमेरिकाविरुद्धको खेलमा अर्ध शतक पूरा गरे । यो उनको नयाँ रेकर्ड हो ।

विनोदले ६२ बलमा अर्ध शतक पूरा गरी रेकर्ड बनाएका हुन् । ओडीआई करिअरको पहिलो अर्ध शतक पूरा गर्न सफल विनोदले ६२ बल फाल्दा ५ चौका र १ छक्कासहित ५० रन बनाए ।

टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपाल सुरुमै दबाबमा परेको थियो । तीन ओभरमै चार विकेट गुमाएर हारतिर लम्किेको नेपालले विनोदकै अर्धसतकपछि अमेरिकालाई दबाबमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस