ललिता निवास जग्गा अनियमितता प्रकरणमा १ सय ७५ जनमाथि मुद्दा दायर

काठमाडौं :-  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा संलग्न भएको आरोपमा १ सय ७५ जनमाथि मुद्दा दायर गरेको छ ।

अख्तियारले बुधबार पूर्वमन्त्री एवं कांग्रेस नेता विजय कुमार गच्छदार, चन्द्रदेव जोशी र डम्बर श्रेष्ठसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । जसमा पूर्वसचिवहरु छविराज पन्त, दिनेशहरि अधिकारी र दीप बस्न्यात पनि रहेका छन् ।

त्यसैगरी ब्यापारी मीनबहादुर गुरुङविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । सरकारले अधिग्रहण गरेको जग्गा राजनीतिक कारणले जफत भएको भनी फिर्ता गराएर विभिन्न व्यक्तिको नाममा नामसारी गर्न सहयोग गरेको अभियोगमा अख्तियारले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले ललिता निवासको २ सय ९९ रोपनी मध्ये १ सय १४ रोपनी जग्गा हिनामिनामा मुद्दा चलाउन सिफारिस गरेको थियो ।

पूर्व सचिव शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन समितिले भूमाफिया र उनीहरूलाई सहयोग गर्नेहरूको नामै किटेर कारवाही गनुपर्ने सिफारिस सहितको प्रतिवेदन बुझाएपछि अख्तियार, सिआईबी र भूमि व्यवस्था मन्त्रालयले यस विषयमा अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस