चाइना इष्टर्न, एअर चाइना, सिचुवान, टिब्बेटियन एअर र हिमालयन एअरले केही समयका लागि नेपाल चीन विमान सेवा बन्द गर्न पत्राचार गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

चाइना साउदर्न बाहेक अन्यले उडान स्थगित गर्न पत्राचार गरेको उनले जानकारी दिए । पर्यटकको संख्या घट्दै गएको र सम्भावित जोखिमलाई दृष्टिगत गरी हाललाई उडान स्थगन गरेको सञ्चालकहरुले बताएका छन् ।

नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले तत्कालका लागि चीनका तीन शहर सेन्जेन, छाङसा र गोया उडान स्थगन गरेको जनाएको छ ।

कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले कोरोना भाइरसको प्रकोपको सम्भावित जोखिमलाई दृष्टिगत गरी केही समयका लागि उडान स्थगन गरिएको जानकारी दिए ।

हाल हिमालयन एयर लाइन्ससहित ६ वटा एयरलाइन्सहरुले नेपाल–चाइना उडान भर्दै आइरहेका छन् ।