भ्यालेन्टाइन संस्कृति कि विकृति ?

अबिसेक डाँगी/काठमाडौं :-

प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे प्रेम जोडीहरूका लागि महत्त्वपूर्ण दिन मानिन्छ । जोडी खोज्दै गरेका तथा प्रेम प्रस्ताव राख्ने मनसाय बनाएकाहरूका लागि पनि प्रणय दिवस उत्तिकै महत्त्वपूर्ण छ । विशेष गरी यो १४ फेब्रुअरीका दिन यो दिवस मनाइने गरिन्छ । भ्यालेन्टाइन डे आफैँमा एक रोमान्टिक र प्रेममय दिन हो । प्रेम अक्सीजन जतिकै हो । यो एकदमै अनियंत्रित पनि हुन्छ ।

कसैलाई यति र उति मात्र गर्छु भन्दा पनि त हुदैन् प्रेम गर्नका लागि कुनै सीमितता छैन् यो त एउटा बाँच्ने आधारशिला हो । जीवनमा आफूलाई प्रेम गर्नेहरु र आफूले प्रेम गरिनेहरु भएन् भने जिउनुमा कुनै सार्थकता हुदैन्थ्यो होला ? प्रेम दुई विपरित लिङ्घी वीचको मात्र होइन् वास्तवमा प्रेम त परिवारसंग हुन्छ, साथीहरुसंग हुन्छ, आफना प्रियजनहरुसंग पनि त हुन्छ । त्यसैले त प्रेमले मानिसलाई एक किसिमको बाँच्ने उर्जा दिन्छ । प्रणय दिवसका रुपमा रहेको यस दिन युवाले मन पर्ने प्रेमिका वा प्रेमीलाई बर्षाै आँट गर्न नसकेका प्रेम प्रस्ताव राख्ने गर्छन । सोही कारण पनि यस दिन युवायुवतीको विशेष आकर्षण दिन हुने गर्छ ।

त्यसैमा पनि सबैभन्दा बढी दिवस मनाइने देशमध्य नेपाल अग्रपंक्तिमा पर्ने गर्छ। नेपालीहरूले आफ्नो मौलिक संस्कृतिलाई भुल्दै गइरहेका छन् भने पाश्चात्य संस्कृतिलाई दिन दुर्इगुणा रात चौगुणा अँगाल्दै गइरहेका छन्। देश लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि नेपालीहरूलाई दिवसको कुनै कमी छैन। लोकतन्त्र दिवस, गणतन्त्र दिवस, शहीद दिवस हुँदै अहिले फागुन २ अर्थात १४ फेबु्रअरी प्रणय दिवसलाई धुमधामको साथ मनाउने चलन पनि देशमा सुरु भएको छ।

प्रेमको आफ्नै परिभाषा छ। प्रेमको महत्त्व आफ्नो ठाउँमा छ। प्रेमलाई अहिले हल्का रूपमा लिने क्षणिक स्वार्थ पूर्ति गर्ने अनि छोड्ने अनि अर्को प्रेम गर्ने संस्कृतिको विकास पनि सँगसँगै बढ्दै गएको समयमा पादरी सेन्ट भ्यालेन्टाइनको शहादतसँग सम्बन्धित रहेको यस दिवसबारे जानेर बुझेर भन्दा पनि एउटा लहैलहैमा यसलाई मनाउन हाम्रा युवायुवतीहरू लागिपरेका छन्।

तत्कालीन रोमन सम्राट क्याउडियस द्वितीयले युवालाई प्रेम र विवाह गर्न बन्देज लगाएका थिए। भ्यालेन्टाइनले सम्राटको लगाएको प्रतिबन्धलाई अवश्य गरे। उनले प्रेम र विवाहका लागि युवायुवतीलाई प्रेरित गरे। उनले र्सार्वजनिक स्थलमा सामूहिक विवाह गराए। प्रतिबन्ध उल्लङ्घन गरेको आरोपमा उनलाई २७० फेब्रुअरी १४ मा मृत्युदण्ड दिइयो। प्रेमको लागि प्राण उर्त्र्सग गर्न उनै भ्यालेन्टाइनको सम्झनामा प्रत्येक वर्षको १४ फेबु्रअरीलाई प्रेम दिवसको रूपमा मनाउन सुरुसँगै नेपालका प्रेम र प्रेमी अर्थात युवाहरू यसलाई विशेष पर्वको रूपमा मनाउन तल्लीन छन्।

आफूले मन पराएका युवाले युवतीलाई यसै पर्वको दिन पारेर रातो गुलावको फूल र उपहार दिने, प्रेम प्रस्ताव राख्ने चलन बढेर गएको छ। अहिले युवायुवतीबीच भ्यालेन्टाइनको नाममा प्रेम प्रस्ताव राख्ने र आफ्नो यौनवासना पूरा गर्ने अनि अर्को वर्षको भ्यालेन्टाइनमा अर्कै युवासंग प्रेम प्रस्ताव राख्ने प्रचलन पनि विकृतिको रूपमा बढेर गएको छ।

भ्यालेन्टाइन डे मनाउने प्रचलन पश्चिमा संस्कृति भए पनि नेपालमा यसको प्रभाव छोटो समयमा बढ्दै गयो। यसलाई काठमाडौं, पोखरा, धरान, दाङ, नेपालगन्ज,बुटवल लगायतका ठाउँमा फरक फरक शैलीले बनाइने गरिन्छ। यो दिवसमा प्रेम र प्रेमी एक आपसमा प्रेम प्रस्तुत गर्न गुलाफको फूल अनिवार्य भए पनि बागलुङ जिल्लामा गुलाफको फूल नपाउने भएपछि स्टिक गुलाफको कृत्रिम फूलको गुच्छा र ग्रिटिङ कार्ड दिने चलन बढेको व्यापारीहरू बताउँछन्।

अहिले नेपालमा आफ्नो मौलिक संस्कृति र परम्परालाई छोड्दै जाने विदेशी अर्थात पाश्चात्य प्रभावलाई अँगाल्दै जाने प्रवृत्तिको विकास हुँदै जानु राम्रो होइन, महिला अधिकारकर्मी लक्ष्मी बास्कोटा बताउनुहुन्छ। अहिले दिवस मनाउने नाममा जे पनि मनाउने प्रचलन बढ्दै गएको नक्कल गर्ने प्रचलन बढ्दै गएको हुँदा यसले विकृति र विसंगति भित्र्याउन लागेको छ। प्रेम दिवस के को लागि मनाउने यसको प्रचलन कसरी सुरु भयो भन्ने कुरा नबुझी आजकलका युवाहरू यसको पछाडि लागि रहेको बास्कोटा बताउनुहुन्छ।

नेपालको आफ्नै मौलिक परम्परा र संस्कृतिलाई छोड्दै जाने, विदेशीको संस्कृति पनि बुझ्दै नबुझी अँगाल्दै जाने आफ्नो गुरु र बाबा आमालाई नमान्ने अरु विभिन्न दिवस मनाउँदै जाने प्रचलनको विकास भएको अनेरास्ववियुका केन्द्रीय सदस्य युवा नेता रोहित शर्मा बताउनुहुन्छ।

विकासक्रमसँगै हामीले मनाउन खोजेको प्रेम दिवस किन के को लागि भन्ने बुझेर मनाउनुभन्दा पनि अनावश्यक रूपमा मनाउने फजूल खर्च गरेर समय बर्बाद गर्नु उचित हैन शर्मा बताउनुहुन्छ।

प्रेम दिवस मनाउनु नराम्रो होइन तर यसलाई एउटा पर्वको रूपमा मनाउन यसको मर्म बुझ्न जरूरी छ। प्रेमको परिभाषालाई विकृति र विस·तिको रूपमा विकास गर्दै लग्न हुँदैन प्रेम भनेको खाली युवा र युवतीहरूको बीचको सम्बन्धमात्रै प्रेम होइन प्रेमको परिभाषा व्यापक छ। त्यसलाई सही ढङ्गले प्रेम दिवस मनाउनु राम्रो हुने धारणा कलाकार मरिचमान श्रेष्ठले उर्फ (बल्छि धुर्बे)ले बताउनुहुन्छ।

अहिले यसलाई एउटा उत्सवको रूपमा मनाउने, रमाइलो गर्ने प्रचलन बढेर गएको छ त्यसले गर्दा भ्यालेन्टाइन डे संस्कृतिभन्दा पनि विकृतिको रूपमा विकास हुँदै गएको छ। भ्यालेन्टाइनलाई सही ढङ्गले बुझ्न जरूरी रहेको नेपालयन खबरका अध्यक्ष भागवत भट्टराईले बताउनुहुन्छ।

प्रतिक्रिया दिनुहोस