वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको अन्त्येष्टी

काठमाडौं :-  नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक तथा वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको बुधबार निधन भएको छ । उनको पशुपति आर्यघाटमा बुधबारनै अन्त्येष्टि गरिएको छ ।

शर्माको उपचारका क्रममा बिहान शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियो थोरासिस एन्ड भास्कुलर सेन्टरमा निधन भएको हो । उाको २४ वर्षअगाडि ओपन हार्ट सर्जरी गरिएको थियो । शर्मालाई इन्फेक्सनको समस्या भएपछि शुरुमा गंगालाल अस्पताल भर्ना गरिएको थियो ।

गंगालालमा ५ दिन उपचार गरी उनलाई मंगलबार राती मनमोहन अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गर्दा गर्दै निधन भएको परिवारिक स्रोतले जनाएको छ ।

गोरखापत्रबाट पत्रकारिता सुरु गरेका शर्माले रेडियो नेपाल हुँदै लामो समय नेपाल टेलिभिजनमा काम गरेका थिए । २०४१ सालमा नेपाल टेलिभिजनको स्थापना भएलगत्तै शर्माले टेलिभिजन पत्रकारिता सुरु गरेका थिए ।

विश्व घटना नामक कार्यक्रम सञ्चालन गरेर उनले ख्याति कमाएका थिए ।

उनले नेपाल टेलिभिजनमा समाचारवाचक, कार्यक्रम प्रस्तोता, समाचार निर्देशक र महाप्रबन्धक लगायत नेतृत्व तहको विभिन्न पदमा रही जिम्मेवारी सम्हालेका थिए । शर्मा पत्रकारितासम्बन्धी शिक्षक तथा प्रशिक्षकको रुपमा पनि रहेका थिए ।

शर्माको जन्म २००४ सालमा इलाममा भएको थियो । उनका २ छोरा र श्रीमती छन् । लामो समयसम्म रेडियो नेपालमा र नेपाल टेलिभिजनमा समाचार वाचकका रुपमा रहेका शर्मा स्पष्ट र सुमुधर बोलीका कारण सञ्चार जगतमा निकै नै लोकप्रिय र चर्चित थिए ।

उनका “बिना राहदानीको बिदेस यात्रा’, ’बरसा, आमसञ्चारमा म’, ’हेन्डबुक अन ब्रोडकास्टिङ जर्ना्लिज्म’, छाल लगायतका थुप्रै पुस्तकहरू प्रकाशित छन् । विभिन्न पत्रपत्रिकामा समेत उहाँका थुपै्र लेखहरु प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस